डा. नविनबन्धु देश 'पहाडी'

प्रत्येक क्षेत्रको इतिहासले त्यहाँको जातीय पहिचान र गौरवगाथालाई चिनाएको हुन्छ । जुन जातिको बसोवासको जहाँबाट आरम्भ हुन्छ, त्यहाँ त्यो जातले आफ्नो इतिहास बनाएको हुन्छ । कालयात्राको दौरानमा मठ मन्दिर बिहार, चैत्य, गुम्बा, सत्तल, पौवा, मरनघाट, कुलायन जस्ता क्षेत्रहरु नृवंशका विकास परिचायकहरु हुन् । आफ्नो अस्तित्वका बिम्वहरु मानवले यी र यस्तै कलाकेन्द्रहरु बनाएर छोडेका हुन्छन् । निकै पछि मात्र मान्छेका वंशवृक्षका चित्रहरु ओडारमा, भित्तामा, कागजका पानाहरुमा देखिएका हुन् । पछिल्लो समय लेखकहरु तथा टीकाकारहरुले आफ्ना ग्रन्थहरुका पृष्ठहरुमा यस्ता वंशावलीहरु कोरेर राखेका पाइएका छन् । सभ्यताका आदिकालीन अवशेषहरु मानवनिर्मित तिनै मठ मन्दिर तथा सत्तल, पौवा, गुफाचित्र, ग्रन्थचित्र,संस्कृति तथा परम्पराका अवशेष र झलकहरुको अनुशीलन तथा उत्खननबाट अनुमान गर्न सकिन्छ र तिनीहरुलाई नै प्रमाणका रुपमा पेश गर्न सकिन्छ । प्रस्तुत अनुसन्धानमा धादिङको अवस्थिति, एतिहासिकता र नामकरणका वस्तुताहरुलाई यस्तै पृष्ठभूमि र लिखित तथ्यहरुबाट खोजिएको छ ।

इतिहास समाजका गणनीय घटनाहरुको अभिलेखन हो । साहित्य जीवनको प्रतिबिम्बन हो, जहाँ अनेक भोगाइका इन्द्रेनीमय स्वरुप सुख, दुःख, उज्याला, अँध्यारा पाटाका प्रतिच्छायाँहरु प्रतिबिम्बित हुन्छन्, त्यसैले पनि साहित्य साँचो अर्थमा मानव जीवनको वास्तविक इतिहास र त्यसैको प्रामाणिक साक्षी हो ।

मानवले आफ्नो अस्तित्वका बिम्व कलाकेन्द्रहरु बनाएर छोडेका हुन्थे । इतिहासका आरम्भिक अभिलेखन गुफाकालीन सभ्यताताका बनेका ओढारका भित्ते चित्रहरु हुन् । त्यहाँ बस्दा मानवले प्रारम्भमा शिकारका मार्गहरु, तरिकाहरु, धनुकाँडहरु बनाएका पाइएका छन् । कृषियुगमा पनि जीवनका आरम्भिक यात्राका भोगाइहरु नै कुँदिएका छन् । मान्छेका वंशवृक्षका चित्रहरु ओडारमा, भित्तामा, कागजका पानाहरुमा देखिए पछि भने लिखित इतिहासका प्रमाणहरु सहज भएका हुन् । पछिल्लो समय लेखकहरु तथा टीकाकारहरुले आफ्ना ग्रन्थका पृष्ठहरुमा यस्ता बंशावलीहरु तथा ग्रन्थचित्रहरु कोरेर राखेका पाइएका छन् ।

सभ्यताका आदिकालीन अवशेषहरु मानवनिर्मित तिनै मठ मन्दिर तथा सत्तल, पौवा, गुफाचित्र,ग्रन्थचित्र,संस्कृति तथा परम्पराका अवशेष र झलकहरुको अनुशीलन तथा उत्खननबाट अनुमान गर्न सकिन्छ । दूरदृष्टि भएका महामनाहरुले आफ्नै लगानीमा चौताराहरु, पँधेराहरु, कुवा, सत्तल तथा पाटी पौवाहरु पनि बनाएका हुन्छन् । आफ्ना समयका यस्ता सेवकहरुले समाजलाई दिएका योगदानहरुको गवेषणाबाट पनि तत् समयको उत्खनन् गर्न सकिन्छ । तिनीहरुलाई नै इतिहास निर्माणका प्रमाणका रुपमा पेश गर्न सकिन्छ । सामाजिक जीवनमा आएपछिका धार्मिक जीवन, महाभारत ,रामायणका भित्तेचित्रहरु एक किसिमका साहित्यहरु नै हुन् । जसले त्यतिबेलाका जीवनका आदर्शहरु प्रतिबिम्बन गरेका छन् । नेपाली साहित्यको आरम्भ पनि लोक साहित्यकै बान्कीमा भएको हो । गाउँबेसी, मेलापात, रनवन, गोठालो, अर्मपर्म गर्दै जाँदा पोखिएका सुख दुःख, मनका बहहरु पेख्ने मेलो नै लोक साहित्यको जीवन हो । यस्तै श्रुतिपरम्परामा बाँच्दै आएको लोक सुसेली आधुनिक साहित्यको दरिलो जग थियो । त्यसैको आड र जगमा नेपाली साहित्यको आजको विशाल वृक्ष खडा भएको हो । जहाँको प्रतिच्छायाँमा प्रत्येक समयको नेपाली जनजीवनका छविचित्रहरु कुँदिएका छन् ।

धादिङको लेख्य नेपाली साहित्यको इतिहास एकीकरणकालीन समयबाट नै आरम्भ भएको मानिन्छ । देशको राजनैतिक घटनाक्रमहरु, शिक्षा, चेतना आदिको प्रभाव त्यसका कुना कुनामा पर्नु स्वभाविक हो । धादिङ केन्द्रबाट नजिक भएको र टुक्रे राज्यकालमा पनि अधिकांश समय केन्द्र शासित भएकै कारणले पनि यहाँको जनजीवनमा नेपाली केन्द्रीय राजनैतिक हलचलहरुको प्रभाव रहनु स्वभाविक थियो । त्यसैको फलस्वरुप धादिङका मात्र नभएर नेपाली काव्यइतिहासकै प्रथम ध्वनि कवि सुवानन्द दासले पृथ्वीनारायण शाहको एकीककरण अभियानको र उनको व्यक्तित्वको प्रभावमा रहेर आफ्नो काव्ययात्रा आरम्भ गरेका थिए । तिनै काव्याक्षरहरुको उज्यालोबाट धादिङको कवितात्मक निनादको प्रथम ध्वनिको गुञ्जन प्रारम्भ भएको हो, जुन गुञ्जन धादिङको मात्र नभएर समग्र नेपाली साहित्यको इतिहास निर्माण गर्ने प्रभातीय आवाज बनेको थियो ।

नेपाली साहित्यको इतिहासको आरम्भसँगै यहाँको साहित्यको कखहराको श्रीगणेश भएको हो । त्यसैले देशको साहित्यको समय गणितसँगै यसको एतिहासिक कालयात्रालाई जोडेर हेर्न सकिन्छ । नेपाली भाषाका प्रथम कवि सुवानन्द दासबाट नै धादिङको काव्ययात्रा आरम्भ भएको हो । उनको 'पृथ्वीनारायण शाह' शीर्षकको कविताबाट नै यहाँका काव्यावाज आरम्भ भएको हो । यो कविता कुन मितिमा लेखिएको हो भन्न कठिन छ । उनको परिवार धादिङको हाल नीलकण्ठ नरपालिकाको साङ्कोष र कटुञ्जेको सीमा क्षेत्रका बासिन्दा हुन् र उनको परिवार टोड्केमा व्यापार गर्दथे । उनका परिवारिको व्यापारकै क्रममा गोर्खाली राजाहरुसँग सम्पर्क भएको हो ।

एकीकरण अभियानका क्रममा उनीहरुले नै धादिङमा राजाका लागि हतियार खरिदका निमित्त १/१ रुपैया उठाउन सघाएका थिए । त्यसैले पनि सुवानन्द दासका लागि कविता लेखनका शास्त्रीय अनेक विषयहरु तत्कालका लागि लेखनका अनेक आदर्शहरु हुँदा हुँदै उनले पृथ्वीनाराण शाहलाई नायक मानेर कविता रचना गरेका हुन् । उनको परिवार व्यापार तथा आफ्नो मात्र जीवनको सुखशयल हेर्दैनथे र सामाजिक कार्यका लागि प्रनि प्रवृत्त हुन्थे । त्यसैले चौतारो पाटी पौवाका लागि राजाको सहयोग लिएर बनाउने गर्दथे । उनीहरुले बनाएका स्मृतिचिन्हहरु आज पनि यस क्षेत्रमा छँदैछ । उनका संझनाका चौतारी र धारा पँधेराहरुको पुनःनिर्माण भैरहेको सामाजिक अभियन्ता रमेश धमला बताउनुहुन्छ ।

१.२.१ सुवानन्द दास (अनुमानित १८२५–१८५६)
सुवानन्द दासको जन्म तात्कालीन धादिङको कटुञ्जेको टोड्केमा भएको मानिन्छ । टोड्के त्यतिबेला नै काठमाण्डौंबाट सुदुर पश्चिमसम्म आउजाउ गर्ने व्यापारिक नाका थियो । नुवाकोट हुँदै नेपाल खाल्डोसम्मका आउजाउ गर्ने मुलबाटो यहाँ नै पर्ने भएकाले यसको सामरिक महत्व पनि भएकाले यस क्षेत्रका शिक्षित र चलाख व्यक्तिहरुसँग सम्पर्क गर्नु पृथ्वीनारायणको मूल ध्येय थियो । त्यसैले यहाँका शिक्षित सुवानन्द दाससँग उनले राम्रा सम्बन्ध स्थापित गरे र त्यहाँबाट सूचना र सल्लाह लिन थालेका थिए । पृथ्वीनारायण शाह धेरैपटक यहाँ आएर बसेका अनेक भनाइ र कथाहरु प्रचलित छ । उनी र उनका परिवारजनहरुबाट निर्मित 'दास चौतारो' अहिले पनि साङ्कोसको माथिल्लो भागमा छँदैछ । त्यस भेग वरपर उनले निर्माण गरेका चौतारा र धाराहरु पनि हाल पुननिर्माण कार्य चलिरहेका छन् । उनीहरुको वृत्ति पनि त्यस्तै थियो ।

उनको जन्मको सन्दर्भमा उति प्रमाणित तथ्य त फेला परेको छैन, तथापि उनीहरु प्रारम्भमा व्यापारी वर्गका भएका र नुवाकोट हमलाको अध्ययनका क्रममा नरभुपाल शाहसँग उनका पिताको भेट भएको मानिन्छ । त्यस समयदेखि नै उनको परिवार राजसेवामा लागेको भनिन्छ । नुवाकोट विजयसँगै उनीहरुको पँहुच बढ्नु, भैरवी जाने उकालोमा 'दास धारा'का नामले प्रख्यात धाराहरु निर्माण हुनु र उनले लेखेका कवितामा पृथ्वीनारायण शाहको वर्णन गरिनुले यो सबै संयोगमात्र हो भन्न सकिन्न ।

उनका पिता नरभुपाल शाह नुवाकोट आक्रमण गर्न जाँदा भेट भएपछि नै उनीहरुको सङ्गत गोरखाली राजाहरुसँग भएको थियो । पृथ्वीनाराण शाह गोरखाका राजा भएपछि उनीहरुको निकटता झनै बढेदै गएको देखिन्छ । हतियार खरिद र एकीकरण अभियानका लागि आर्थिक सङ्कलन गोरखा र धादिङमा तिब्रतासाथ भएको थियो । धादिङमा आर्थिक सङ्कलनका लागि सुवानन्द दासले निकै सहयोग गरेका थिए र नुवाकोट विजयसँगै उनीहरुको परिवारले त्यतै बसेर राजकाजको काममा सघाएका थिए ।

दास समाजसेवी र धार्मिक प्रकृतिका पनि थिए । त्यसैले उनी र उनका परिवार मिलेर नुवाकोट त्रिशूली बजार आसपास सामाजिक काम पनि गरेका थिए । उनीहरुको पछिल्लो पुस्ताले भैरवी मन्दिर जाने उकालोमा निर्माण गरेका दास धारा अझै पनि नमुना मानिन्छ । पृथ्वीनारायण शाहसँग सम्पर्क र सम्बन्ध भएकै कारणले उनले नेपाली भाषाकै प्रथम कविता पृथ्वीनारायण शाह (राजैभक्तिकृत) रचना गरेका हुन् । उनको निधनको पनि यकिन प्रमाण नभए पनि वि.सं १८५६ देखि ५८ तिर भएको मानिन्छ । यस कृतिमा निहीत रहेको भाषा र त्यसको पृष्ठभूमिले पनि उनी धादिङकै भएको पुष्टि हुन्छ ।

सुवानन्द दासलाई धादिङमा जन्मिएका पुष्टि गर्ने आधारहरु
—पृथ्वीनारायण शाहले हतियारका लागि धुरी अनुसार धादिङमा पनि पैसा उठाउनु, कटुञ्जे क्षेत्रमा जिम्मा सुवानन्द दासले पाउनु,
—हिन्दु धर्मका सिद्धान्त अनुसार गुरुङहरुले धार्मिक तथा मठमन्दिरका काम गर्ने क्षेत्र धादिङको मधुवन, बटुवा, कटुञ्जेमा हुनु,
—पृथ्वीनारायण शाहका आन्तरिक सन्दर्भहरु थाहा हुनु ,
— जस्तै सुनखानीको चर्चा हुनु र सुनखानी त्यस क्षेत्रमै हुनु,
— विश्वेश्वर महादेवलाई विशेष पुकारा गर्नु र उक्त मन्दिर त्यस क्षेत्रमा रहनु, जो उनका आराध्य हुनु
— नीलकण्ठ महादेवको उल्लेख गर्नु, जुन नीलकण्ठ महा गोसाइँ कुण्डको प्रतीक स्वरुप यसै क्षेत्रमा रहनु ,
—ज्यामिर यथेष्ठ पाइने धादिङको कटुञ्जे, साँकोस, सुनखानी, चैनपुर, सुनौलाबजार नै हुन् र त्यसको पनि उल्लेख गरिनु ।

सुवानन्द दासको पछाडि धादिङको सिर्जना फाँट :
नेपाली कविताको प्रभातोदय धादिङको माटोबाटै भएको हो । आजसम्मको खोजबाट नेपाली काविताकै प्रथम निनाद यसै भूखण्डबाट गुञ्जित भएको हो । प्राथमिक कालको आरम्भ मात्र नभएर त्यस समयका प्रभावशाली लेखकहरु प्राथमिककालीन स्रष्टा दैवज्ञकेशरी अज्र्याल (१८२५) र उनकै छोरा विद्यारण्यकेशरी अज्र्याल दुबैका अविस्मरणीय योगदान यहाँको माटोबाट उठेर नेपाली साहित्यकै समग्र परिधि ओगटेको छ ।

दैवज्ञकेशरी अज्र्याल दरबारका पण्डित हुन् । त्यहाँभित्रका अनेक खिचातानीकै कारण उनी वि.सं. १८६३ मा काठमाडौंबाट लखेटिए । खेदिएपछि उनी आफ्नै विर्ता भएको धादिङको सुनखानी स्थित जग्गा जमिन हेरेर व्यवहारिक जीवन बिताउन थाले । साथै नजिकका मठ मन्दिर सुधार र धार्मिक कार्यमा रमाउन थालेका थिए ।

देबज्ञकेशरी अज्र्यालले संस्कृत भाषामा कुलचन्द्रिका कृति रचना गरेका थिए भने नेपाली भाषामा अश्वाशुभाशुभ परीक्षा पद्यरचना प्राप्त छ भने गद्यमा गोरक्षयोगशास्त्र प्रकाशित छ । उनले नजिकैको आस्थाको धरोहर जलमुखी मन्दिरमा चढाएको निकै ठूलो घण्टमा यिनको नाम अङ्कित थियो तर हाल त्यो इतिहासको साक्षी तस्करहरुको कोपभाजमा परिसकेको छ ।

दैवज्ञ पछाडि उनका प्रतिभावान् सुपुत्र विद्यारण्य केशरी अज्र्यालको जन्मका सन्दर्भमा बाबुराम आचार्यको 'पुराना कवि र कविता' ग्रन्थमा उनलाई काठमाण्डु दरबारबाट निकाला गरिए पछि धादिङ्को सुनखानीमा आफ्नो बिर्ताको उपभोग गर्दै बसेको र त्यसै समयमा पुत्र विद्यारण्यको जन्म भएको भनिएको छ । दैवज्ञ र उनका पितापूर्खाका लागि र दवारका लागि आवश्यक कुश उमार्न तथा हुर्काउनका लागि दिएको सयौ रोपनी जमिन नै दरवारबाट बिर्ता दिएको सम्पत्ति हो । दैवज्ञ पछाडि उनकै सुपुत्र विद्यारण्यकेशरी अज्र्यालले पनि आफ्नो थातथलो सुनखानीमै बसाएका हुन् । उनको दरबारसँग पनि सम्बन्ध थियो । उनले 'द्रौपदीस्तुति' र 'वंशीचरित्र' नामक दुई पद्यकाव्य रचना गरेका छन ।

धादिङ्को माध्यमिक समय पनि उर्वरशील छ । विक्रमको १९४१ सम्वत सँगै नेपाली साहित्यको आरम्भ प्रकाशन परम्पराको उज्यालो र जीवनका सुसेलीहरु सुसेल्न थालिएसँगै भएको हो । समालोचना सिर्जना र अनुसन्धानका त्रिवेणी मोतीराम भट्टका सहकर्मी तथा मोतीमण्डलीकै सदस्य बनेका गजुरी पिडाका दानराज लामिछानेका गजल र गीतहरु प्रकाशित छन् । हरिहर शास्त्रीका अध्यात्म र वैदिक सनातनी परम्परा निर्देशित तथा संस्कृतका अनुवाद कविताहरु यथेष्ट पाइएका छन् । पं. कुलचन्द्र गौतम, विश्वराज गौतम,देवराज लामिछाने, कविप्रसाद गौतम, वीरेन्द्रकेशरी अज्र्याल, होमनाथ खतिवडा, केदारनाथ खतिवडा, जस्ता राष्ट्रिय उचाइ भएका प्रतिभाहरुको उर्वशील चेतनाले माध्यमिककाल सिञ्चित छ ।

वीरेन्द्रकेशरी अज्र्यालले रचना गरेका व्याकरण परिचय सम्भवतः धादिङ्को माटोबाट निस्किएको पहिलो व्याकरण नै हो । जयवृथ्वीबहादुर सिंह र अरु दरवारीयाहरुका शिक्षक उनी तन्त्रशास्त्र, काव्यशास्त्र, नाट्यशास्त्रका प्रकाण्ड थिए । उनका दुर्गाभक्त तरङ्गिणी,अशोक सुन्दरी, वीरनिर्वेद लहरी जस्ता काव्य, तथा नाटकहरु प्रकाशित छन् । कृष्णप्रसाद रेग्मीका शृङ्गारिक कविताहरु, देवीभागवत महाकाव्य, होमनाथ केदारनाथ खतिवडाका श्रीकृष्ण चरित्र, रामायण महाकाव्यहरु प्रकाशित छन् । यसरी हेर्दा माध्यमिककालीन धादिङले नेपाली साहित्यलाई फुटकर कविता, अनुवाद कविता तथा महाकाव्यसम्मको काव्ययात्रा तथा नाटक निबन्धका रचनाहरु र भाषा वाङ्मयको श्रीवृद्धिका लागि व्याकरण पनि दिएको पाइन्छ ।

शारदामार्फत कथा र निबन्धमा आधुनिकताको श्रीगणेश भयो त्यसका लागि धादिङकै पनि गौरवशाली देन रहेको छ । गुरुप्रसाद मैनालीसँगै आधुािकता भित्र्याउने श्रेय केशवराज पिंडाली, पूर्णप्रसाद ब्राम्हण र कृष्णप्रसाद चापागाइँलाई पनि जान्छ । पूर्णप्रसाद ब्राम्हणको वरदान शीर्षकको कथा १९९२ मा शारदामै छापिएको थियो । २००३ मा त उनको कथा सङ्ग्रह नै आएको थियो । हास्यव्यङ्ग्य निबन्धका सम्राट केशवराज पिंडालीको 'खै खै' निबन्धले नेपाली साहित्यमा अलग स्थान बनाएकै छ । उनको उपन्यास र कथात्मक योगदान पनि अतुलनीय रहेको छ ।

कविताका क्षेत्रमा पनि तरलवादका अभियन्ता तथा बौद्धिक काव्यस्रष्टा शिव अधिकारी आधुनिक नेपाली कविताका महानायक पनि हुन् । उनका पेचिला र चोटिला कविताले सिंगो नेपाली साहित्यमै अमिट छाप छोडेको छ । कविता भन्दा उनका नाटकहरु ज्यादा प्रखर मानिएका छन् र विदेशी भाषाहरुमा अनुवाद भएर अभिनित पनि छन् । आधुनिक काव्य क्षितिज र समालोचनामा चिनिएका प्रखर व्यक्तित्व प्रा.डा.घनश्याम कँडेल, कृष्ण गौतमको भूमिका नेपाली साहित्यमा हस्तक्षेपकारी नै छ । अकथावादी अभियानका अभियन्ता देवेन्द्रप्रताप शाहका कथाहरु उत्तिकै एतिहासिक छन् ।

जिल्लामै बसेर सिर्जनायात्रालाई गोडमेल गर्नेहरु डिल्लीरमण शर्मा बद्री दाहाल, डा.नवीनबन्धु पहाडीका सिर्जनात्मक अभियान र स्वसिर्जनाहरु चर्चामा छन् । डिल्लीरमण शर्मा र डा.पहाडीले महाकाव्यसम्मका काव्ययात्रा गरेका छन् ।

स्वामी रामानन्द गिरी, कमल रिजाल, वासुदेव अधिकारी, डा. नवराज लम्साल, डा. बलदेव अधिकारी, जैनेन्द्र जीवन, कृष्णहरि बास्कोटा,कुन्दन शर्मा, हेमप्रभास अधिकारी, अमृता अर्याल,  राजु झल्लु प्रसाद, सुनिता खनाल, भानुभक्त अधिकारी, शेखर कार्की, गोपीकृष्ण अधिकारी, नरनाथ लँुइटेल, किेवलपुरे किसान, शशिर शर्मा,राजकृष्ण कँडेल, शङ्कर शाह, उर्मिला थपलिया,रघु परियार, देवप्रकाश त्रिपाठी,देवीप्रसाद लम्साल, शशि शाह, सुवी शाह, ठाकुरप्रसाद शर्मा, शेषनाथ अधिकारी, डा.रामचन्द्र लम्साल, प्रा. रामहरि दाहाल, जीवेन्द्र सिंखडा, माया निराशी, डा.रमेशचन्द्र अधिकारी, टि.एन. गोपीकृष्ण अधिकारी, डा.नवराज लम्साल, राजकृष्ण कँडेल, हरि खनाल, डा.मोहन तिमल्सिना, शङ्कर सुवेदी, हरि सिंखडा, उत्तम कँडेल, शैलेन्द्र सिंखडा, राममणि दुवाडी, गीता कार्की, शालिग्राम अर्याल, हेमराज अर्याल, कृणहरि बाँस्कोटा, नरनाथ लुइँटेल,रुकु कार्की, तोयनाथ अधिकारी, बाबुकाजी सिलवाल, कृष्ण घिमिरे मैदेली, मुरारी शर्मा अधिकारी, दामोदर नलाङी, श्याम रेग्मी, शैलेन्द्र अधिकारी, रुपक अधिकारी, शिव श्रेष्ठ, रामहरि लम्साल, सुवास अधिकारी, आदिले पनि जिल्ला भित्र र बाहिर बसेर नेपाली साहित्यलाई धादिङ्को सुगन्ध घोलेर समग्र नेपाली साहित्यमै सौरभमय बनाउने अथक साधनामा छन् ।

शिशिर शर्मा सुविसुधा आचार्य, दुर्गा रिजाल,अम्बिका पन्त, कृष्णपक्ष थापा, टेकबहादुर नेपाल, रेशम बोहोरा, सुमित्रा बुर्लाकोटी, नातिबाबु भट्ट आदिले विश्वका अनेक कुनामा रहेर डायस्पोरिक मुर्छनाहरु सिर्जना गरिरहेका छन् ।

पछिल्लो समय साहित्य सेवामा समय अर्पित गरेका अन्य लेखकहरु, राजेन्द्रप्रताप शाह, यात्री प्रकाश पाण्डे,उर्मिला थपलिया, प्रकाश सापकोटा,राजेन्द्र मल्ल, दीपेन्द्र रिजाल,दीपेन्द्र सिंह थापा, देवी अधिकारी,कल्पना अधिकारी,कृष्णदीप सिग्देल,माधव लामिछाने,जानुका खनाल,सावित्री प्याकुरेल, सम्झना अर्याल, हरिशरण अर्याल,मिना श्रेष्ठ,लालकाजी श्रेष्ठ,केशव दुवाडी,पुष्पराज जोशी,बालकृष्ण थपलिया, गोकर्ण अर्याल, यशोदा भट्ट, जस्ता सर्जहरुले केही कविता, केही निबन्ध, नाटक, संस्मरण, जीवनी, समालोचना जस्ता अनेक विषय र प्रसङ्गहरुलाई टेकेर सिर्जनात्मक यात्रा घनिभूत बनाउँदै आएका छन् ।
 

निचोड
नेपाली कविताको प्रभात धादिङको माटोबाट उठेको हो र यसले देशको राष्ट्रियताको सवाललाई सम्बोधन गरेको छ । आज मातृभूमिका प्रेमप्लावित कविता निःसृत मूलस्रोत नै सुवानन्द दासका ध्वनिहरु हुन् । आजका नेपाली कविताका उद्गम स्थल नै राष्ट्रियता र एकीकरणका सन्दर्भहरु हुन् जसले एकीकरणकर्ताको उत्साह तथा देश निर्माणका आवश्यकताहरुको बारेमा काव्यात्मक प्रथम निनाद घन्काएका छन् ।

परिशिष्ट
धादिङका प्रथम कविको पहिलो कविता
पृृथ्वीनारायण शाह (राजैभक्तिकृत)
…………………….
………………….को कसार है
सजाई सपना भया …………….
का दरिसन विसेस्वरका पास है
पाँच………..वेगि दरिवार है
कम्मर कटारी भीरि ढाल तरवार है
ईस्वरको डोर लागि अब जाम्ला कासि है
ल… निसाना भया दौडि भया आसवारी है
काटी कुटी कटहर बट……….
……..कि चौकि तर उतरर्ला पार है
मध्य पठान बोली के कौन्या भाति
………..कौन्या आयो आदमि है
कहिये जो गंगा पुनि ………..
……प्रतापि राजा जो पृथ्वीनारायण साहि है ।
गंगामा जो डुबुल्की लिइ मणिकर्णिकामा अस्नान गरि
विसेस्वर जल ढाली कुसासन चौकि बसि
माथमा मण्डल छाई पिण्ड परधान है
तरपन……..कंचनको दान है
होम जग सतरुद्री दिया गजदान है
त्रिपटि ब्राह्मनलाई भोजन था…….
…….षाड पकवान्न है
वैठी राजै आफू सिंहासन खान्न पान है
कालु पाण्डे, भान्नु जैसी वाहुने नानी मन्तरि वोलाव है
वरथोकि भारदारि जेठा बुढा सरदारी
पाचइ परमेस्वरि सांराम उठावै है
भुमराको भेस गरि सुनई लुटाव है
छेत्रीको करम गरि पाप छुटाव है
कोटिलिङ कोटि टेकुकि ढोका छेकु
पशुपति पुजा गरि तव लाम्ला पाति है
पुरवकि षानि पनि नेपालकी सुनषानि
सर्वनरपुण्य दानी छुटि दान मान है
तनहुँले घट लुज्यो पालपाले मुटु मिज्यो
कस्केलि उदेषयो पर्वते विलषयो
छलियो पियुठानि है
अब जाउला निलकन्ठ सिमु क्षेत्र पसुपति
त्लाउ भैचन् वागमति गोकर्ण गुज्यास्वरि
विष्नुमति व्रत है
मध्यानकि मनोधरि सवेर अस्नान गरि
जल तिल कुस गरि कञ्चनकि झारि धरि
कवल पहुप सारि दुहु बाहुलि कर जोरि
तलेजु बुझाउ है
आजिपुत्र पारी जात्रा षंजिकमा महिक सुत
मात्र चनद गन्ध धुप दिपक नैवेद चढाव है
चौडंडिका साँध लागि हेटुडाको जगात षाइ
डिल्लीको मोहर ल्याइ नगर पाटन मिचिकन
रजाइ चलाव है
पुर्वको काम साँधि सुगुद सुवइ राधी
ज्यामिर बधुक साँधी देसको तारको बाजि
मर्दको महाराजि सुज्र्याकृर्णि जैस्व
राजै लिया रुप है
लहुरि नेपाल गइ दुदकोसि सााधलाई
ल्याया गजमोति है
झिल्लिमिल्लि तरवार विज्जुलिकी जोति है
गोकुल पुग्यो नुवाकोट कृष्ण अउतारि है
घानमा लाग्यो वान पन्ध्र सय गिंडा परे
बर बटि सति चले धेरै लामु डांडा है
नुहरि तुरहि बाजे भेरि तोप कर्णली है
झिना भाmग करकाही फादा फादा लरकाही
देउघाट जाइ राजै माच मंसवार है
नेपालकी सिनकी लुटि मंरातको हिले भुटि
पाल्पाको ल्यउ हिंग जिरो रिसिंगको ल्याउ पिरो
तनहुँको भातसित भीर्काेटको दालसित
कञ्चन कटौरा भरि स्वर्णका थलिया भरि
अष्टदल चौकि बसी गंगाजल झारी भरी
पुरव मुहुडा गरि महाराजको जिउनार वनावा है
षानु साहि दाजुभाइ दरजनी मान है
खानु षाहि चित्त जोर तनहुका तंग तोडी
आफू त नेवा—या जाति बोल्छ त ललित पारि
आफु त गजमुकुटु तंरो ता बलियो मुटु
नाम रह्या गजानि धरम तपरे तरा भरलेते
नुगामा सन्ताप सह्या जिवको येकलो भया
धनको दुवलो भञा भोकको भोजनै नहिं
काम करुँ दाहि नाहिं वतयेको कर्म नाहिं
ठंडी सं वस्त्र नाहिं राजैभक्ति कृति जानि
लाउन्या सुवानन्द दास है :

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार