कणाद महर्षि

णाद महर्षि नेपाली साहित्याकाशमा बहुचर्चित व्यक्तित्व हुन् । `आँखा´ नामक सामयिक साहित्यिक संकलनमा -२०२९ मा प्रकाशित 'इतिहास कस्को' शीर्षकको कविता उनको पहिलो प्रकाशित कृति हो । रचनाकालको हिसाबले 'खै हाम्रो दौरा सुरूवाल' शीर्षकको कविता (२०२२/०२३ साल तिर रचेको र  गुफा-२०३१ मा प्रकाशित) पहिलो कविता हो ।

गुफा (२०३१), पग्लेका लाभाहरु (२०३४), भतेर र अाँखाहरू (२०५०), घाउमा हरिभक्त कटुवाल (२०५८) र दृष्टिको यात्रा (संवाद काव्य, २०७२) उनका प्रकाशित काव्य कृति हुन् भने उनको एक कथासङ्ग्रह कणादका कथाहरू (२०७१) पनि प्रकाशित छ । लोकेन्द्र साहित्य पुरस्कार (२०५४), दीर्घ सेवा पदक( रा. वा. बैंक, २०५५), गरिमा सम्मान पुरस्कार (२०६६), अभिनव कदर-पत्र (२०६७), रमेश विकल सृजना पुरस्कार (२०७१), सुलेख आख्यान प्रतिभा पुरस्कार (२०७०), बासु शशी स्मृति पुरस्कार (२०७१), अविरल जन साहित्य यात्रा सम्मान-पत्र (२०७२), साहित्य सन्ध्या पुरस्कार (२०७२), रजत जयन्ती सम्मान-पत्र (२०७५), प्रवल जनसेवा श्री-चतुर्थ(२०७५) जस्ता सम्मान र पुरस्कारबाट विभूषित साहित्यकार महर्षि हाल राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त जीवन बिताइरहेका छन् ।

१. नीला फूल र पहेँला पातहरू

आकाश मन पर्छ, मलाई सागर मन पर्छ
मन पर्छ मलाई किनभने
मन–मन उड्न, मन–मन डुब्न पाइन्छ

मन डुबेको कति मनलाग्दो हुन्छ, नीलो समुद्रमा
मन उडेको कति मनमोहक हुन्छ, नीलो आकाशमा
 
मलाई समुद्र मन पर्छ, मलाई आकाश मन पर्छ
किनभने त्यो नीलो हुन्छ, नीलो मलाई मन पर्छ

मन परेको आफ्नो वस्तुलाई, फूल भन्न रुचाउँछु
मलाई नीला फूलहरू मन पर्छ

फूलहरू शिरमा—
मन परेका मनका फूलहरू मनका ईश्वरमा
मनका ईश्वर मलाई मन पर्छ, किनभने
त्यसमा मूर्ति हुँदैन, आकार हुँदैन
त्यसैले त्यो आकाश हुन्छ, आकाश मलाई मन पर्छ—
त्यसैले त्यो नीलो हुन्छ, नीलो मलाई मन पर्छ

मेरो प्रिय रङ्ग नीलो, यो भूमिलाई
मनको ईश्वर, यो भूमिलाई
मनको आकाश, मनको सागर यो भूमिलाई
मेरो मनको फूल यो भूमिलाई
जो नीलो हुन्छ, त्यो मेरो मन हुन्छ

तनले के गर्छ, त्यो लासको पनि हुन्छ
सुकेको पहेँलो पातको पनि हुन्छ
जे गर्छ त्यो मनले गर्छ
मन सधैँ तरुण हुन्छ
मेरो मनको तरुण यो भूमिलाई।


२. उज्यालो देखिएन त ?

उज्यालो देखिन्छ त ?
उज्यालोमा जाओभन्दा नजाने
अँध्यारोमा जानुपर्ने
-यो कस्तो अफसोच !
-यो कस्तो विडम्बना !!
-भनौं यो कस्तो नरकीय यात्रा !!
उज्यालोमा आँखा चिम्लियो भने
अँध्यारो हुन्छ/अँध्यारै देखिन्छ ।
अँध्यारोमा
दुवै हातले परेला फट्टयाएर
दुवै आँखा खोले पनि
उज्यालो देखिन्छ त ?
अँध्यारोमा हिँड !
अँध्यारोमा हिँड !
अँध्यारै, अँध्यारोमा हिँड्नुपर्छ
तर खोल मनको आँखा
बज्र बनाउ आफ्ना हात, पाखुरा,
पिडुला, छाती र तिघ्राहरू
लात हान !
अँध्याराका भिताहरूमा
भत्काउ, भस्म पार
ती बार, पर्खाल र परिधिहरू
हात, हत्केलाका औंलाहरूले
चकमक ढुङ्गा घोटेर - आगो बाल !
तब !
अँध्यारोमा हिँड्ने तिमीहरूको आँखा खुल्छ
चमक फुल्छ
झिलिमिली उज्यालो हुन्छ
अब भन !
उज्यालो देखिएन त ?


३. भतेर र आँखाहरू

हरेक मान्छेको काँध काँधमा एक एक मुर्दाको अवतार थियो
र त्यो भिड क्रमशः दुब्लाउँदै कुनै सभामा परिणत हुने आशंका थियो
खप्परहरू उसिनेर सुरुवा बनाऊ
गिदीहरू साँधेर अचार बनाऊ
मुटुहरू कुहाएर जाँड बनाऊ
र त्यसपछिको भोजमा
अभागी जन्मेका शिशुहरूको छालाहरू उधारेर लपेसको प्रयोग गरौैं
सुत्केरी आमा ! प्रथम खेप तिमी स्वाद चाख
पोको पारेर शालका लाम्टाहरू कुनै कतारोमा नहाल, कतै नपुर, कतै नफाल
हामी सभामा भाग लिनेहरू - ठूलाबडा हौँ- स्वागत चाहन्छौं
आलो शालका मालाहरूले हामीलाई सिङ्गार
र हामी त्यो शाल र त्यो शिशुको अपराधी र महान् बाबुलाई चिन्ने प्रयास गछौं
हेर बिकुल बजिरहेछ - नलीखुट्टा ! हेर बिकुल बजिरहेछ-नलीखुट्टा !!
हेर रगतको गोरेटोमा-आँखाहरू ! हेर रगतको गोरेमा आँखाहरू !!
हाम्रो सभ्य सडकमा खप्पर मात्रै हिडिरहेछ - हो खप्पर मात्रै !!
करङ्ग र कप्टेरे हाडहरूको बैज्ञानिक सोकेस सजिंदो छ - सजिँदो छ
 
ज्ञान, गिदी र समवेदनशीलताहरू बिक्रीका लागि कतै हाट हुँदैछ
कतै लिलाम हुँदै छ
थुप्रै कागहरूको एउटा युद्ध आएर कुर्सी र फाइलहरूमा मोर्चा कस्दै थियो
ठुङ्दा कागको भाषामा-फाइलभित्र मान्छेहरू कैदी छन्
ठुङ्दा कागको भाषामा-कुर्सीमाथि मान्छेहरू बन्दी छन्
नआऊ स्वतन्त्रता ! टुँडिखेलमा त मानिसहरूको दिवस हुनुपर्थ्यो
नआऊ दिवस ! घुम्तीहरूमा त मानिसहरूको सालिक हुनुपर्थ्यो
सालिक हुन अब मानिसहरूको अङ्ग कम्ती छ
टुँडिखेल हुन अब मानिसहरूको फुर्सत थोरै छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार