'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ६०'

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ ।

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता) का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ ।

यस अन्तर्गत प्रस्तुत छ अविनाश श्रेष्ठको कविता– 'मेरी आराध्या, मेरी नदी : कालीगण्डकी'।

...

मेरी आराध्या, मेरी नदी : कालीगण्डकी
——————————————

© अविनाश श्रेष्ठ

१. मेरो अन्तस्चेतनामा बग्छिन् एउटी महानदी,

कालीगण्डकी !
मेरा जिजुपुर्खाहरूभन्दा पनि कति हो कति
युग–युगान्तरअघिकी
— यी नदी,
हिमशृङ्खलाहरूबाट रसाएकी— पर्वत–नन्दीनी
— शिवदूती !
यिनका भङ्गालाहरूमा सुसाइरहन्छ एकनाससँग
जीवनको अविरल–अधीर स्वच्छन्द सङ्गीत :
जो कुनै शब्दमा, छन्दमा, तालमा र लयमा बाँधिदैन ।
विराटको वैभव आफ्नो थोपा–थोपामा समेटेर
महाजीवनको यात्रामा अथक हिँडेकी अमृतमयी
जीवनदायिनी, स्रोतस्विनी— मेरो मानसकी
नदी
मानो वेदका ऋचाहरू गाउँदै हिँडेकी
एकादेशकी कुनै अल्लारे ब्रह्मचारिणी
मेरी कालीगण्डकी !
आफ्ना भँगालाका भैरवगण अघि लाएर
महायात्रामा हिँडेकी
साक्षात् मल्लिका–पारम्बा–पार्वती
कालीरूपा यी गण्डकी !!

०००

२. आज तिनै महाप्राण, जीवनदायिनी नदी कालीगण्डकीलाई
खोस्रेर, खोक्रो पारेर, बिटुलाएर
हरण गरेर ढुंगा–बालुवारूपी प्राणाधार
बिताउन खोज्दै छन्— केही हृदयहीन दैत्य हातहरू
केही असीमित लोभका उन्मत्त नरभक्षी निशाचरहरू
केही विवेकहीन मतिभ्रष्टहरू
मान्छेको मुहारका मुखुन्डो भिरेका
केही पतित पिशाचहरू
खोतल्दै छन्, उधिन्दै छन्—
मानो आफ्नै आमाको कोख ।
ज्युँदै मरणासन्न तुल्याएर आफ्नै जननी जन्मदात्रीलाई
क्षतविक्षत पारेर आफ्नै माताको देह
पूरा गर्न तम्सेका छन्– स्वास्नीका रहर ।
आफ्ना लालाबालाका सपना ।
अनि आफूले नै सधैं हालीमुहाली गरिरहने
कुत्सित योजनाका खतरनाक षड्यन्त्र रच्दैछन् दिनरात
आफ्नै जीवनदायिनीका विरुद्ध —
यी अधम, आधुनिक भष्मासुरका भाइहरू,
यी रक्तपिपाशु राक्षसहरू !!

०००

३. फेरि अर्काथरी केही जलदस्युहरू
आफ्ना अशोभनीय लालसा
र निजी महत्त्वाकांक्षका महारथमा आरुढ बनी
हिँडेका छन् विभत्स इच्छापूर्तिको गलत राजपथमा ।
उनीहरू फर्काउन उद्यत छन्
युगौंयुगदेखि स्वच्छन्द बगिरहेको नदीको
जीवनधारा, जीवनजल
र सिञ्चित गर्न लागिपरेका छन्
निजी राजनीतिका खेतबारी ।
सोझो सरल छ उनीहरूको हिसाबकिताब
आफ्नो पोल्टामा पार्ने सबथोक
र नदीको हिस्सामा भने हिस्स पार्ने जालझेल
युगौँका उपभोक्ताको भागमा—
हिस्स्रिक्क, खिस्स्रिक्क परेका खोक्रा शुष्क मरुभूमि !!
भाडमा जाऊन् जलजीवहरू
भर्सेलामा परोस् पर्यावरण
भड्खालामा परून् भोक्ताहरू
भुत्रैसित तिम्रा परम्परा, धर्म, सभ्यता र संस्कृतिको
निरन्तरता,
जनजीविका ।
सोझो–सरल छ उनीहरूको हिसाबकिताब
कालीगण्डकी कुरूप बनून्, सुकून्, मरून्, मासिऊन् वा
फेरिऊन् नदीबाट नालीमा
मेरो राजनीतिको खेतबारी— सधैँ रहिरनुपर्छ हराभरा
म बाँचिरहुँ, म हाँसिरहुँ,
मेरो सिंहासन रहोस् सुरक्षित सदा !!

०००

४. महासंकटमा छिन् आज
मेरी हजुरआमाको हजुरआमाको
— हज्जारौँ पुस्ताअघिकी
हजुरआमाहरूकी पनि हजुरआमा– यी महिमामयी !
संकटमा छिन् आज— यी विपुला !, यी वैभवी !!
साक्षात मीनाक्षी पार्वती !
कालीगण्डकी !!
मेरो अन्तस्चेतनामा बगिरहन्छिन् एउटी महानदी,
नाम हो उनको कालीगण्डकी !

०००

(पर्वत, हाल: काठमाडौं)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार