दिलीपले तीन गिलास पानी पियो । तातो पानी । यतिखेर उसको पेटमा तातो पानी छ । र, मुखमा खोकी । नाकमा सिँगान र फोक्सोमा खसखस । नजिकै ज्वानु भुटेर राखेको छ । चपाउन मन गरेको छैन । अलि अघि लसुन पोलेर खाएको थियो । ४ प्वाटी । तर खोकी ठिक भएको छैन ।
स्वास्थ्य मन्त्रालयले ओम्रिकन सङ्क्रमितको सङ्ख्या बढाइरहेको छ । बढेर नै बढाएको हो या आगामी चुनावमा जनतालाई घरमा बन्द गरेर एमसीसी पास गर्ने ध्याउन्नमा सरकार छ ? ऊ चिया पसलमा कुरा सुन्दछ, “सरकारले लकडाउन गर्दछ किनकि उसलाई एमसीसी पास गर्नुछ ।” चिया पसलमा यो पनि सुनिन्छ कि, “आगामी चुनावको लागि फन्ड उठाउनु छ, यसकारण सरकार लकडाउन गर्ने पक्षमा छैन ।”
दिलीप फेरी खोक्छ । खोक्दा उसको छातीमा दुखाइ अनुभव छ । दुखाइ बढिरहेको छ । ऊ खोकिरहन्छ । अर्को गिलास पानी खोज्छ । तर, अघि तताएको पानी सेलाइसकेछ । उसलाई उठेर पानी तताउने जाँगर छैन । ओम्रिकन-एमसीसी-सरकारको त्रिपक्षीय रहस्योद्घाटन गर्ने चाह छैन । उसलाई बस्, सुमधुर खोकी खोक्नु छ । ख्वाक्क..ख्वाक्क ।
उसलाई लाग्दछ, ऊ ओम्रिकनबाट सङ्क्रमित छ । ऊ जतिजति खोक्छ, उतिउति सोच्दछ कि, ‘उसलाई साँच्चै ओम्रिकन भएको छ ।” तर, यसपटक ऊ हताश छैन । आत्तिएको छैन । उसको हरेक हताश ख्वाक्क..ख्वाक्क हो । ऊ खोकिदिन्छ । आफ्नो हताश खोकिदिन्छ । आफ्नो अतास खोकिदिन्छ । आफ्नो हताशलाई तातो पानीले निलिदिन्छ । आफ्नो अतासलाई ज्वानु झैँ चपाइदिन्छ । तर उसलाई लागिरहन्छ, “ऊ ओम्रिकनबाट सङ्क्रमित छ ।”
दिलीपको दाह्री बढेको छ । दाह्री काट्न सैलुन छिरेको थियो । सैलुनको ऐनासामुन्ने उभिएर आफूलाई नियालेको थियो । आफूलाई नियाल्दै खोकेको थियो । खोक्दै आफूलाई नियालेको थियो । ख्वाक्क..ख्वाक्क.. । सैलुनका दाइले सोधेको थियो, “कसरी काटौँ ?” उसले उत्तर दिएको थिएन । सैलुनको दाइको अर्को प्रश्न थियो, “कपाल पनि काटौँ ?” उसले फेरी पनि उत्तर दिएको थिएन । सैलुनको दाइले फेरी प्रश्न गरेको थियो, “काटौँ कि नकाटौँ ?” उसले बस्, खोकेको थियो । खोक्दै सैलुनबाहिर निस्किएको थियो । सैलुनबाहिर खकार फ्यालेको थियो । पहेँलो खकार ।
सडक पिच भएको छ । शिवपुरी नगरपालिका मेयरले चुनाव जित्ने दाउ कसेका अरे । वैशाखसम्म पिच नउप्केला । ऊ मनमनै सोच्छ । तर, उसको मनमा खोकी छ । ऊ फेरी मनदेखि खोक्छ । पहेँलो खकार निलो पिचमा फ्याल्छ । शिवपुरी नगरपालिका मेयर यतिबेला आफ्नो मुख धुँदै होलान् । दिलीपले फ्याकेको खकार पुछ्दै होलान् । ऊ एकपटक फेरी हाँस्छ । खोक्दा खोक्दै हाँस्छ । हाँस्दाहाँस्दै खोक्छ । ख्वाक्क..ख्वाक्क… ।
दिलीपलाई पानी निल्न गाह्रो हुन् थालेको छ । तातो पानी घाँटीमा जमेजस्तो । उसलाई आफ्नो घाँटी काट्नु जस्तो लाग्छ । तर, सैलुन पर छुटिसकेको छ । पर छुटेको सैलुनसम्म पुग्ने उसमा जाँगर छैन ।
सामुन्ने मेडिकल छ । लेखिएको छ, ‘यहाँ सुपथ मूल्यमा सबैप्रकारका औषधिहरू पाइन्छन् ।” मेडिकलको नाम हो- “रोशनी फार्मेसी ।”
रोशनीसँग उसको राम्रै दोस्ती छ । कारण दुई वटा छ । एउटा- दीलीपको डेरानजिकको एकमात्रै मेडिकल पसल 'रोशनी मेडिकल पसल' नै हो । दोस्रो- 'दीलीप र रोशनी दुवै अनुप जलौटा खुबै सुन्छन् । दुवैलाई थाहा छैन, उनीहरूको जिन्दगीमा जलौटाले के कारण प्रवेश पाए ?" जे होस्, दीलीप-रोशनीको दोस्ती 'बिरामी-डाक्टर'को भन्दा माथि नै छ । त्यहिँ, कहिलेकाही उनीहरू एकअर्काको कोठामा समेत भेटिन्छन् । त्यहाँभन्दा माथि होइन । तर, यो उति माथि पनि होइन । कृष्णहरू सामुन्ने दिलीपको कद अझै पनि होचो नै छ ।
'रोशनी कृष्णहरूलाई मन पराउँदिनन् र कृष्ण रोशनीहरूलाई मनपराउँदैनन्' भन्ने दिलीपलाई राम्रैसँग थाहा छ । बेलामौकामा नजिकैको डेरीबाट एक पोका दूध किनेर फर्किदै गर्दा मेडिकलकी रोशनीलाई जिस्काउँदै दिलीप भनिदिन्थ्यो, "कसो हो डक्टर्नी कृष्ण गोठाला थिए अरे । दूध-दही चोर्थे पनि अरे ।"
"कृष्णहरू मास्टर पनि थिए । सभामुख पनि भए क्यारे । जेल पनि त बसे," रोशनी फेस मास्कमा मुख सिउँरिदै भन्थी ।
दिलीप दूधको पोका हल्लाउँदै भनिदिन्थ्यो, "अनुप जलोटाहरू छन् र त कृष्णलीला हिट छ । कृष्णलिला अझ कोकोलाई भजन सम्राट बनाउने हो ?"
अँ त, आज दिलीप रोशनीसँग उति जिस्किने मुडमा थिएन । उसको जीउ एकनासले गलेको थियो । सिथिल थियो ऊ । लगातार नाक बग्दा ऊ 'हँसिमजाक'को मुडमा थिएन । त्यहि पनि सकीनसकी स्वाङ निकाल्दै उसले रोशनीलाई आँखा मार्यो ।
मेडिकलको ड्यासीङ टेबलमा कुइनो अडाएर दिलीप रोशनीलाई केही सोध्न खोज्छ, तर एक्कासि उसको खोकी बढ्छ । ख्वाक्क..ख्वाक्क । ऊ लगातार खोकिरहन्छ । रोशनी तर्सिन्छे । ऊ हातले इशारा गर्छे । दिलीप इशारा बुझ्दैन । रोशनी फेरी इशारा गर्छे । दिलीपले आफ्नो देब्रे कुहिनो मुखमा लग्छ तर, यतिबेलासम्म उसको खोकी रोकिइसक्छ ।
‘कहिलेदेखि खोक्दै हुनुहुन्छ ?’ रोशनीको अपर्झट प्रश्नमा दिलीप उत्तर दिन्छ, “दुई दिन भयो ।”
दुई दिन अगाडि कहाँ हुनुहुन्थ्यो ?
तीन दिन अगाडिसम्म रोल्पा थिए । दुई दिनदेखि काठमाडौँ छु ।
रोल्पा किन जानुभएको ?
कार्यक्रम थियो ।
कस्तो कार्यक्रम ?
साहित्यिक कार्यक्रम ।
कविता पनि भन्नुभयो ?
भने । एउटा बहसको सेसन पनि चलाएँ ।
कस्तो बहस ?
‘सिनेमामा छुटेको भूगोल ।”
ओह । आइ सी ।
एकछिन दुवै चुप लाग्छन् । दुवैलाई यस कुराको ज्ञात थियो । दिलिप रोल्पा गएको, रोल्पाको सुलिचौरमा कार्यक्रम भएको । विवादित कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महरा आएको ।.. तर, ४/५ दिनपश्चात प्रत्यक्ष साक्षत्कारलाई उनीहरू यसैगरी खुकुलो पार्दै थिए ।
रोशनी सोध्छे, "महराले पनि कविता सुनाएछन् ।"
"अँ, त्यहि घिंसीपिटी ।"
"के सुनाए ?"
"त्यहि, उठ ए ! जनता हो !"
"ओह, आइ सी ।"
'रोल्पा छोड । मलाई औषधि देऊ ।', दिलीप खोक्दै भन्छ ।
'रोल्पा रोग साच्चै कष्टकर छ,', रोशनीको व्यंग्य ।
'साइनेक्स खाएको । ठीक भएन ।' खोकीसकेर दिलिप भन्छ।
'रोल्पाले दिएको खोकी काठमाडौंले ठीक गर्ला त ?', रोशनी हाँस्दै आफ्नो बाँकी प्रश्न सक्छे ।
'गोर्खा आयुर्वेदको सितोपलादी चुर्ण पनि खाएको । काम गरेन ।', दिलिप नाक सफा गर्दै भन्छ ।
'लिस्नेको घरतिर तुलसी थिए होलान् । टिपेर खानुपर्थ्यो नि,' रोशनी रोकिएकी छैन ।
'सुन्तला चाहिँ खाएको । सायद त्यसैले भेट्यो ।'
'खोकी फ्याट्टै ठिक हुन्न । २/३ दिन लाग्छ । भोलि ओखती दिउँला', रोशनी यति भनेर अर्को ग्राहकतर्फ फर्किन्छे ।
दिलीप रिसाउँदै मेडिकलदेखि बाहिर निस्कन्छ । मेडिकल बाहिर एउटा कुकुर छ । कुकुर खैरो छ । खैरो कुकुरको आँखा कालो छ । कालो आँखामा दिलीपको आकृति छ । र, आकृति खोकिरहेको छ ।
दिलीप अगाडि बढ्छ । ऊ नाक समाएर सी गर्छ । सिँगानको बाक्लै झोल सडकमा स्याल्लब्याल्ल हुन्छ । ऊ आफ्नो निलो हुडीको बाहुलाले नाक सफा गर्छ । नाक अलि खुलेजस्तो हुन्छ । खुलेको नाकले ऊ एउटा गन्ध चाल पाउँछ । गन्ध, सिनोको हुन्छ । सिनो कागको हुन्छ । काग कालो हुन्छ । ऊ फेरी खोक्छ । खोक्दाखोक्दै ऊ पनि कालो हुन्छ ।... उसको नाक फेरी भरिएर आउँछ ।
दिलीप कोठामा आइपुग्छ । पानी तताउँछ । गिलासमा भर्छ । खोकी रहेकाले आधि जसो पानी गिलास बाहिर पर्छ । ऊ सोही आधी गिलास पानी तनतनी पिउँछ । यसपछि ऊ ज्वानु चपाउँछ । लगतै थुकिदिन्छ ।
केहीबेरपछी दिलीप बराण्डामा उभिएर अस्ताइरहेको क्षितिजलाई हेर्छ । क्षितिजले उसलाई हेर्दैन । आफूलाई नहरेको क्षितिजलाई ऊ पनि हेर्दिदैन् । बदलामा ऊ टाउकोमास्तिरको आकाशतिर हेर्दिन्छ । आकाशमा रातो-हरियो एउटा ताराजस्तो केही चम्कीरहेको हुन्छ । उसलाई अचम्म लाग्छ, यस्तो तारा उसले कहिल्यै देखेको थिएन । कि रातो, कि पहेलो, कि सेतोतारा चम्किएका देखेको हो तर रातो-हरियो ? उसलाई अचम्म लाग्छ ।
उसको खोकी रोकिदैन । पानी लिन भित्र छिर्छ । बाहिर निस्कदा सो तारा अलप भइसक्छ । अब ऊ सोचमग्न हुन्छ, 'त्यो तारा नै थियो या अरू नै केही ?' उसले भेउ पाउदैन । "पक्का ओम्रिकन हो", ऊ बलियोसँग भन्छ, "हुँदै नभएको तारा मैले कसरी देखे ? देखे पनि रातो-हरियो तारा कसरी देखे ? पक्का मेरो दिमाग डल भयो ! मलाई ओम्रिकन भयो ।"
ऊ फेरी किचनमा छिर्छ । काँचो मेवालाई स-साना चिरा बनाएर काट्छ । फ्राई-पेनमा एक बटुका पानी बसाल्छ । तातो पानी काँचो मेवाको ८/१० टुक्रा हाल्छ । हरेक मेवाको टुक्रापिच्छे ऊ खोक्छ । खोकीपिच्छे मेवाको टुक्रा चपाउँछ । कहिलेकाहीँ यस्तो हुन्छ कि, मुखमा एकसाथ मेवाको टुक्रा र खोकी आइदिन्छ । यसो हुँदा ऊ मेवाको टुक्रा चपाउन छाडेर ओकलिदिन्छ ।
ऊ आफ्नो यो निल्नु न ओकल्नुको स्थिति देखेर मनमनै सोच्छ, “सरकारले लकडाउन गर्ला कि नगर्ला ?” प्रश्न नासिकिदै एक्कासि खोक्छ । लहरे खोकीकै बीच ऊ एमसीसी र आगामी चुनावलाई बरोबर सम्झिरहन्छ ।
... सरकारको खोकी सम्झेर ऊ बरोबर खोकिरहन्छ । तातो पानी रित्ताइरहन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...