तुलसी दिवस (वास्तविक नाम तुलसीप्रसाद जोशी) नेपाली साहित्यकार तथा संस्कृतिविद् हुन् । यिनी सबैभन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्ने व्यक्ति हुन् ।
तुलसी दिवसको जन्म सन् १९४१ जुलाईमा धनकुटामा महाप्रसाद जोशी र चण्डिकादेवी जोशीको जेठो छोराको रूपमा भएको हो । उनले माध्यमिक शिक्षा धनकुटाकै गोकुण्डेश्वर हाइस्कूलमा पढे र धनकुटा डिग्री कलेजबाट नेपाली साहित्यमा एम ए गरे । त्यसपछि अमेरिका, जापान लगायतका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गरे । यिनले नेपालमा विभिन्न समयमा प्राध्यापन गरेका छन् भने विदेशमा पनि विभिन्न पदमा रही भाषा र संस्कृति विषयमा काम गरेका छन् ।
कवितालाई अभिव्यक्तिको माध्यमद्वारा पनि बुझाउन सकिन्छ भन्ने मतको हिमायती तुलसी दिवस कवितालाई सुन्दर र सरल भाषामा, राम्रो र मिठो शैलीमा साथै कवितात्मक हाउभाउका साथ स्पष्टरूपमा अभिव्यक्त गर्ने विशिष्ट खुबी भएका कवि हुन् । तुलसी दिवसले नेपाली साहित्यको भाषालाई लोक भाषासँग सम्बन्ध गराउन धेरै महत्त्वपूर्ण योगदान दिए । यसका साथै लोकसंस्कृतिलाई आम जनजीवनसँग सम्बन्ध गराउनको लागि अथक र निरन्तर प्रयासरत् छन् ।
तुलसी दिवसले नेपाली साहित्यमा गीत, कविता, कथा लेखेका छन्। त्यसैगरी संस्कृति र लोक संगीत विषयमा दर्जनजति पुस्तक लेखेका छन्। यिनले सङ्कलन गरेका कान्छी मट्याङ्ट्याङ लगायतका लोक गीतहरू एक समय निकै चर्चित थिए।
प्रकाशित कृतिहरू :
नेपाली लोक कथा (सन् १९७५)
नेपाली लोककथा केही अध्ययन (सन् १९७६)
धिमाल प्रदर्शनकारी लोक संस्कृति (सन् १९७८)
धिमाल लोकधर्म र संस्कृति (सन् १९८३)
तुलसी दिवसका कविता (नेपाल प्रज्ञा प्रतिष्ठान, सन् १९८४)
Folk tales from Nepal (भारत, सन् १९९२)
तुलसी दिवसकि कबिताएँ (न्यू दिल्ली, सन् १९९७)
द मार्जिनको साप्तहिक स्तम्भ तीन कवितामा यसपटक हामीले तुलसी दिवसका तीन कविताहरू प्रस्तुत गरेका छौं;
१. आवाज, नदी र म
समय थुनिएको बुइगलको भत्किएको पाखामा
शताब्दीको पुरानो डोकोबाट पोखिएको जैविक मलजस्तो
अँध्यारोको थुप्रोमा पुरिएर आफैँ निसासिई
दसैँको जमराजस्तो उज्यालो विमुख पहेलिएको आवाज,
युगको आफ्नै छिंडीको चिसो भुइँतलामा
युगौँदेखि बन्द समयको रुघा लागेको मोटो आवाज,
बन्दीघरमा थुनिएका तर नसुनिएका घरभरिको पातलो आवाज,
द्वन्द्व र सङ्घर्षको पहिरोमा परेर बगी
आफैँबीच चेप्टिएर पुरिएको आवाजहीन शून्य आवाज,
अनियन्त्रित राजनीतिक भ्रष्टाचारको मेदभावयुक्त बाढीमा बगेर
यत्रतत्र खण्ड खण्ड छरिएर टुक्रिएका मौन आवाज,
भोकमरि र सङ्क्रात्मक रोगको भुइँचालोले थिलथिल्याएको
कहिल्यै नसुनिएको भूमिगत कोलाहलको आवाजहीन आवाज
चुरा फुटेर सिन्दूर पुछिएको सेतो लुगाको रङ्गीन आवाज
अपहरण, बलात्कार र हत्याको मलिलो माटोमा उगि्रएको
भूमिगत पीडाको बाक्लो भित्रभित्रै चर्किएको
पोल्ने एकान्तबाट निसृतः जलिरहेको आवाज,
संवेदनारहित शक्ति र सत्तामा केन्दि्रत विभाजित दलगतस्वार्थ हो
पुरेको मान्छे मात्रको नसुनिने दबाइएको सेतीको दबेको आवाज,
सबै चेतनाको उज्यालो भरेङ चढेर
तला, बार्दली र कौशीमा क्रमशः उक्लिरहेका,
र निस्किरहेका छन् -हूल हूलमा घाम ताप्न
बन्दीगृहको युद्ध मोर्चामा मात्र सीमित छैनन् ती,
हरेक घरका मूलढोकाबाट खिया लागेको
फलामे गजबार तोडेर सडकमा ओर्लेका छन् ती
सानो-ठूलो बाटो हँुदै निस्केका ती आवाजहीन आवाजहरूको नदी
एउटा बाढी भएर मूलसडकमा अनियन्त्रित रूपले बगेका छन्
र आवाजहरूको उर्लंदो जुलुस भएर उर्लेका छन्
समूह-समूहमा बाँडिएर बेलाबखत ती
असन, इन्द्रचोक, भोटाहिटी र रत्नपार्कमा कोणसभा गरिरहेछन्
साँझ ओर्लंन नपाउँदै फेरि नयाँसडकमा मसाल जुलुस पनि निकालिरहेछन्
समावेश हुन नसकेको तर आक्रोशित कहिल्यै नसुनिएको
मैदानबाट उठेको भुइँ कुइरोको हूल
यही नदीको ओछ्यान र बगरबाट माथि पहाडमा उठेको छ
सडकमा आएको अप्रत्यासित तर योजनाबद्ध दमित
आवाजहरूको यो बाढीले पैदल हिँड्ने दुबै किनार ढाकेर
नाङ्ले पसलदेखि ठूला डिपार्टमेन्टल पसलसम्म
साना-साना घरदेखि गगनचुम्बी ठूला दरवारसम्म भेटिसकेका छन्
ती चर्किसकेका छन्, भत्की, लडिसकेका छन्
तर हूल-हूलमा बाँडिएर सडकमा कुद्ने यी आवाजका भुइँ कुइरोहरू
आकाशको अज्ञात कुन दिशातिर घुँडामाथि उडिरहेछन्
ध्यान मग्न भई फेरि पनि आफ्नो कोठामा म सोचिरहेछु-
एकता, स्थिरता र मेलमिलापको विषयमा,
सहमति, शान्ति र संविधानको विषयमा
यसरी सोच्दा-सोच्दै आफ्नै आवाज पनि फुत्त निस्केर
आवाजहरूकै बाढीमा मिसिएर बगेको देखिरहेछु
र स्वयम् म पनि आवाजहीन आवाज भएर बगिरहेछु ।
२. हृदयको बालक
समयको गोरो अनुहारमा
रातले जब अँध्यारो हाँडीको मोसो पोत्छ,
आकाशको नीलो ढक्कीमा
जब फूल उठेका ताराहरु सजिन्छन्
मेरा थाकेका इन्द्रियहरु
आफूलाई हराउँछन् -
हराएको तेज खोजेर;तर मेरो हृदयमा सुँकसुँकाउँदै
निदाएको बालक बिम्झन्छ-
एक्लो एकलकाँटे सिरेटोले छोएर ।
बगरको ढुङ्गा झैँ
चिसो भुइँमा नाङ्गै
आफूलाई लडाएको पाएर एक्लै
उसको हात-खुट्टा अनुहार
अङ्ग-प्रत्यङ्ग बोल्छ-
म चिसो हिउँ भइसकेँ
म नीलो यूँ भइसकेँ
मलाई मुटुको मकलमा सेकाएको हातले
मायाको चिल्लो लाइदेऊ !
कलङ्कको कालो टीका मेट्न
टुकुचाको पुलमा अफालिएको बालकको झैँ
मेरो पनि नाभि काटिएको छैन,
कसैको पनि म हुन सक्छु
ए, स्वर्ग जानबाट बञ्चित अपुता हो !
म ति म्रै छोरा हु - बाँच्न जन्मेको मान्छे ।
मलाई स्नेहको थाङनामा बेरेर
मेरो निराशाको सर्दी हुर्काइदेऊ !
मलाई आनन्दको छाया होइन
जीवनको माया देऊ !
जानी-नजानी सकी-नसकी
अनायासै उसको आवाज फुट् छ - "मा !"
आँसु अनि अरस्तू भएर बोल्छ-
मानिस सामाजिक प्राणी हो
मलाई समाज चाहिन्छ ।
आत्मामा आकाश-वाणी हुन्छ -
हृदयको अँध्यारो मेट्न
हृदयकै उज्यालो चाहिन्छ ।
३.रङ्गीन आवाजहरूको जुलुस
नीला आवाजहरू आकाशबाट हाम फालेर
समुद्रको नीलो सतहमा तैरिरहेछन्
राता आवाजहरू शहीदहरूको रगतबाट छड्किएर
गुराँसको रातो पत्रदलमा पोखिँदै सुकिरहेछन्
पहेँला आवाजहरू साँझको क्षितिजबाट ओर्लेर
सयपत्रीको शृङ्खलित तहमा तरेली परिरहेछन्
सेता आवाजहरू बादलको घेराबाट पग्लेर
हिमालयको उन्नत वक्षस्थलमा ठोस जमिरहेछन्
हरिया आवाजहरू वनजङ्गलबाट हुर्किएर
मुडुलो चट्टान र वस्त्रहीन नागी हुँदै
पहाडको अश्रुरिक्त बगरसँगै
खेतबारीबाट पनि उखेलिएर समुद्रको पिँधमा
हरियो थेग्रिदै तरल बसाइँ झरिरहेछन्
काला बाजाहरू मानसिक प्रकोपबाट धमिलिएर
मनको सुख्खा र विवेक स्खलनले
काल उम्लिएर बगेको कालो सुरुङ्गमा
बाक्लो अँध्यारोको अनियन्त्रित बाढीसँगै उर्लिरहेछन्
समयले फागु खेलेको यो रङ्गीन आवाजहरूको जुलुसमा
श्रद्धाले सामेल भई
आवाजको खोजीमा निस्केको म
आवाजहरूकै भीडमा अहिले आफ्नै आवाज हराएर
नितान्त आवाजहीन चुपचाप एक्लो घर फर्किरहेछु
मौन यो मेरो प्रत्यागमन
एउटा बुद्धत्व प्राप्ति हो
या अर्को महाभिनिष्क्रमणको तयारी हो
रङ्गहीन यो अनिर्णयमा यसरी म
लगातार एउटा आवाजहीन निर्णय बोलिरहेछु ।
(प्रस्तुत तीन कविताहरू कविताकोशबाट लिइएको हो)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...