राेल्पा - ‘कविले बिराएको बा’टो शीर्षकको बहस रोल्पा भइरहेको सुनिल स्मृति साहित्य महोत्सवको प्रथम सेसन हो । यस सेसनमा कवि तथा गीतकार श्रवण मुकारुङ, पत्रकारिता र साहित्यलेखनमा सक्रिय हरिहर अधिकारीले कविले बिराएको बाटोबारे आफ्ना भनाइहरू भने सहजकर्ताको भूमिकामा प्युठानका कवि घनश्याम अस्तित्व रहेका थिए ।
चार दशक लामो साधना गरेका मुकारुङको 'अनाम योद्धा', 'शब्दको बयान', 'पुरानो मानिस' लगायत कविता चर्चित छन् । 'माथि माथि सैलुंगेमा', 'तिमी तारे भीर म त लहरा' पनि उनका परिचित गीत रचना हुन् । मुकारुङका अनुसार पछिल्ला कविताले 'सबाल्टर्न' अर्थात् पछाडि परेका, दुःखमा भएका र आवाजविहीनहरूको आवाज बन्ने काम गरेको छ ।
तीसको दशकदेखि पत्रकारिता र साहित्यलेखनमा सक्रिय श्यामलको पत्रकारिता भने ‘मातृभूमि’ पत्रिकाबाट सुरू भएको हो । करिब चारदशकबाट वैचारिक एवम् प्रगतिवादी साहित्यका माध्यमद्वारा समग्र नेपाली समाजको रूपान्तर गर्ने अभियानमा सक्रिय श्यामलको प्रमुख विधा भने कविता र निबन्ध नै हो ।
सडक सबैभन्दा भरसिलो ठाउँ हो..
कार्यक्रमका प्रमुख अतिथि नेपालको सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाका पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्यले आफूले जनयुद्ध अगाडि शिक्षकको रूपमा रहेको बताएका थिए । महराको सोही टिप्पणीमा टेकेर कवि श्यामलले शिक्षकले आज पनि लुतो कन्याईरहनु परेको बताए । महरा शिक्षक हुँदा आफू पनि डोल्पामा शिक्षकको भूमिकामा रहेको श्यामलको उदघोष थियो ।
शक्तिशाली कवि आफ्नो शक्ति देखाउन सडकमा किन जान्छ भन्ने अस्तित्वको प्रश्नमा बहसका अर्का वक्ता मुकारुङले भने, “लेखकको मात्रै होइन, नेताहरूको पनि र नेताहरूको मात्रै पनि होइन, जनताहरूको पनि शक्तिको पहिलो स्रोत भनेकै सडक हो । सडक भनेको माटो हो, धर्ती हो । जहाँ आफ्ना आवाजहरूलाई हामीले प्रस्तुत गर्न सक्छौँ । शब्द भन्नका लागि सबैभन्दा भरसिलो ठाउँ भनेकै सडक हो ।”
मुकारुङले शक्तिशाली कवि हुन् मात्रै नभएर शक्तिशाली नेता पनि सडकमा जानुपर्ने बताए । एउटा असल लेखक सडकदेखि धेरै टाढा हुँदै जाँदा उसको सीर्जनशिलता मार्दै जाने मुकारुङको टिप्पणी थियो । ‘तपाइँ जति उभो उभो जानुहुन्छ, उतिउति जमिन छोड्दै जानुहुन्छ’ उनले अटल विहारी वाजपेयीको कवितासमेत संस्मरण गरे ।
रोल्पाका जनताले पाएको दुःखले रोल्पा उठेको हो
रोल्पा जनताको स्वतन्त्रता एवं जनताले कम दुःख पाउन भन्नका निमित्त लडाई लडिएको भूमि रहेको श्यामलले बताए । “रोल्पाली जनताले पाएको दुःखले रोल्पा उठेको हो”, उनी अगाडि भन्छन्, “राणाले दिएको दुःखका कारण ०७ सालमा क्रान्ति उठेको हो । अब कुनै दलले दुःख दिन्छ भने हामी कवि-कलाकार नै उठ्नेछौँ ।”
मानिसहरूको दिमागमा रोल्पा अझ टाढा रहेको र यसलाई नजिक ल्याउनको लागि यस्ता कार्यक्रमहरू हुनुपर्ने श्यामलको जिकिर छ । उनले भने, “क्रान्ति एकैक्षणमा पैदा हुँदैन, त्यसका कार्यभारहरू बदलीदै जान्छन् । मानिस पनि एक्कासि बदलीदैन, विस्तारै बदलिन्छ । त्यसलाई बदल्ने काम कला-साहित्यले गर्दछ ।”
आफूले २४ वर्ष पहिले हिडेको गोरेटो बाटो आज आफूले भेट्न नसकेको बताउँदै श्यामलले भने, “परिवर्तनका आयामहरू देखिएका छन्, क्रमिक सुरुवात भएको छ । कतिपय मामलामा रोल्पा दैलेख भन्दा अगाडि छ । रोल्पामा बाटो पुग्दा दैलेखमा बाटो पुगेको छैन ।”
साहित्यकारहरूले मानिसिक रूपमा मानिसहरूलाई तयार गर्ने बताउँदै श्यामलले भने, “विस्तारै विस्तारै मानिसहरू मुटु कमाउन छोड्छन् । मानव न अन्तरमुखी भएर सम्भव, न बहिर्मुखी भएर ।” रोल्पाका लोकगीतहरू आफूले लेखिरहेका कविताहरूभद्ना शक्तिशाली रहेको उनको टिप्पणी थियो । यसको पुस्तान्तरण हुन् नसकेको दुःखेसो पनि उनको रहेको छ ।
के कविले बाटो बिराएका हुन् ?
मुकारुङले कविता लेख्नु कठिन कर्म रहेको बताउँदै भने, “किसानले एउटा हलो बनाउँदा जुन 'जर्नी' रहन्छ, त्यो पीडा एक सिर्जनाकर्मीले पनि गर्दछ । राम्रो कविता लेखनको अभ्यास चाहिने र एकैचोटी राम्रो कविता लेख्न नसकिने मुकारुङले बताए । उनी अगाडि भन्छन्, “आज कुनै थिम आयो भने कविता लेख्ने हैसियामा म पुगेको छु । यो अभ्यासकै बलमा भएको हो ।”
स्वतन्त्रताको उपभोग र अनुशासन कविसँग परस्पर जोडिएको मुकारुङको मत छ । उनले स्वतन्त्रताको उपयोग मात्रै गरेको खण्डमा कवि-लेखकले बाटो बिराउने बताए । यसैगरी, कविता लेखेर मैले आफ्नो कर्तय्व निवार्ह गरेको श्यामलले बताए । अर्काको दुःखमा आफूलाई एकाकार गर्दै आएको बताए ।
असल कविहरू समाजका वैरी हुन् नसक्ने बताउँदै श्यामले भने, “मैले अरूको दुःखलाई आफूमा एकाकार गराएर कविता लेख्दै आइरहेको छु । कविता लेख्नु मेरो रुची मात्रै नभएर सामाजिक भूमिका निभाउने प्रयास पनि हो ।”
श्यामलले भूपी शेरचन र हरिभक्त कटुवाललाई ‘जाँड’ सँग बरोबर जोड्ने परिपाटीको विरुद्धमा बोल्दै भने, “भट्टीपसलमा जाने सबै कवि हुन् त उसो भए ?” आदत (सूर्ती, रक्सी) भन्दा पनि आचरण या विचारमा बाटो नबिराउनु चाहिँ कवि हुनु हो । व्यक्तिगत स्वतन्त्रताको प्रयोग गरेर रक्सी खाउन् तर सामाजिक दखल नपुर्याउन । “म रक्सी खाएर कसैलाई पिट्दिन । अपमान गर्दिन । पढ्छु, लेख्छु”, उनी अगाडि भन्छन्, “अरूले जाँड खाएको हामी देख्दैनौं तर कविले खाएको देख्छौं । भनेसी कविप्रति समाजको संवेदनशील छ । उसलाई निगरानी गरिरहन्छ ।” उनले कविमाथि समाजले आश गरिरहेको बताए ।
कविहरू बाटो बिराउँदै नबिराउने भन्ने नहुने श्यामलको मत छ । “कवि पनि मानिस हुन्, कहिलेकाही बाटो बिराउलान् तर सच्चिनु तयार पनि हुनुपर्दछ । तर, काठमाडौंमा बसेर जुम्लामा कविता लेख्नेहरूले चाहिँ बाटो बिराएकै हुन् । रोल्पा नआइकन रोल्पाबारे लेख्नेहरूले चाहिँ बाटो बिराएकै हुन् ।”
यसैबीच सहजकर्ता अस्तित्वले मुकारुङ कांग्रेसमा प्रवेश गरेको प्रसंग उप्काए । कुनै पनि पार्टीमा पस्नु, विचारधारा-दर्शनसँग (देखिने-नदेखिने) गरी आबद्ध हुनु ‘च्वाइस’को कुरा रहेको मुकारुङको मत रह्यो ।
उनले अगाडि भने, “पार्टीमा एउटा लेखक पस्नु भनेको बाटो बिराउनु भनिहाल्न मिल्दैन, होइन । कवि हुने कि नेता या दुवै हुने, व्यक्तिको च्वाइस र क्षमतासँग जोडिने कुरा रहेछ । विपी कोइरालाले बाटो बिराएका थिएनन् । कवि नेता बन्नु र नेता कवि बन्नु, दुवै बाटो बिराउनु होइन । मानिसदेखि मानिससम्म पुग्नको लागि बाटो बन्ने हो । कविले नेता बनेर त्यो बाटो बनाउँछ या नेताले कवि बनेर त्यो बाटो बनाउँछ उसले बाटो बिराउदैन ।”
मुकारुङले कुनै पनि कविले कमजोर कविता लेख्नु चाहिँ बाटो बिराउनु रहेको बताए । यसैगरी, श्यामलले हाम्रा कवितामा ‘जनता सुस्केरा छैनन्’ भने हामीले बाटो बिराएका भन्न मिल्ने बताए । उनले छन्दमा कविता लेख्ने परम्परा छुट्दै जानुलाई कविले बिराएको बाटोको रूपमा व्याख्या गरे ।
“अँध्यारो पनि गाइएला नि त गीतहरू ?
हो, गाइनेछन्, गीतहरू अध्यारोमा,
अध्यारोकै बारेमा ।”
ब्रतोल्त ब्रेख्तको कविता याद गर्दै श्यामले भने, “कुनै पनि विचारसम्म कला पुग्नुको लागि सोझो बाटो मात्रै नभएर केही गम्भीर बाटो पनि हिँड्नुपर्छ । यो सजिलो रहँदैन तर कविले त्यो आँट गर्नुपर्दछ ।”
कविता-लेखकहरू लामबद्ध किन भइरहेका छन् ?
देशको अर्थ-सामाजिकस्वरूप बिग्रदा कवि-लेखकहरू ‘लामबद्ध’ हुने अवस्था पुग्न बाध्य हुने मुकारुङको बुझाइ छ । “कुन प्रतिभा कहाँ(कसरी संघर्ष गरिरहेको छ रु ती प्रतिभालाई सम्बोधन गर्न आफ्नो भूमिका के रहन्छ भन्नेबारे राज्यले सोचेको छैन । विदेशतिर कवि-लेखकको नाममा संग्राहलय निर्माण भएका छन्, टिकट काटेर भित्र छिर्नुपर्छ हाम्रा नेताहरू कवि भनेको समेत बुझ्दैनन् भने कविता के बुझ्लान रु कविताको महत्व के रहन्छ कसरी बुझ्लान् ?
मुकारुङले कला-साहित्यले व्यवसायको रूप लिन नसकेको समेत बताए । उनी अगाडि भन्छन्, “एउटा लेखकले लेखेर जीविकोपार्जन गर्न सक्ने वातावरण बनिसकको छैन । यस अवस्थामा गुजाराको लागि ऊ वैकल्पिक मार्ग खोज्न बाध्य हुन्छ । यहि बाध्यताले नि कवि लेखकहरू लाम लागिरहेका हुन् कि रु”
उनले राष्टरको महत्वपूर्ण संस्थाहरू (भाषा-संस्कृति-साहित्य)का क्षेत्रहरूमा कवि-लेखकहरूले आफ्नो पनि हकदाबी छ भनेर लाग्नुलाई चाकडीको रूपमा बुझ्न नहुने बताए । “रोल्पाले पनि आफ्नो दक्षताअनुसार आफ्नो ठाउँ खोज्नपर्यो”, उनले भने ।
कवि श्यामल पनि मुकारुङसँग सहमत देखिए । उनी भन्छन्, “जनता एवं कवि-लेखकहरू चिन्ने काम नेताहरूको हो । राज्यले हेर्ने कुरामा, राज्यले आफूलाई चाहिएको पात्र छान्न जान्नुपर्छ, यसमा बरोबर राज्य चुकिरहेको छ । कविले भन्दा नेताले बढी र नेता भन्दा बढी कार्यकर्ताहरूले बाटो बिराइरहेका छन् ।”
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...