राेल्पा - राेल्पामा भइरहेकाे सुनिल स्मृति साहित्य महोत्सवको पहिलो दिन ३ वटा बहस सेसन (कविले बिराएको बाटो, सुनिलको सपना, सिनेमामा छुटेको भूगोल) सम्पन्न भएका छन् ।

संयोजक जनक घर्तीमगरको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको प्रमुख आतिथ्यता रहेको थियो ।  

प्रमुख अतिथि महराले रोल्पामा साहित्यिक महोत्सव हुनु गर्वको कुरा रहेको बताए । महराले साहित्यसँग जोडिएको आफ्नो किस्सा समेत सुनाए । आफू २३ वर्षको हुँदा रोल्पाबाट साहित्यिक पत्रिका ‘हटारु’  ’निकालेको बताउँदै उनले नुन बोक्ने हटारुको नामबाट ०३८ सालमा सो पत्रिका निकालिएको उल्लेख गरे । 

कार्यक्रममा बाेल्दै महराले ‘जनतालाई’ शीर्षकको एक कविता पनि सुनाए । यस कविता लेखेपश्चात आफूलाई सिडीओले र्याखर्याख्ती पारेको स्मरण उनकाे थियाे । 

उठ ए जनता हो 
अझै लाटा भएर नबस 
तिमीलाई मृत्युको मुखतिर धकेलिँदैछ 
तिमीमाथि यहा 
मासुको भतेर लगाउने षणयन्त्र रचिँदै छ 

(कवितांश)

स्थानीय प्रतिभाहरूलाई अगाडि बढाउनुपर्ने महराको जोड थियो । ‘साहित्य भनेको समाजको चेतनालाई परिवर्तन गर्ने माध्यम रहेकाले यसप्रकारको कार्यक्रम हुनु गौरवको कुरा भएको उनले बताए । “रोल्पामा सबैभन्दा धेरै व्यक्तिहरूको सहादत प्राप्त गर्नुभएको छ । हामीले जनयुद्ध गर्यौं । ध्वंस गर्न र निर्माण गरेर देखाउने जिल्ला पनि रोल्पा नै हो ।”, महराले अगाडि भने, “हामीले युद्धमा के-के ध्वंस गर्याैं, त्यसपछि के-के निर्माण गर्यौँ, त्यसको उत्खनन गर्ने काम साहित्यकर्मीहरूको हो । युद्धपश्चात यहाँको मनोसामाजिक अवस्था कस्तो छ, त्यसको यथार्थ चित्रण यहाँ आइपुग्नु भएका साहित्यकर्मीहरूले गर्नुहोस् भन्ने मेरो आग्रह छ ।”  

महराले आफू पहिलोपटक सञ्चारमन्त्री हुँदा मोबाइल नभएको प्रसंग उप्काउँदै भने, “अहिले हातहातमा मोबाइल छ । रोल्पामा सडक विस्तार र उर्जा विकासमा वृद्धि भएको छ ।” रोल्पा विकासोन्मुख हुँदै गएको महराको जिकिर थियो । महराले आफूले जिल्लाका ५१ वटै गाउँ पैदल हिँडेको बताउँदै आफूले रोल्पा के चाहन्छ भन्ने कुरा बुझेको र त्यसतर्फ आफू अग्रसर भएको समेत बताए । 

“रोल्पा लुकेको जिल्ला हो । यहाँ जति पस्यो, उति रमाइलो छ । रोल्पाको उत्खनन पनि साहित्यकर्मीहरूबाट होओस् भन्ने मेरो चाह छ”, उनले भने, “यहाँ ध्वंस मात्रै छ भन्ने सन्देश बाहिर नजाओस् भन्ने कामना छ ।” कथा, कविता, गीत, फिल्म, नाटकमार्फत लुकेको रोल्पा बाहिर आउने कुरामा यस कार्यक्रमपश्चात् आफू विश्वस्त भएको उनले बताए । 

सुनिल स्मृति गाउँपालिकाको केन्द्र ‘सुलीचौर’ मा आयोजित यस कार्यक्रमको नियत भाले जुधाउने नभई रोल्पालाई केन्द्रमा राखेर राष्ट्रिय बहस गर्नु नै रहेको आयोजकको टिप्पणी थियो । कार्यक्रमको प्रक्रियामाथि समस्या आए पनि कार्यक्रमको नियतमाथि आक्रमण हुनु राम्रो नभएको आयोजकले जिकिर गरेको छ ।

रोल्पाको सुलीचौरमा ‘समाजका लागि शब्द’ भन्ने स्लोगोनका साथ सुरु भएको साहित्य महोत्सव आइतबारसम्म चल्नेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार