पर्वत लावती नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका अनुवादक तथा लेखक हुन् । उनी शब्दसोपान अनलाइन साहित्यिक पोर्टलका प्रधान सम्पादक पनि हुन् ।
किन यो देश
मेरो लाग्न छोडेको छ ?
किन मैले फूलमाला
लगाएर पठाएको सपनाहरूको अगुवा
आज मेरै खलीयान
मेरै आँगनको विरुद्ध
नीतिहरू ल्याइ रहेकोछ ?
किन यो देशमा
मेरा पूर्खाहरूको चिहान
निदाउँन पाउँदैनन् ?
किन यो देशको शासक
मेरो पूर्खाहरूको इतिहास साँच्न
मन पराउँदैन ?
किन यो देशको इतिहासमा
मेरो पूर्खाहरूको गाथा अटाउँदैन ?
हामी भष्मे खोरिया फाँडेर यो भूमिलाई उर्वर बनाउनेको
सन्ततीलाई यी शासकहरूले पहिचान किन खोज्दैन ?
यो देशको शासक
आफ्नो अस्तित्व जोगाउन
दूरबिन घुमाउँदा
मेरै पितृहरूको स्मृतिमा
बनाएको चौतारी, पौवा र चिहान मात्र देख्छ ?
ऊ आफ्नो नश्लीय सहपाठीको
स्मारक बनाउन
मेरै पुर्खाको समाधिस्थल र
मिथकिय भुगोलहरू मात्र देख्छ ?
उसले पानी चढाउने गढी
डोरो बाँध्ने पीपल
जोगाएर जाने बहाना खोज्छ ?
तर,खुवालुङमा ब्लास्टिङ फिट गर्न
रत्तीभर हिचकिचाउँदैन ?
यो शासकलाई
मेरै बस्ती
मेरै पूर्खाहरूको चिहान
हामीले भाकल बिसाउने
यूमाको आस्था र अस्तित्वसँग
गाँसिएका धरोहरहरू मात्र विकासको योजनामा
किन बाधक बन्छन् ?
किन उसले हाँकेको डोजर अगाडी
छाती तेर्स्याएर बारबार लम्पसार पर्दा पनि
उ सधैँसधैँ सदियौँदेखि
पटकपटक छिनछिनमा
अश्रूग्याँस भिराएर
डोजर भ्याक्कु पठाएको पठाएकै गर्छ
हाम्रै खोकनामा मात्र
हाम्रै चोभारमा मात्र ?
ऊ किन उसकै
आस्था मात्र अन्तिम सत्य हो झैं गर्छ
किन हाम्रो भावनामाथि
फिस्स हाँस्दै हामीलाई चिड्याउँन आइबस्छ ?
ए यो भूमिका रैथानेहरू
आऊ हामी एकमुठ्ठी भएर प्रश्न गरौँ
आखिर किन ऊ हामीलाई मात्र देख्छ टड्कारो
आखिर ऊ हाम्रो अस्तित्वदेखि
किन लुगलुग कापिँरहेछ यतिको साह्रो ?
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।