तपाईं राती अबेर निस्कनुभयो कोठाबाट भने
गल्लीका कुकुरहरु भेट्नुहुन्छ
गाडीलाई सलाम गरिरहेका
भुकेर सातो खानेछन् तपाईंको
भन्नेछन्
राती ननिस्किनुस्
तपाईंको ज्यानलाई खतरा हुन्छ
जसको मतलब हुन्छ
तपाईंबाट शहरलाई खतरा छ।

पुग्नुभयो भने त्यही शाखा बाटो
रङ्ग खुइलिएको
भित्ताभरी लेघ्रा लागेको
त्यही घरमा पुग्नुहुनेछ
जुन
दिनमा तपाईंको नजरमा कहिल्यै परेन
देख्नुहुनेछ भव्य
भयानक
र आलिसान।

अब तपाईंलाई
रङ्ग उड्नु- एन्टिक लाग्नेछ
छलीनु- सुरक्षा लाग्नेछ।
त्यसले देखाउनेछ
कति पुरानो वैभवता हो
कति पुरानो शासक हो
कति उच्च घरानाको हो;
भित्र बाहिर गर्ने गाडीले बताउनेछ
देश कसले चलाउँछ
व्यवस्था बदलियो कि छैन
ठूल्ठूला बङ्गला/दरबारका मान्छे
किन त्यो घरमा जदौ गर्छन्।

तपाईं कहिल्यै त्यो बाटो निस्कनुभयो भने राती
कुकुरहरुले तपाईंको सुरक्षाको चिन्ता गर्नेछन्।
भैगो
तपाईं आरामले सुत्नुहोस्
तपाईं रातभर जागा रहनुले
शहरको सुरक्षामा खलल पुग्छ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार