महामारी
केही महिना यता गंगामा सयौँ वेवारिसे शवहरू तैरिरहेको भेटिइरहेका छन् । प्रायःजसो शवहरू प्रयागराज र उत्तराखण्ड देखिनै बगेर आएको आशंका छ । त्यसो त कोभिड–१९ संक्रमणको दोस्रो लहरले भारतलाई तहस–नहस पारेको छ भने डर र त्रास अनि सद्गती गर्न जनशक्ति र दाउराको अभावका कारण पनि मृतकका शवहरू नदीमा त्यतिकै मिल्काइदिने एवं किनारमा छोपिदिने अवस्था समेत सिर्जना भएको छ ।

आजभन्दा एक सय वर्ष अघि यही गंगाको शिरान उत्तराखण्डस्थित गडवालको रुद्रप्रयाग आसपासमा स्पेनिस फ्लू महामारीका कारण ठ्याक्कै यस्तै स्थिति सिर्जना भएको थियो । रुद्रप्रयाग गंगाका शिर अलकानन्द र मन्दाकान्ताको संगमस्थल हो । हिन्दुहरूको बसोवास रहेको उक्त पहाडी स्थानमा मृतकको संद्गती गर्न दुई चार घण्टा तल अलकानन्द (गंगा) को किनारमा लगेर जलाउने प्रचलन छ ।

महामारी अवधिभर गाँउलेहरूले मृतकको मुखमा आगोको कोइला राखेर दाहसंस्कारको विधि पूरा गर्दै शवलाई घिसार्दै अलि पर भिर–पाखातिर लगरे मिल्काउने काम गरे ।

तर महामारीको कारण सिङ्गो क्षेत्र संक्रमित हुँदा मृतकहरूको दाहसंस्कार गर्ने जनशक्तिको अभाव भयो । फलस्वरूप, महामारी अवधिभर गाँउलेहरूले मृतकको मुखमा आगोको कोइला राखेर दाहासंस्कारको विधि पूरा गर्दै शवलाई घिसार्दै अलि पर भिर–पाखातिर लगरे मिल्काउने काम गरे । जनशक्तिको अभावमा यो भन्दा अधिक गर्न सक्ने अरू विकल्प पनि गढवालीहरूसँग थिएन।

स्पेनिस फ्लूका कारण भारतमा मात्र एक कराेड ८० लाख मारिएका थिए । सन् १९१८ मा इतिहासकै एउटा सबैभन्दा डरलाग्दो महामारी आतङ्कबाट भारत मुक्त भयो । तर उत्तराखण्डका रुद्रप्रयाग र त्यस आसपासका बासिन्दाले भने अरू थप आठ वर्ष महामारी भन्दा भयानका मृत्युको त्रासबाट गुज्रनु प¥यो । र, यो त्रास र आतङ्क थियो कुख्यात नरभक्षी ‘रुद्रप्रयाग चितुवा’ ।

नरभक्षी चितुवाको आतङ्क
सरकारी रेर्कडका अनुसार साे चितुवाले १२५ जना मान्छे मात्र खाएको छ । तर, त्यतिबेला वर्षैनी बद्रीनाथ–केदारनाथ  हिँड्ने ६० हजार तिर्थयात्रीमध्ये उसले कतिलाई ओसार्यो त्यसको कुनै लेखाजोखा छैन । यही रुद्रप्रयागबाट बद्री र केदार जाने बाटो छुटिन्छ । रुद्रप्रयाग भन्दा एक दशक अघि त्यसो त चम्पावत बघिनीले चारसय चौतीस तथा पानर चितुवाले ४०२ मान्छे मारेका थिए । तर आतङ्क सिर्जेको हिसाबमा संसारकै सबैभन्दा डरलाग्दो नरभक्षी रुद्रप्रयाग चितुवा नै थियो । यसले व्यापक मिडिया कभरेज पनि पाएको थियो । भारतभरि मात्रै होइन, बेलायत, केन्या, दक्षिण अफ्रिका लगायत अन्य ब्रिटिस उपनिवेशमा समेत यसको चर्चा थियो। 

सरकारी रेर्कडका अनुसार त यो चितुवाले १२५ जना मान्छे मात्र खाएको छ तर वर्षैनी त्यतिबेला ६० हजार बद्रीनाथ–केदारनाथ तिर्थयात्री हिँड्ने रुटमा उसले कति तिर्थालु ओसार्यो त्यसको कुनै लेखाजोखा छैन ।

रुद्रप्रयाग चितुवाको आतङ्क र त्रासदी कस्तो थियो भन्ने यी केही प्रतिनिधि घटनाले प्रष्ट पार्छः

एउटा केटो चालीसवटा बाख्राको झुण्डमा खोर भित्र थुनिएर सुत्छ । मालिकले खोरलाई बलियोसँग ताल्चा मारेका हुन्छन् । मध्यरात कुनै पनि बाख्रा, घरका कुनै मानिसले अत्तोपत्तो नपाइकनै बन्द खोरमा सानो प्वाल पारेर चितुवाले उक्त केटोलाई मात्र उठाएर लान्छ । भोलिपल्ट केही पर उसको शरिरको रहलपहल टुक्रा मात्र भेटिन्छ ।

घरभित्र दुईजना साथी गफिँदै हुन्छन् सँगै । एउटा हुक्का टिप्न मुन्टो निहुराउँछ । उसले टाउको उठाउँदा निमेषभरमै पत्तै नपाइ अर्कौ वयस्क मान्छेलाई चितुवाले ढोका बाहिर पुर्याएर अलप भइसकेको हुन्छ ।

घरमा दुइटा कोठा हुन्छन् । बाहिरी कोठामा दुई ढोका हुन्छन् । एक आँगनमा निस्कने, अर्को भित्रि कोठामा पस्ने । यो गाउँको मुखियाको घर हुन्छ । उनकी श्रीमती बिरामी हुन्छिन् । अरू दुई सहयोगीलाई बिरामी स्याहार्न बोलाइएको हुन्छ । कोठाका सबै ढोका चितुवाको त्रासदीका कारण लगाइएको हुन्छ । बाहिरी कोठामा जमिनबाट चार फिट माथि एउटा झ्याल हुन्छ । झ्याल खुल्ला हुन्छ र झ्यालमा पित्तलको गाग्रीमा भरी पानी हुन्छ । भित्री कोठामा बाहिरी कोठामा आउने बाहेक अरू कुनै झ्याल ढोका हुँदैनन् ।

भित्री कोठामा बिरामी महिलाको दुवैतिर दुई सहयोगी महिला सुतेका हुन्छन् । चितुवा त्यही झ्यालबाट गाग्रीलाई कत्ति नछुइकन भित्र छिर्छ । बाहिरी रुममा मुखिया सुतेका हुन्छन् । ऊ भित्री रुममा छिर्छ ।  बीचको बिरामी महिलालाई लान्छ । झ्यालबाट महिलालाई निकाल्दा गाग्री खस्छ, त्यतिबेला मात्र अरू ब्यूझिन्छन् । उठेर बत्ती बाल्दा महिलाको शव झ्याल छेउमा हुन्छ । उनका घाँटीमा चितुवाको चार दाँतको गहिरा डोब हुन्छन् ।

त्यस्तै दर्जनौँ तिर्थयात्री लस्करै सुतेका हुन्छन् । कुनापट्टी महिलाको लाइन हुन्छ । मध्यरात बीचमा सुतेकी महिला गाएव हुन्छिन् । कसैले थाहा पाउन्नन् । बिहान ओच्छ्यानमा रगतका छिटा र केही पर उनका लुगा र खाएर रहेका रहलपहल बाँकी रहेको शवका टुक्रा भेटिन्छन् । 

रुद्रप्रयाग चितुवा यति पारङ्गत हुन्छ कि मानिसको समूहबाटै एकजना थुतेर लादा समेत बाँकी सबैले उसलाई ठम्याउन भ्याउँदैनन् । त्यसैले त त्यस क्षेत्रका कसैले पनि यसलाई मात्र एउटा चितुवाको रूपमा लिदैनन् यो कुनै पनि शक्ति या प्रेतात्मा भएको ठान्दछन्।

उक्त नरभक्षीलाई मार्ने प्रख्यात शिकारी तथा संरक्षणकर्मी जिम कोब्रे लेख्छन्, "आतङ्क भनेको के हो उक्त चितुवाको इलाका रुद्रप्रयाग आसपासको १९१८ देखि १९२६ सम्म रुद्रप्रयागमा बसेका बासिन्दा तथा त्यतिबेला वर्षेनी तिर्थाटनमा जाने ६० हजार तिर्थयात्रीलाई सोध ।" उनले अझ भनेका छन्, "रुद्रप्रयागमा नरभक्षीले लगाएजस्तो कर्फ्यू र व्यतिविध्न कठोर पालना संसारमा कहीँ कतै भएको थिएन ।" नभन्दै ‘दिउँसो घाम अस्ताउनु अघि जनजीवन सामान्य चल्थ्यो, तर जब साँझ पर्थ्याे सबै दह्राे आग्लो लगाएर घरभित्र थुनिन्थे’ जिम कोर्बेले द म्यान इटिङ लियोपार्ड अफ रुद्रप्रयागमा लेखेका छन् । उनले केही प्रतिनिधि घटना पनि प्रस्तुत गरेका छन्ः

चितुवा मार्न गरिएका निरर्थक प्रयासहरू
रुद्रप्रयाग चितुवा मार्नका लागि सरकारी तवरबाट गर्ने जति प्रयासहरू गरिए । ठूलो रकम खर्चिएर शिकारीहरू परिचालन गरिए । विष र पासोहरू लगाइए । स्थानीयले त्यतिबेला सफल हुने शिकारीलाई दश हजार रूपैयाँ र सिङ्गो दुई गाउँ  बक्सिस स्वरूप छुट्याएका थिए । उल्लेख्य संख्यामा हाजिरामा पनि शिकारीहरू खटाइए । तर आठ–आठ वर्षसम्म कुनै पनि प्रयास सफल हुन सकेन ।

सन् १९२१ मा दुई शिकारीहरू राति चितुवा अलकानन्दको पुलबाट वारीपारी गर्छ भनेर महिना दिन पुलमा ढुकेर गोली हान्न सफल भए । भोलिपल्ट पुलमा रगतको टाटा भेटियो । त्यसपछि छ महिना चितुवाबाट अरू थप मारिएन । तर, ६ महिना पछि फेरी समस्या ज्यूँकात्यूँ रहिरह्यो । उसले फेरि मान्छे ओसार्न थालिहाल्यो । 

त्यसैगरी रुद्रप्रयाग चितुवालाई थापेको पासोमा कुल २० चितुवा मारिए । धेरैलाई लाग्यो, ती मध्ये पक्कै एउटा नरभक्षी हुनपर्छ । तर अँह, ऊ भने मारिएन । यो त साक्षत देवीको आत्मा हो कुनै पनि तवरबाट मारिँदैन भन्नेसम्म पनि भए । हिन्दु शिकारीहरू समेत हच्किए । त्यसैले यो दुष्ट आत्मालाई शान्त पार्न क्रिस्चियन मिसनरी समेत खटाइयो ।

एकपटक गुफाभित्र थुनिएको यो चितुवा पाँच सय मानिसको जमातलाई जिल्याउँदै तिनको जमात बीचैबाट सरासर उम्कन सफल भयो ।

सन् १९२५मा यो चितुवाको शिकार गर्न प्रशिद्ध संरक्षणकर्मी जिम कोब्रे रुद्रप्रयागमा खटिन्छन् । विगत सात वर्षदेखि त्रासदी सिर्जिरहेको रुद्रप्रयाग चितुवा औसत चितुवाभन्दा ठूलो, बलियो र मान्छेभन्दा चतुर हुन्छ । उसले ओगटेको शिकार क्षेत्र नै ५०० वर्गमाइलभन्दा ज्यादा हुन्छ । अधिकांश क्षेत्र जंगल र झाडीले भरिएको यो पहाडी इलाकामा राति मात्रै सक्रिय हुने चितुवालाई ट्र्याक गर्न निश्चयनै सरल हुँदैन । त्यसैले अलकानन्दको दुवैतिर आवत–जावत गर्ने चितुवालाई पुलको टावरमा ढुकेर २८ रात निरन्तर कोब्रे बस्छन् तर एकपटक एक स्याल बाहेक कुनै जन्तुले पुल पार गर्दैन । 

केही सिप नलागेपछि नयाँ प्रभावकारी पासो (गिनी ट्र्याप) सरकारले पठाउँछ । त्यससमा पनि पहिला अर्को चितुवा फस्छ । रुद्रप्रयागले शिकार गरेको मान्छेको शवको छेउमा त्यस पासोमा रुद्रप्रयाग पनि फस्छ, तर संयोगवश उसले पासो नै बोकेर हिनिदिन्छ र खुट्टाको अलिकति मासु चुडालेर आफू पासोबाट उम्कन्छ र मान्छे शिकारलाई झनै निरन्तरता दिन्छ । त्यति मात्रै होइन रुद्रप्रयाग चितुवाले शिकारी जिम कोब्रेलाई प्रत्यक्ष चुनौती दिन्छ । 

शिकार भर्सेस शिकारी 
सयौँ नरभक्षी मारिसकेका जिम कोब्रे र सयौँ मान्छेलाई एकदमै सजिलोसँग सामान्य आहारा बनाइसकेको रुद्रप्रयाग चितुवाबीचको शिकार खेल आफैँमा कम रोचक भने छैन । बुद्धिको स्तरमा पनि रुद्रप्रयाग कोब्रे भन्दा कत्ति पनि कमसल छैन । दुवैले पटक–पटक एक–अर्कालाई मार्न गौडा ढुकेर बस्छन् र बाल–बाल बच्छन् । कोब्रेले थाहा पाएसम्मका केही प्रतिनिधि घटना यस्ता छन्ः

एकपटक कोब्रे आफ्ना सहयोगी भरिया र कुकका साथ काँडाको बलियो बार लगाएर टेन्टभित्र सुतेका हुन्छन् । ती मध्ये एकलाई उठाउँन चितुवा टेन्ट छेउको रूखको हाँगामा चडेर टेन्टको सानो प्वालबाट भित्र पस्न के लागेको हुन्छ। राइफल तम्तयार पारेर बसेका कोब्रेलाई देखेर तत्काल अलप भइहाल्छ ।  त्यसो त अर्कोपटक चितुवाले मारेको मान्छेको छेउको माचमा ढुकेर अध्यारोमा हानेको कोब्रेको गोलीले चितुवाको गर्दनको छाला मात्रै पिल्स्याउँछ ।

चितुवा पनि के कम छ र ? चितुवा ढुक्दा–ढुक्दा लालटिन खसेर फुटेपछि मध्यरात कोब्रे र उनका मित्र इबट्सन जब गाउँ फर्कन्छन्, दुई मध्ये एकलाई शिकार गर्न बीच बाटोमा गौडा–गौडामा ढुक्दै चितुवा तिनी सुतेको घरैसम्म आइपुग्छ। उपयुक्त मौका भने पाउँदैन । भोलिपल्ट त्यसको पाइला देखेर कोब्रे चकित पर्छन् । ‘आठ–आठ वर्षको मानिससँगको सामिप्यताबाट एक नरभक्षी कति धेरै ध्रुत भएर निस्कदो रहेछ, यतिबेला सम्म मैले अनुमान गर्नै सकेको रहेनछु’कोब्रेले लेखेका छन् ।

उक्त चितुवा कतिसम्म ध्रुत र बुद्धिमान थियो भन्ने अर्को प्रशङ्गबाट छर्लङ्ग हुन्छ । गाउँबाट आधा माइल उत्तरतिर चितुवा भएको सुइको पाएर कोब्रे र इबट्सन एउटा बोको किनेर बोकोको पासो थापेर चितुवालाई ढुक्छन् । चितुवा छेउ परेपनि बोकोलाई केही नगरकिन तर्कन्छ । चितुवा अब आज राती फर्कन्न भन्ने लागेपछि बोको फुकाइन्छ । बोको अघि–अघि कोब्रे र इबट्सन पछि–पछि गाउँ फर्कन्छन् । बीच बाटोको घुम्तीमा बोको छेलिन्छ । बोको छिटो–छिटो घर फर्कियो होला भन्दै दुवै अध्यारोमा सलाइको काँटी कोर्दै अघाडी बढ्छन् । निक्कै अघाडी आइसकेपछि बीच बाटोमा बोको मारेर राखिएको हुन्छ । त्यसको घाँटीबाट अझैसम्म आलो रगत बगिरहेको हुन्छ । 

चितुवाले त्यो बोको मारेर कोब्रेको सामुन्ने बाटोमा तेर्याउनुको अरू कुनै कारण हुन्न । कोब्रेले लेखेका छन्, 'तिमीलाई तिम्रो बोकोको माया भए राखे हुन्छु । अझै निक्कै छ गाउँ पुग्न । म पनि हेर्छु तिमीहरूमध्ये को गाउँ पुग्छ, को पुग्दैन ।’ चितुवाले प्रष्ट सन्देश दिएको थियो । बोको त्यहीँ छोडेर कोब्रे र इबट्सन गाउँ आउँछन् । भोलिपल्ट पनि बोको जहाँको त्यही, जस्तो छोडेको त्यस्तै हुन्छ । चितुवाको पाइलाले देखाउँछ उ कोब्रे र इबट्सन मध्ये एकलाई शिकार बनाउन गाउँसम्मै पछ्याउँछ । 

दुवैको भाग्य या दुभाग्य लामो समयसम्म कोब्रे र रुद्रप्रयाग चितुवा एक–अर्काको शिकार गर्न असमर्थ हुन्छन् । सुरक्षित क्षेत्र खोज्दै चितुवा अर्को इलाकामा सर्छ । त्यहाँ पनि एक महिलालाई मारेको थाहा पाएपछि कोब्रे त्यतै जान्छन् । नयाँ इलाकामा रुद्रप्रयागको त्यहाँको अर्को रैथाने चितुवासँग घमासान झगडा पर्छ र कोब्रेले शिकारको अर्को मौका गुमाउँछन् । अन्ततः फेरि चितुवा पुरानै इलाकामा फर्कन्छ । 
रुद्रप्रयागको अन्त्य
चोप्रा, बानिसोरा, असन, भतबारी, नाकोट, लमेरी कहीँ कतै चितुवन मारिन्न र शुरूकै ठाउँ गोलाबारीमा कोब्रे फर्कन्छन्। गाउँमै नियमित जस्तो चितुवा हिड्ने गौडामा बोकोको पासो थापेर आपँको रुखमा कोब्रे बस्छन् । बाह्रौ रात अन्धकारमै हानेको गोलीले चितुवा ढल्छ । उसले बोकोलाई न्याँक्न नपाउँदै कोब्रेले राइफल चलाउन भ्याउँछन् । 
भोलिपल्ट कुख्यात नरभक्षी रुद्रप्रयागको शारीरिक बनोटको नापजाँच गरिन्छ । आठ फिट जति लामो उक्त चितुवाको दाँत खिइँदै गएका र मैला हुन्छन्, एक क्यानी दाँत भाच्चिएको हुन्छ । बुढो भइसकेको उसका ओठमा कुनै जुँगा थिएनन् । उसको मुख र जिब्रो अन्य चितुवाभन्दा फरक कालो हुन्छ । उसको दायाँ कुममा कोब्रेले हानेको गोलीको आलो घाउ हुन्छ । उसको पछाडीको देब्रे खुट्टाको पैतालाको थोरै मासु र एक नंग्रा छुट्टिएको हुन्छ । त्यो १९२१ मा पुलमा ढुकेर हानिएको गोलीका कारण थियो । त्यसैगरी टाउको, खुट्टा र पुच्छरमा हल्का खाटो बसेका घाउहरू थिए जुन उसले केही पहिला अर्को चितुवासँगको मल्लयुद्धमा पाएको थियो । 

मान्छे खाएर रुद्रप्रयाग चितुवाले मात्र मान्छेले बनाएको नियम तोडेको थियो, प्रकृतिको नियम होइन ।

त्यस्तै गिन ट्र्यापमा परेको पछिल्लो देब्रे खुट्टाको तल्लो भागमा छाला पिल्सिएको थियो । छाला काड्दा बन्दुकका छर्राका चोटहरू पनि भेटिएका थिए, जुन ऊ नरभक्षी भएर निस्किएको शुरूवाती वर्षमै शिकारीहरूले हानेको गोलीका कारण थिए । उसको मुख र जिब्रो कालो हुनमा उसले थुप्रैपटक साइनाइड जस्ता खतरनाक विषहरू पचाएको थियो 
यो त रुद्रप्रयाग चितुवाको बुढो अवस्थाको हुलिया थियो, १९२६ को । तर उसले असक्त भएर मान्छेको शिकार गर्न थालेको थिएन । ऊ नरभक्षी हुनुको मुख्य जिम्मेवार स्पेनिस फ्लू नै थियो । जब १९१८ मा उसले पहिलो मानिसको शिकार गरेको थियो जतिबेला उ भर्खरै हुर्किएको जवान चितुवा थियो । त्यसअघि नै महामारीका कारण वर्षौसम्म यत्रतत्र मिल्काइएका मानिसका शवहरू खाएर ऊ हुर्किएको थियो । उसको लागि मानिस नै प्राकृतिक आहारा भएको थियो । कोब्रेले लेखेका छन्, "मान्छे खाएर रुद्रप्रयाग चितुवाले मात्र मान्छेले बनाएको नियम तोडेको थियो, प्रकृतिको नियम होइन ।" (प्रस्तुत आलेख जिम कोर्बेले पुस्तक द म्यान इटिङ लियोपार्ड अफ रुद्रप्रयागमा आधारित छ।)

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...