किनारका साक्षी'मा केशव सिलवाल

ललितपुर लेलेका कवि केशव सिलवाल तेस्रो कवितासंग्रह 'चिबेचरा' लिएर आएका छन् । प्रगतिशील लेखनसँग जोडिएका सिलवाल मार्क्सवादी आन्दोलनका क्रममा थुप्रै जनसांस्कृतिक संगठनमा जोडिए । त्यसक्रममा उनले लेखेका ‘पोलिटिकल कविता’ पाठकमाझ चर्चित रहे । उनको ‘वर्जित अवशेष’ २०६३ र ‘धारिला मानिसहरू’ (२०६६) दुई कविता संग्रहसँगै दर्जनौं फुटकर कविता प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र अध्यापन गर्दै आइरेहका सिलवाल अखिल नेपाल लेखक संघका निवर्तमान अध्यक्ष, जनसांस्कृतिक महासङ्गका उपाध्यक्ष समेत हुन् ।

प्रस्तुत छ, द मार्जिनको साप्ताहिक स्तम्भ 'किनारका साक्षी'का लागि राजु झल्लुप्रसादले तयार पारेको सामाग्री:

केशव सिलवालसँग ‘चिबेचरा’ संवाद

Shilapatra: Shilapatra News Portal

 

नेपालको संघीयता बहस अझै पनि पहिचानको मुद्दामा अल्झिएको छ । यतिबेला तपाइँ पनि ‘समाजमा दमित सीमान्त आवाजलाई मुखर बनाउन मैले ‘चिबेचरा’ कविता लेखेको हुँ’ भन्दै हुनुहुन्छ । मैले सोध्न लागेको चाहिँ, ‘चिबेचरा’को परिभाषा के हो ? ‘सुविधाअनुसार पहिचानको बहसलाई परिभाषित गर्नेहरू’को भीडमा केशव सिलवाल कसरी अलग छन् ? 
चिबेचरा उपेक्षित, पददलित र उत्पीडनमा परेकाहरुका सबैभन्दा तल्लो वर्गको सामूहिक आवाज हो । रङकै कारण, भूगोलका कारण, आर्थिक, सामाजिक र सांस्कृतिक कारण चिबेचराहरू दलनमा परेको छन् । खासमा मैले चिबेचराको पुरै चरित्र केलाएर कवितामा उतारेको होइन । हाम्रोतिर चिबेचरालाई विशेष चरा मानिदैन पनि । यो खेतबारीमा आकाशमा नाचिरहेको देखिन्थ्यो । बाल्यकालमा म त्यसलाई खुबै हेर्थें । मलाई त्यसको कालो रङले ध्यान खिच्यो, त्यो आकाशमा अडिएर नाचेजस्तो गर्थ्यो । त्यसैलाई सम्झेर पहिचान र पिँधका मानिसको बिम्बका रुपमा प्रयोग गरेको हुँ । 

सुविधाअनुसार पहिचानको बहसलाई परिभाषित गर्नेसँग मेरो असहमति छ । वास्तवमा यो देश निश्चित जातिको मात्र होइन, सबैको हो । कुनै पनि भाषा, संस्कृति र सभ्यताको लामो इतिहास हुन्छ । त्यो देशको पुँजी हो । त्यसलाई देशले आफ्नो सम्पत्ति मान्नुपर्छ र त्यही हदको व्यवहार गर्नुपर्छ, अधिकार दिनुपर्छ, सम्बोधन गर्नुपर्छ । हामी साहित्यमा लागेकाहरू मानव पहिचानको कुरा उठाइरहेका हुन्छौँ भने पहिचानको बहसमा हामी सदा संलग्न छौँ । त्यस अर्थमा म पहिचानको वास्तविक कुरा गर्नेको साथ उभिन्छु ।  

हाम्रोतिर (धादिंग) चील, बाज जस्ता ठूला शिकारी चराहरूसँग पनि टक्कर लिन सक्ने पंक्षीको रुपमा चिबेचरालाई लिइन्छ । या, यसलाई यसरी भनौँ, चिबेचराको एक हिसाबको पहिचान रहिआएको देखिन्छ । तपाइँले ‘देशप्रेमको प्रतीक’ ठान्नुभएको चिबेचरा को–को हुन् ? नेपालको राजनीतिक, सामाजिक, आर्थिक र प्राज्ञिक तहमा चिबेचराहरूको पहिचानको बहस किन आवश्यक देख्नुभयो ? 
देश कुनै जाति विशेष वा निश्चित माथिल्लो वर्गको मात्र होइन । यो देश सबैको हो । देशमाथि सबैको बराबरी हक छ, हुनुपर्छ । देशलाई प्रेम गर्ने हक पनि बराबरी छ । उत्पीडनमा परेका, पाखा पारिएका र पैतालामुनि थिचिएका सबै चिबेचरा हुन् । सबैले राष्ट्रिय चरा अर्थात् राष्ट्रिय पहिचान प्राप्त गर्नुपर्छ । चिबेचराले अस्तित्वका लागि संघर्ष गर्छ, गर्नुपर्छ । मैले कवितामा सबै प्वाँख दिनसक्छु भनेको छु । चराले लड्ने प्वाँखको धारले पनि हो । उसँग प्वाँख त हुन्छ, अरु के हुन्छ र ? कि त चुच्चोले ठुँग्नु पर्यो । मानिसले गर्न सक्ने कुरालाई मैले यसरी लेखेको हुँ ।

जङ्गबहादुर राणाको वि.सं. १९१० को मुलुकी ऐनले माथिल्लो, तल्लो, मासिन्या र नमासिन्या आदि भनेर मानिसको वर्गीकरण गरेको थियो र त्यही अनुसार नेपाली समाजको मूल्य, मान्यता र संस्कृति निर्माण भएको छ । यो के हो ? के यो सही छ ? किन कोही मानिस तल र कोही माथि पर्यो ? कुन लहडमा भयो ? यो के अहिले कायम छैन ? यी सबै प्रश्नको उत्तर खोज्न पहिचानको बहस भएको हो । मैले भन्नु पर्दा अघिकै कुरा दोहोर्याउनु पर्छ । नेपालको सम्पत्ति भन्नु नै विविध भाषा, संस्कृति र सभ्यता हुन् । त्यसलाई बचाउन राज्यसत्ता उदासिन देखिएकोले, अझ भनौं उपेक्षा नै गरेकोले पहिचानको बहस चाहिएको हो । डाँफेचरा, मयूर र कोइली मात्र होइन यहाँ विविध चराको बसोबास छ, त्यसमध्ये चिबेचरा पनि हो । चिबेचरा सामूहिक स्वर हो भन्ने मलाई लाग्छ । यसको बहस, यसको आवाज सकिएको छैन । 

मलाई लाग्दछ, ‘पहिचान, संघीयता र विकास कसरी अन्तरसम्बन्धित छन् ? र, राजनीतिक समावेशीकरणका लागि पहिचानको कुन परिभाषालाई अवलम्बन गर्ने ?’ लगायतका प्रश्नहरू अझै पनि उत्तरबिहिन अवस्थामा नै छन् । मैले तपाईंलाई यो आरोप लगाएको होइन (म गलत भए मलाई सच्चाउनुहोला) तर, हामीकहाँ पहिचानको बहस कतै जातीय/समुदाय, भाषिक, सांस्कृतिक, भौगोलिक/क्षेत्रगत निरन्तरता एवं ऐतिहासिक निरन्तरता’मा मात्र सीमित त छैन ? चिबेचराहरूको पहिचानको वास्तविक सम्बोधन कसरी सम्भव छ ? 
पहिचानको कुरा नै जातिय, समूदाय, सांस्कृतिक, भौगोलिक/क्षेत्रगत नै हुन्छ । नत्र, के को पहिचान ? हामी हिमाली प्रदेशमा जाँदा के देख्छौँ ? त्यहाँको अग्र्यानिक, मौलिक संस्कृतिले हामीलाई तान्छ । तराई/मधेसमा के छ ? थारुकोमा के छ ? ती जहाँ छन्, जसरी छन्, त्यहीँ नै ठीक छन् । सबै एक हौँ भन्यो भने त्यो 'होमोजेनाइजेसन' हुन्छ । अर्काे संस्कृतिप्रतिको धावा हुन्छ । मौलिकता र हजारौं वर्षको सभ्यता मर्छ । राज्यसत्तामा एउटै जातिको मात्र हालीमुहाली हुँदा उसले आफ्नो भाषा, संस्कृतिलाई मात्र प्रमुखतामा राख्यो । त्यसकारण समावेशी हुनुपर्यो । खासमा अरुको भाषा, संस्कृतिलाई सम्मान गर्न जान्नु पर्यो । यो चाहिँदैन, यही ठीक छ भन्यो भने त अरुका लागि बाटो छेकियो नि ।

तथ्याङ्कको कुरा त धेरै नगरौँ । कति जना अन्य जाति सरकार, कर्मचारीतन्त्र र संसदमा छन्, गने भइहाल्यो । त्यो किन र कसरी भयो भन्ने पनि बुझ्नु पर्यो । त्यसकारण यो यस्तो हो, यो हुनुपर्छ भन्दा पनि वास्तविक कुरा के हो, इतिहास के हो बुझ्नपर्छ । विर्ता कसलाई दिइन्थ्यो, जागिर कसले गर्न पाउँथे, पढ्न कसले पाउँथे, कुन भाषामा पढाई हुन्छ, सरकारी कामकाजी भाषा के छ , सरकारले कुन चाडमा बढी बिदा दिन्छ, कसले कुन काम गर्न पाउँछ आदि कुराको विश्लेषण गरेपछि मात्र हामी पहिचान के हो, चिबेचरा किन बोल्नुपर्छ थाहा पाउन सक्छौँ । यहीँ नेर पहिचान, संघीयता र विकास कसरी अन्तरसम्बन्धित छन् भन्ने पनि थाहा पाइन्छ ।

चिबेचरालाई ‘राष्ट्रिय चरा’ बनाउनुपूर्व डाँफे/मयुर/चखेवाहरूको कथित ‘राष्ट्रभक्ति/माधुर्यता/सुन्दरता’सँग कसरी–कसरी ठोक्किनुभयो ? ती ठोक्काईहरूसँग ‘पहिचानको बहस’ भए होलान्, चिबेचराको पहिचानलाई राज्य पुनर्संरचनाको मूल आधार बनाउन उनीहरू कत्तिको तयार भेट्नुभयो ? कि, उनीहरू अझै पनि ‘काग भन्दा कोइली नै बाठो’ भनिरहेका छन् ? यसप्रकारका बठ्याईले ‘चिबेचरा’हरूको संवैधानिक/संघीय प्रतिनिधित्वमा कस्तो असर पारिरहेछ या पार्ने देख्नुहुन्छ ? 
संसारमा माधुर्यता र सुन्दरताकै कुरा हुन्छ, त्यसको निश्चित परिभाषा बनाइएको छ । संसार तिनैलाई महान् भन्दै बाँकीलाई काम नलाग्ने, नचाहिने भनेर तिरस्कार गरिन्छ, हेयको भावनाले हेरिन्छ । अब नयाँ भन्नु, नयाँ गर्नु भनेको छुटेका कुरालाई, आवाजलाई समेट्नु हो । जो डाडुपन्यू लिएर बसेका छन्, ती यो कुरा मान्न तयार भइदिएको भए प्रश्न उठ्ने नै थिएन । चिबेचराको आवाज होइन मासु खान ती लालायित छन् । हे, हाहा..... यस्ताको कुरा सुनेर पनि कहीँ देश उभो लाग्छ भन्ने भाष्य निर्माण गरेका छन्, त्यही रटाइरहेका छन् । मानिसले मानिसको सम्मान गर्नुपर्छ भन्ने सामान्य मान्यतालाई समेत खारेज गरेका छन् । बढोत्तरी भइरहेको अन्तर्जातिय प्रेमको हत्या, तिरस्कारले पनि यो कति विकराल छ भन्ने देखाउँछ । कुनै अर्कै जातिको मानिस देख्यो भने नाक खुम्च्याउने प्रवृति तपाईं हामीले भोगेकै छौँ, अझ गरेकै छौँ । राज्य पुनर्संरचनामा चिबेचराको आवाज सजिलै दर्ज हुन कठीन छ । 

साहित्यलाई उत्ताउलो तुक्का र स्वैरकल्पनामा पौडी खेलाउन चाहनेहरूलाई तपाइँले ‘पागल प्रलाप’ भन्नुभएको छ । सामाजिक यथार्थवाद नै ‘साहित्यको नियमितता’ हो भन्न खोज्नुभएको ? 
मानिस र समाजबिना साहित्यको कल्पना गर्न सकिन्न । म सामाजिक यथार्थवाद नै भनेर वादको कुरामा अल्मलिन्न, अलमलिन चाहन्न । तर, साहित्यमा मानिस र समाज त हुनुपर्यो नि । कल्पना गर्ने भन्दैमा मार्भलका मुभीजस्ता अभौतिक जीवको कल्पना कसरी लेख्न सकिन्छ ? त्यसले मानिसलाई कता डोर्याउँछ ? हाम्रो खुट्टा कहाँ टेकिन्छ ? केही समय मानिस खास गरी युवा त्यसमा आकर्षित होलान् । तर, टेक्ने धरातल नभएको साहित्य हावादारी नै हुन्छ । हावादारी कुरामा सम्वेदना हुँदैन, मानिसलाई छुँदैन, छोएपनि त्यो दीर्घकालीन हुँदैन । त्यसले समाज, वर्तमान र इतिहासको भार बहन गर्न सक्दैन । विश्व साहित्यमा नै हेरौँ न, गम्भीर साहित्य मात्र जीवित छन्, मानिसले त्यसलाई समाज र इतिहासको पुँजी मानेका छन् । 

अलिक रमाइला कुरा गर्छु, ‘कविहरू मिहिनेती छन् । कविता पढ्छन् । छलफल गर्छन् । तर आफ्नै सर्कलका’ अरे । आजभोली यस्तो सुन्न पाइन्छ । लोकतान्त्रिक देशमा ‘कविहरूको पञ्चायत’को कुरा नि ।  तपाइँको अनुभव कस्तो छ ? नेपाली कविताको संख्यात्मक भण्डार मात्रै बढाउने यस्ता कामहरूलाई तपाइँ कसरी हेर्नुहुन्छ ?  
कविता गम्भीर कुरा हो, यसमा अध्ययन र साधना, विचार र कला सबैको सम्मिश्रण हुनुपर्छ । त्यसकारण यसमा आफ्ना साथीबीच कुरा हुनु, छलफल हुनुलाई सकारात्मक नै लिनुपर्छ । बस्, कसैलाई निषेध गर्न, आफूलाई अब्बल साबित गर्न यस्ता कुरा भएका छन् भने त्यो गलत नै छ । यस्तो पञ्चायतमा चाहिँ म छैन । कतै आफ्ना साथीसँग चिया पिउँदा, गफिँदा त्यस्तो देखिएको हुन सक्छ । तर, मैले देखेसम्म, भ्याएसम्म सबैको कविता पढ्छु । राम्रो लाग्यो भने त कपि नै गरेर राख्छु । त्यस्ता कविता मसँग निकै छन् । कविताको भण्डार भर्ने प्रवृति मलाई ठीक लाग्दैन । तर, निरन्तर साधना र अध्ययन अहिलेको आवश्यकता हो । त्यसले नै हामीलाई अग्रजभन्दा अगाडि र नयाँपन दिलाउन सक्छ । मेरो प्रयास त्यता केन्द्रीत छ, प्रयत्न गरिरहेको छु । नयाँपनसहित अहिलेको समाज बोलेन भने त्यस्तो कविताले संख्या मात्र बढाउँछ । 

राजनीतिक झुकावका दृष्टिले माक्र्सवादी रहेकाहरू साहित्यिक भाषामा आफूलाई ‘प्रगतिशील’ भन्छन् क्यार । उनीहरू आफूलाई ‘उदारवादी बौद्धिक’ हूँ पनि भन्दा रछन् । शब्दको के कुरा भयो र ? विचारले छ/छैनन् अलग कुरा भयो तर, तिनै ‘उदारवादी बौद्धिक’हरू आज कविहरू ‘आँसु लेख्छन्’ भन्दैछन् । उनीहरू सहि छन् ? आज हामी के लेखिरहेका छौं, के छुटाइरहेका छौं ? आजको कविता भोलि ‘अकविता’ ठहरिने स्थिति कत्तिको देख्नुहुन्छ ? 
कसले ‘उदारवादी बौद्धिक’ भन्यो थाहा भएन । भ्रम नहोस्– माक्र्सवादलाई म वादका रूपमा बुझ्दिन । समाज कसरी बुझ्ने, कसरी पढ्ने भनेर कार्ल माक्र्सले आफ्नो धारणा, अध्ययन राखे । त्यो सही हो कि होइन समाजमा खोज्ने हो, कार्ल माक्र्सको अनुहार, दाह्रीजुङ्गामा खोज्ने होइन ।

जहाँ सम्म आजको कविताको प्रश्न छ ती भोलि अकविता ठहरिने जोखिम चाहिँ छ । त्यसैले कविता के हो त्यसतर्फ केन्द्रीत हुनुपर्यो कविताको रिराइट होइन, नयाँ खोजी हुनुपर्यो । म आफूलाई त्यता केन्द्रीत गर्छु । मेरो नै कुरा गर्नुहुन्छ भने मैले कवितामा विविधता हुनुपर्छ भन्ने ठान्छु । हो, आन्दोलनका कविता पनि लेखेको छु । तर, मैले तुइनमा उल्टो झुण्डिएको छात्राको कुरा ल्याएको छु, चेपाङ र थारुको आवाज ल्याएको छु, साना मानिसका कुरा ल्याएको छु । विविध बिम्बको खोजी गरेको छु । लेख्नु पर्ने कुरा धेरै छन् किनकि हाम्रो समाजको आयाम नै विशाल छ । यिनै कुरा कवितामा छुटेका छन् । 

आँसु लेख्न हुँदैन भन्ने होइन । मानिसको पीडालाई कलात्मक तरिकाले अभिव्यक्त गर्न सकिन्छ । आखिर मानिको पीडा आँसुमै व्यक्त हुन्छ । प्रगतिशील भन्ने हामीहरू त्यसको कार्यकारणसम्म जान खोज्छौँ । कारण के हो र के हुनुपर्छ भन्ने तहसम्म सोच्छौँ । यसलाई वाद, विचार जे भने पनि भयो । वाद र विचार त समाजबाट नै बन्ने हो । आफैँ बन्ने होइन । समाजवादी यथार्थवादलाई वाद भनेर गाली गर्ने साहित्यकार नै आज सत्ताको विरोधमा, प्रधानमन्त्रीको नालायकीमा आन्दोलन कविता लेखिरहेका छन् । यो किन भयो भने उनीहरू पनि मानिसको पीडा, दुःख र समाजबाट अलग छैनन् । हामीले यही त लेखिरहेका छौँ । यही त भनिरहेका छौँ ।

अनुहारै छोपिने जस्तो, अनुहार नै अर्कै हुने रङको थुप्रोजस्तो कला पुगेन होला, तर केही कला त छ नै । दुःखी मानिसको चित्र कला हुने, हामीले त्यही लेख्दा किन कला हुँदैन ? बिम्ब पनि प्रयोग गरिरहेकै छौँ, एउटा चित्र पनि कवितामा खिचेकै छौँ । उहाँहरूको कविता पनि त हामी पढिरहेका छौँ, लयालु बनाउनु भो होला, तर कुरा त उही त लेखिरहनु भएको छ । तर, समाजलाई यथास्थिति, पश्चगमनतिर होइन, अग्रगमन, सम्पूर्ण मानव जातिको खुसी, सुखको लागि रचना हुनुपर्छ । जस्तो आमा सूर्यजस्तै मायालु छिन्, घरको काम गर्छिन, दयावान् देवी हुन् भन्यो भने आमालाई कसरी बाहिरी संसार परिचित गराउने, कसरी संसार चिनाउने भन्ने कुरा त छुट्छ नि । आमाको भावना साहित्यकारले बुझ्नु पर्दैन, आमालाई आनन्द र खुसीको कुरा चाहिँदैन, आमालाई आराम चाहिँदैन ? यसरी पनि त साहित्यकारले सोच्नुप¥यो । त्यसो त अहिलेकी आमा पुरानो आमा होइनन्, बैंकका म्यानेजर, सरकारका अधिकृत, विद्यालयका शिक्षक पनि त छन् नि आमा । अब यसरी लेख्नु प¥यो भन्ने हाम्रो प्रयास हो । 
नेपाली कविताले विकासक्रममा कडा–कडा सेन्सरसिप पनि झेल्यो, राणा या राजाबाट या कुनै दलीय सरकारबाट । फेरि आजभोलि ‘पोलीटिकल करेक्टनेस’को कुरा चलिरहेको छ, ‘पुनर्विचार’ कुरा चलिरहेको छ । यी कुराहरूलाई सेन्सरसिप भन्न मिल्ने कि नमिल्ने भन्ने कुरा पनि होला तर, मलाई सोध्न मन लागेको–  जातिय, लैंगिक, धार्मिक बिम्बहरू उठान, विस्तार या प्रयोग तपाइँ कसरी गर्नुहुन्छ ? 
खासमा म कुनै कुरा मान्दिन । म त न्याय, समानता र मुक्तिको कुरा मान्छु । यही दृष्टिबाट जातिय, लैंगिक  र धार्मिक बिम्ब लिन्छु । म आर्थिक र वर्गको कुरा प्रधानतामा राख्छु । यही प्रसङ्गमा जाति, लिङ्गका कुरालाई लिन्छु । आर्थिक अधिकार प्राप्त भएन भने कुनै पनि समानता, अधिकार प्राप्त हुन सक्दैन । धर्मको बिम्बलाई  थोरै मात्र लिन्छु जब समाजको कुरालाई व्यक्त गर्न त्यो सहायक हुन्छ । नत्र, त्यतिविधि मलाई रुची छैन । म धर्मभन्दा भौतिक यथार्थमा विश्वास छ । जे छ यही संसारभित्र छ, पराभौतिक कुरा छैन भन्ने मेरो मान्यता छ । मानिसले कुनै प्रसङ्गमा ती कुराको निर्माण ग¥यो, त्यही अनुसार नै चल्दै आएको छ । कथा, महाकथा र काल्पनिकतामा ती आधारित छन् । मनलाई शान्ति दिन सक्छन्, तर यथार्थबाट मुक्त गर्न सक्दैन । दैनिकीबाट पर लैजान सक्दैन भने त्यसको वास्तविकता नै के रह्यो र?

तपाइँकै शब्दमा  ‘खोलाको पानी जस्तै प्रवाहशील समाज छ ।’ मानिसको जीवन गतिशील छ, उसका विचार र मान्यताहरू पनि परिवर्तनशील छन् । आफैंले लेखेका कविताहरू ‘आफैंलाई मन नपरेको’ त्यस्तो कुनै घटना पनि छन् कि ? 
यस्ता त धेरै छन् । कुनै साथीले कविता मन पराइदिए पछि मात्र मलाई थाहा हुन्छ कि कविता राम्रो बनेछ । म कुनै मुद्दा, कुनै इश्युमा कविता लेख्छु । विषय केन्द्रीत पनि हुन्छ । कविताको भाषामा अन्तर्वस्तुमा पनि केही सोच्छु । कहिलेकाँही कलाको कुरामा, कहिलकाँही अन्तर्वस्तु र प्रस्तुतिकरणमा चित्त बुझ्दैन । कवितामा मेरो कुनै दाबी छैन । विविध प्रयास गरिरहेको छु । अझै लेख्न बाँकी छ जस्तो लाग्छ । 

‘लेखक बजारमा त पुग्यो तर लेखकभन्दा बजार बलियो हुन् पुग्यो ।’ के म सही छु ? लेखक आफ्नो अस्मिता/नैतिकतामा बाँच्न नसकेको कि बजार तानाशाही हुँदै गएको ?
बजार तानाशाही बन्दै गएको कुरा साँचो हो, यथार्थ हो । बजार अनुसार लेखक जान सक्दैन । बजार विज्ञापनले डोहो¥याउँछ । भन्छन् नि 'बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।' बजार बनिबनाउ हुन्छ, जो लेखकले बनाउन सक्दैन । जसले बनाउँछ त्यही चल्छ, त्यही बिक्छ । बजार प्रायोजित पनि हुन्छ, प्रायोजन गर्ने साहित्यकार चल्छ । बजार निरङ्कुश पनि हुन्छ, कसैलाई त उठ्न नपाई निमोठिदिन्छ । सिन्डिकेट अनुसार पनि बजार चलेको हुन्छ, अरुलाई प्रवेश निषेध हुन्छ । त्यसकारण, बजार र साहित्य फरक कुरा हुन् । जसले म साहित्यको असली पाठक भन्छ, उसले सबै कुराको विश्लेषण र अध्ययन गर्नुपर्छ । तर, के गर्नुहुन्छ ? अध्येता, साहित्यका ज्ञाता भनेका पनि बजारसँगै कुँदेका हुन्छन् । कागले कान लग्यो भन्ने स्टाइलमा । वा, वा...हा हा... को स्टाइलमा । राम्रो, असलको पछि होइन । असल साहित्यकारले आफ्नो प्रयास जारी राख्ने हो, बजार मात्र हेर्ने होइन । बजारले त साहित्यलाई किन्छ, खान्छ र सकिदिन्छ । 

स्थानीय चिया पसलमा छिरेर चिया खान मन लाग्छ । ४/५ दिनदेखि डढेको  चियापतिको स्वाद मनपर्ने, दुई चार कप नै खाएर निस्किन्छु । ‘च्या खादा देश हाक्ने कुरा गर्छन् । घर पुगेर खा’को थाल नि माझ्दैनन्’ साहुनीहरू भनिरहेका हुन्छन् । पपुलर टपिकहरू– ‘नारीवाद, दलित, सीमान्तकृत, आतंकवाद, रोबर्ट– एआई’बारे टेबलटक्सहरू त भएको भयै छ नि । तर, यी बहसहरूले ‘थाल माझिरहेका छैनन् कि जस्तो लाग्ने के ।’ तपाइँ कत्तिको चिया खानुहुन्छ सर ? हेहे..
म व्यक्तिगत बढाइचढाइ गर्न नरुचाउने मानिस हुँ कि भन्ने मेरो आफैँभित्रको दाबी, अनुमान छ । मलाई लाज लाग्छ यस्तो कुरा गर्नु पर्दा । तर, व्यक्तिगत महागाथा नै यहाँ चलेका छन्, कान पाक्ने गरी सुन्नुपर्छ कि म महान् व्यक्तिबाट दिक्षित भइरहेको छु । पट्यार लागे पनि उसको आत्माश्लाघा सुनिदिनु पर्छ । झिँझो लागेको देखाउन मिलेन । भन्नुको मतलब व्यवहारमा देखाउनुपर्छ भन्ने नै हो, कुराले, गाथाले, कहानी भनेर यो चल्दैन । म तपाईंले उठाएको कुरा सबै टेबलटक्समा होइन, व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता राख्छु । यो कुरा मेरा साथीले, घरका मानिसले भन्ने कुरा हुन् । मैले नै बक्न पर्छ भन्ने लाग्दैन । अझै पनि मलाई भन्न गाह्रो भइरहेको छ कि म ठीक हुन प्रयास गर्ने मानिस हुँ । मलाई कुनै काम गर्दा लाज लाग्दैन । मैले आफूलाई त्यसरी विकास गरेको छु । बहस मात्र त ढोँग हुन्छ । साहित्यकार ढोँगी हुन सक्दैन । कविता त हृदयमा गढेपछि लेख्ने हो । हृदयका कुरा व्यवहारमा आउँछ नै, आउनुपर्छ ।  म चिया खान्छु र यस्तो होस् सबैतिर कि चियाको गिलास आफैँले माझ्नु परोस् । 

कला–साहित्यले वर्गीय स्वरूपको प्रतिनिधित्व गर्दछ, गर्नुपर्दछ। यस हिसाबले तपाईँले रुचाउनुभएको कवि, लेखक या कलाकार या पुस्तक?
मलाई नेपालका अग्रज र समाकालीन कवि, लेखक निकै मनपर्छ । म तिनका कविता, निबन्ध, लेख दोहो¥याएर पढ्छु । अहिले लेख्दै गरेका कवि जो आफूलाई नयाँ मान्नुहुन्छ, तिनले पनि मलाई आकर्षित गरेका छन् । लिस्ट नै बनाउने हो भने गोपालप्रसाद रिमाल, भूपी शेरचन, वैरागी काँइला, विमल निभा हुँदै लामो लिस्ट बन्न जान्छ । तिनकै कृति मलाई मनपर्छ । 
मैले त सक्काएँ, तपाइँको पो केही प्रश्नहरू छन् कि  ?
यति राम्रा प्रश्न सोध्नु भो । तपाईंलाई धन्यवाद । यिनै प्रश्न तपाईंलाई सोध्यो भने के उत्तर आउला, त्यो सोचिरहेको छु । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार