एउटा आह्लादित क्रन्दन
जुन क्रन्दन सुनेर
सायद आमाहरू मुस्कुराउने गर्छन् ,
त्यही क्रन्दन व्याप्त गर्दै
म जन्मिएँ-
आमाको आँचलमा लपेटिएर
यो दुनियाँको न्यानो ओढेँ-
बाबाको पाखुरामा झुन्डिएर
मैले जिन्दगीको पिङ खेलेँ-
बेहिसाब हाँसिदिएँ ,
मनलाग्दो बाँचिदिएँ-
दुनियाँको नजरमा
म जन्मिएँ-
समयको प्वाँख पलायो
बालापन भुरुरु उडेर गयो।
समय सँगै जीवनको रथ हाँक्ने चुनौती आयो
र आयो
देश र समाजको लागि काँध थाप्ने दिन।
म कमजोर छु कि,
म कमजोर बनाइएकी छु?
समाजको ठेक्का लिएकाहरूले लिङ्गलाई मापनको आधार बनाइ
बौद्धिकताको ठप्पा लगाउँदा रहेछन्
आफू अनुकूल
समाज र देशको व्याख्या गर्दा रहेछन्-
नारीहरूको अपव्याख्या गरिँदो रहेछ
यो अर्थमा सायद मैले अब फेरि फेरी जन्म लिइरहनु पर्नेछ
नयाँ नयाँ अवतारमा ।
यही पथमा कि
कसैले सीमित गरेको हाम्रो हक,
खोसेर लिऊँ
म जस्तैहरूलाई सशक्त बनाऊँ
यही आस्था र आत्माको आवाज
बोकेर म हिँडिरहूँ
हजारौँ माइलको हाम्रो स्वतन्त्रता र मुक्तिको यात्रा
हो मलाई फेरि फेरी जन्मिरहनु छ,
पुनः आफ्नो अस्तित्वको सेलिब्रेसन गरिरहनु छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...