'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ५१
'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ५१
कवि असीम सागरको कविता– 'कविलाई कालीगण्डकीको चिठी’
यो देशको आदिम सभ्यता बोकेर
युगौंदेखि तेरो सुक्खा आँत भिजाउँदै आएको
म कालीगण्डकी हुँ
म जहाँ बग्छु, त्यही मेरो देश हो
ए कवि !
यो देशका हजारौँ कविले बनाए
मेरो मौनतालाई आफ्ना कवितामा प्रतीक
मेरो बाटोलाई आफ्ना कवितामा बिम्ब
मेरो अस्तित्वलाई आफ्ना कवितामा विचार
मेरो सभ्यतालाई आफ्ना कवितामा भाव
र, पहाडबाट खसेको मेरो आकृतिलाई
भौगोलिक स्व?प र सौन्दर्यलाई
'कुनै सुन्दर युवकले भिरेको गलबन्दी' भनेर लेखे
'भुइँमा लत्रिएको कुनै सुन्दर युवतीको पछ्यौरा' भनेर लेखे
तर लेखेनन् मेरो अस्वित्वमाथिको प्रहार
के म कालीगण्डकी
तिम्रो कविताको बिम्ब र प्रतीक मात्र हुँ ?
के मेरो सुस्केरा फगत कुनै जँड्याहाको हल्ला हो ?
खोइ मेरो मौनताबाट तिमीहरू मौन बस्न सिकेको ?
खोइ मेरो शिरको हिमालबाट तिमीहरू हाँस्न सिकेको ?
खोइ पिँधमा छर्लंग देखिने ढुंगाझैं सङ्लो हुन जानेको ?
खोइ मेरो गति देखेर अविश्राम यात्रा गरेको ?
किन लेखेनौ म अपहरण हुनुअघि मेरो कविता ?
मौनता मेरो स्वभाव हो, सहानुभूति होइन
आफैँ उज्यालो पोखेर आकाशबाट
मेरो निश्छल देहमा ऐना हेर्छन् घाम, जून र ताराहरू
मेरो सुस्केरालाई संगीत मानेर गाउँछन्, नाच्छन् चराहरू
मेरै कोखको जल पिएर बाँचेका भुसुना मान्छेहरू
मेरो गर्तबाट गिटी बालुवाका हाडमासु झिकेर
मेरै बाटो छेक्नेगरी घर, मन्दिर र मस्जिद बनाउँछन्
म कहाँ हिँडूँ ?
कुन बाटो भएर पुगूँ म समुद्र ?
बगाउनु मेरो बाध्यता हो, रहर होइन
आफ्नो काव्यशिल्पद्वारा मेरो सौन्दर्य लेख्ने
संसारका प्रत्येक जीवजन्तु र सृष्टिको भाषा बुझ्ने
ए मेरो प्रिय कवि !
क्रोधले म सुनामी हुनुअघि
र निर्धाहरू सुकुम्बासी बन्नुअघि
मेरो सौन्दर्य होइन मभित्रको ज्वाला लेख
मेरो मौनता होइन म दुखेको गीत लेख
मेरो सुस्केरा होइन म रोएको साँझ लेख
मेरो सभ्यता होइन समुद्र पुग्ने मेरो सपना लेख
र, सुनाऊ मलाई चिथोर्ने बहुराष्ट्रिय कम्पनीका टाईहरूलाई
विद्रोह गर्न मलाई पनि आउँछ ।
–उही तिम्रो कालीगण्डकी
अर्घाखाँची, हालः काठमाडौँ
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...