इँगिहोपो कोँइच सुनुवार रंगकर्मी तथा कवि हुन् ।
ऊ,
पहिले छिमेक भएर आयो
र कोइला सोध्यो
अनि आगो लिएर गयो ।
कहिले बटुवा भएर आयो
र ‘तिर्खा लाग्यो’, भन्यो
मैले ‘ऊ... त्यता छ जरुवा’ भनेर देखाएँ ।
‘यो अब मेरै भो’, भनेर उफ्रियो ।
फेरि पाहुना भएर आयो
र ‘अन्न छैन, खेत कमाउँछु’ भनी
पछि आफ्नै नाममा लालपुर्जा छपायो ।
उसैगरी मीत भएर आयो
र ‘मीतज्यू हजुर ! मीतज्यू हजुर !’ भनी
विश्वास आफ्नो बनायो ।
त्यसपछि
मुक्तिदाता बनी साथ माग्यो – आवाज लग्यो
सपना बनी छाप माग्यो – छाती लग्यो
आँसु बनी हेराई माग्यो – दृष्टि लग्यो
केही छोडेन
सबै लिएर गयो ।
फेरि अहिले भर्खरै
जोगी भएर आएको छ
अब के लाने हो ?
– इँगिहोपो कोँइच सुनुवार
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...