कचुर
-सुष्मा रानाहँमा
गर्नू बिजुवाको टुङ्गो
राख्नू घरमा चिन्ता
राखेर एक मुठी अछेता
हेराउनू जोखाना परदेशीको समेत ।
यारी तर्दै गर्दा रिसिया गाउँदै
ट्याम्के चढ्दै गर्दा सोध्नू नछुङलाई
खबर परदेशीको समेत ।
काट्दाकाट्दै कचुर
उल्टिनु पनि सक्छ
सुल्टिनु पनि सक्छ
बिन्ती छ
नरुनू विरह गालेर ।
चिण्डो र वाछेर
फुर्के र लिसो
चोखो होस् सङ्लो साप्सुजस्तै ।
घरि नै घरि
तकायोले र केन्छेरीहरुले जस्तै सुन्नू
नछुङको भाषा कान थापेर
तर, नरुनू विरह गालेर ।
फरक आउला पार्सल यो पालि सधैँभन्दा
उघार्नू बाकस
हटाउनू सेतो कपडा
र छोइदिनू अन्तिमपटक !
बुझाइदिनू नबुझेको मन
सम्हाल्नू आफुलाई
बिन्ती छ
नहान्नू सेहाँ
नखेद्नू सिकारी भनेर
बरु, लागिदिउँला बाटो आफैँ ।
...
वाछेर: पूजाका लागि बनाइएको चोखो जाँडको छोक्रा
तकायो: बिजुवाको साथी/सल्लाहकार
केन्छेरीहरु: बिजुवाका सहयोगीहरु
सेहाँ: भड्किएको आत्मा
कवितासङ्ग्रह 'आमाको तासफोटो'बाट
कवि सुष्मा रानाहँमा 'इतर आवाज साहित्य समाज, दक्षिण कोरिया'मा आबद्ध छिन् ।
चित्र: कृष्ण मर्सानी
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...