'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ५०
'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ५०
कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले ।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ । कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ ।
त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ ।
यस अन्तर्गत प्रस्तुत छ, कवि साम्ब ढकालको कविता– 'नदी भञ्जकहरूको नाममा’ ।
ए ! नदी भञ्जकहरू हो
तिमीहरूले सबैथोक सक्यौ सक्यौ
हुँदाहुँदा अब बाँकी भएको
नदी सभ्यता निचोर्न मन जाग्यो ?
हेरहेर तिम्रा पुर्खाका सभ्यता कहाँबाट सुरु भयो ?
बुझबुझ तिमी यहाँसम्म आइपुगेको
कुनकुन नदी तर्दै हो ?
हेर र बुझ— संस्कृतिका वाहक नदीहरूले
आदिम सभ्यताका अजस्र प्रवाह बोकेर हिँडिरहेछन्
परम्परा र हृदयका धुकधुकी नदीहरू
फोहोरभन्दा फोहोर बगाउने नदीहरू
बग्न त ओरालै बग्छन् नि नदीहरू
आफ्नो बाटो आफै बनाउँदै बनाउँदै बेगिएका नदीहरू
स्वच्छताका नाममा फोहोर बाँच्न अभिशप्त नदीहरू
बगेको बग्यै बगेको बग्यै सधैं बगिरहने नदीहरू
जबजब नदीबाट आरम्भ भएको नागर सभ्यतामाथि
सभ्यताले नै नदीलाई नदी हुन किन दिइरहेको छैन ?
नदीमाथि हुर्केको नदी सभ्यता बेमाख पार्दै
आज नदी भञ्जकहरूले विजयोत्सव मनाइरहेछन्
नदी भञ्जकहरूलाई एउटा यक्ष प्रश्न
के नदी सकिँदा तिमीहरूचाहिँ बाँच्छौं र ?
-हेटौंडा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...