भीमदर्शन रोक्का (वि.सं. १९८७-२०५९) नेपाली साहित्यमा मुक्तक बिधा भित्र्याउने कविका रूपमा परिचित एक साहित्यकार हुन्। उनलाई नेपाली मुक्तक लेखनका पिता पनि मानिन्छ।
नेपाली सांस्कृतिक मण्डल र इन्द्रेणी समूहको सदस्य रहेका भीमदर्शन रोका थोरै कविता लेखेर धेरै योगदान दिने कविमा पर्छन् । मुक्तक र मुक्त छन्दका प्रयोक्ताका रूपमा उनको योगदान नेपाली साहित्यको ईतिहासमा पढिंदै आएको छ । उनी देवकोटा, शङ्कर लामिछानेकालीन कवि थिए ।
बायाँबाट भीमदर्शन रोका, शंकर लामिछाने र भूपी शेरचनको अटोग्राफसहितको यस तस्वीर बेलाबेलामा चर्चामा आइरहन्छ।
रोकाबारे निबन्धकार शंकार लामिछानेले लेखेका छन्, "ऊ जातले मात्र मगर होइन, अनुहारले पनि, मिजासले पनि (माओत्सेतुङ्सँग खिचेको फोटोमा ऊ ठ्याम्मै भतिजा देखिन्छ।) । उसको अनुहार र त्यतिबेलाको व्यवहारअनुसार उसको हातमा कलमको सट्टा बन्दुक तथा बोलीको सट्टा गोली नै सुहाउने । परम्परागत सिपाही परिवारमा जन्मेर कविता जस्तो कोमल कला अपनाउनु र मास्टर जस्तो पेशाद्वारा जीविका चलाउनु नै उसको जीवनमा ठुलो क्रान्ति हो ।"
उनका कृतिहरू वि.सं. १९५३ बाट प्रकाशित भएको थियो । फुटकर कविता थुप्रै भए पनि उनको पुस्तकको रूपमा प्रकाशित कृति एउटा मात्र छ । ‘घाम डुबी तारा नउदाएको आकाश हुँ म’ गीत तथा कविता सङ्ग्रह उनको एक मात्र प्रकाशित कृति हो । यो सङ्ग्रह साझा प्रकाशनबाट वि. सं. २०५६ मा प्रकाशन भएको हो । यो सङ्ग्रहलाई माया वाटसनले अङ्ग्रेजीमा अनुवाद गरेकी छिन् । उनले लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू अङ्ग्रेजीमा अनुवाद समेत गरेका छन् । उनका केही फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित समेत भएका छन् ।
प्रस्तुत छ, कवि भीमदर्शन रोकाका तीन कविता :
१. एक्लै एक्लै उदास उदास छु म
एक्लै एक्लै उदास उदास छु म
घाम डुबी तारा नउदाएको आकाश हुँ म
हिजो जहाँ आई बसेथिन् तिनी
त्यही उजडिसकेको बास हुँ म
एक्लै एक्लै उदास उदास छु म ।
कोही नदी किनार हुँ म
सधैँ पर्खिरहने प्यार हुँ म
कतैदेखि टाढा भएपनि
कतैदेखि बिल्कुल पास छु म
एकलै एक्लै उदास उदास छु म ।
२. तिमिलाई देख्दा
सधैँ तिम्रै गीत गाउँछु
म सधैँ तिम्रै समीप आउँछु
तिमी टाढाबाट आइरहेकी अकेली
छेउमा पुगेपछि
मलाई चिनिसकेपछि
लहर बनछ्यौ
रुप–रङ्ग लिनछ्यौ
अनि समीपबाट तेजीले बगी जान्छ्यौ
तर केही टाढा पुगेपछि
किन दगुरी आएँ भनी
बिस्मातमा परेझैँ
पछिल्तिर फर्कने बहाना
खाजिरहेझैँ
तिमीलाई देख्दा लाग्दछ
जीवनभर तिम्रै किनार किनार
दगुरिरहुँ ।
३. समय सधैँ आइरहन्छ
वरिपरि छेउछाउबाट
सजिला र अप्ठयारा ठाउँहरुबाट
वन पाखा पहरा
र हलुका सुस्केराहरुबाट
आइरहन्छ
समय सधैँ आइरहन्छ ।
पानी पानीमा बगेर
पात पातमा मस्केर
ऋतुहरुको आगमन
र तिम्रो आवाजबाट
आइरहन्छ
समय सधैँ आइरहन्छ ।
केही भन्न छुन्छमलाई
केही बेर सुनिरहन्छ मलाई
मेरो श्वासमा लुटपुटिएर
मेरो क्षणहरुलाई लिएर
गइरहन्छ
समय सधैँ गइरहन्छ ।
मबाट उठेर
फैलिँदै माथि पुगेर
नीलो आकाश बनिरहन्छ
त्यही नै मेरो अतीत हुन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...