भित्ताको रङ मनपरेको छैन । पर्दा पनि खास छैन । बाहिर अध्यारै छ । अध्यारो मन परेको छैन ।
नजिकै पानीको गिलास छ । पानी छैन । अलि पर पानीको जार छ । पानी छैन । समग्रमा तिर्खा छैन मसँग यतिखेर ।
पानीको ? अहँ ।
उज्यालोको ? अहँ ।
पुराना फोटोहरू भित्ताभरि बनाएको छु । अतित अलिक पुराना कुराहरू हुन् । जुन बेलामौकामा नयाँ होइरहने चाह राख्छन् ।
नयाँ हुने बाहानामा वर्तमानको श्वास हर्ने यी अतीतहरू..
थोरै पिउछु भन्दै ठूलो गिलासको पींध रोज्ने जड्याहरू..
त्यहिँ सम्म त हो नि भनेर यहाँसम्म आइपुगेका गोरेटाहरू...
सबै..सबै...उही उस्तै विगतका कुराहरू हुन् । विगतसँग दिलको ज्यादा लसपस थियो क्यारे । वर्तमानसँग लसपस गर्न मन गरिरहेको मस्तिष्क यो कुरा यति सजिलै बुझ्न सकिरहेको छैन ।
बारबार मस्तिष्क रिसाइरहेछ । ....मस्तिष्क रिसाउँदा हृदय मुस्कुराइरहेछ ।
बाहिर निस्किए ।
मङ्सिरको स्वभाव - चिसो मन,..कठयाङ्ग्रिदो जाडो ।
मेरो हालत - बाक्लो जकेट - लुग लुग ।
सबै घरमै छन् । झ्याल भित्र उनीहरूको छायाँ गतिशील छ । चलिरहेछ । हल्लिरहेछ । खोकिरहेछ । खाइरहेछ । हाँसीरहेछ । ...सायद सुतिसकेको छरनिदाईसकेको छ । या....अरू नै केही.......।
म घर बाहिरै छु । धेरै घर बाहिर छु । धेरैको घर बाहिर छु ।  म चोकमा छु ।
घर भित्र पसेकाहरूले घर बाहिर बत्ति बालेका छन् । बत्ती बलिरहेका छन् ।
म एक-एक झ्याल हेर्दै छु..चुपचाप छु...लुग लुग छु ।
लुग लुग छु..हेर्दै छु..चुप चाप छु...लुग लुग छु ।
मेरो छायाँ एकपछि अर्को गर्दै देखिँदै छन् । हराउँदै छन् । देखिँदै छन्....र हराउँदै छन्....।
यो सम्भव छ ?
यतिखेर मेरो मनमा चलिरहेका सोचहरू,
मस्तिष्कभरि भरिएका तथाकथित विचारहरू,
यसै गरी भुइँभरि होउन् ? आ-आफ्ना लम्बाई र चौडाई निर्माण गरून् ?
खैर, सोच्नको लागि एउटा मस्तिष्क प्राप्त छैन । तर मलाई यतिखेर सोच्नु पनि छैन ।
हो, मलाई थाहा छ.. हृदयको स्वर कामेको छ । बोलिरहेको छ ।।
यो हावा यति चिसो किन छ ?
र, म यति तातो किन हुन् खोजिरहेछु ?
अनि यो रात यति अध्यारो किन छ यत्तिखेर ?
र, म यति उज्यालो किन खोजिरहेछु ?
अनि यो एकनास पनि, मेरै वरिपरी किन छ ?
र, म आफू भित्रकै दुनियाँसँग किन तर्सिएको छु ?
कोहि देखिएको छ पर...
आइपुगेको छ - म नजिक ।
बोलायो मलाई । - बोले म ।
सोधे उसलाई - बताएन उसले ।
हास्यो ऊ - हासिन म ।
गयो ऊ - पर्खीरहे म ।
बोलाए मैले- बोलेन ऊ ....
बोले म- सुनेन उसले...
कोही देखिएको छ पर'

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार