पुसको पारिलो घामले निद्रा बोलाउला जस्तो प्रेमिल स्पर्श गरिरहेको छ । मन अल्छ्याइँ पालेर छतमाथि पल्टन भन्दैछ । पुस्तकालयमा अटेसमटेस कोच्चिएर बसेका पुस्तकहरू फुकाउने जाँगर मरेको पनि एक महिना नाघिसक्यो । आफैँमाथि प्रश्नको स्पष्टीकरण चुलिँदै गएको छ । कहाँबाट भरिएको छ यतिका आलश्यका घेरा ? किन गाँजिरहेको छ मेरो पग्लँदो मनलाई अल्छ्याइँका रापतापहरूले ?
आफैँसँग निरुत्तरित हुनुको अर्को विकल्प थिएन ।
समाज कोलाहलको उखर्माउलो मच्चाउँदै थियो । केपी ओलीको विरुद्ध भीम रावलले उम्मेद्वारी दिए । उता गगन थापा र विश्वप्रकाश शर्माको विजयले सामाजिक सञ्जालमा दुन्दुभी मच्चिएको थियो । राजेन्द्र लिड्देनको भाषणले गणतन्त्रवादीहरू बुख्याँचामा रूपान्तिरित बन्दै थिए तर म मुक र प्रतिक्रियाबिहीन बन्ने प्रयासमा थिएँ । मलाई यी सब कोलाहलभन्दा छतको प्रेमिल घमाइलो स्पर्श नै प्रिय थियो ।
एउटा मामा त छ नि भिडमा मिसिएर हराइदिऊँ र उस्तै विन्दावादका मुस्लाहरू ओकलिदिऊ जहाँ देश र दुनियाँ उस्तै बान्ताको दुर्गन्धमा लटपटिऊन् जसरी लठ्याएका छन् ओली र गगनहरूले । उस्तै लठ्याएका छन् प्रचण्ड र माधवहरूले ।
तर म अर्को कोल्टे फेर्दै बिचारका पिड मच्चाउँदैछु चचहुई.....चचहुई.......
केही वर्षअघि ओथारो बसेका उपन्यासका पात्रहरूले पत्याउनै छोडिसके कि मैले तिनीहरूमाथि न्याय गर्न सकिन । उनीहरूका सन्दर्भमा कोरिएका अपूर्ण आकृतिले बारम्बार झस्काइरहने एकान्त र शून्यताले चस्काइरहने अधमरो सुख, दुःखले घामको प्रिय स्पर्श पनि मधौरु बनाइरहेको छ । विश्वामित्रले बाँध्न नसकेको मनको तरेली फेरि फुत्किएर सामाजिक सञ्जालमा टाँसिन्छ र त्यहाँ बर्बराइरहने वर्तमानले चिमोट्छ बेस्करी –शेखर कोइरालाको हार........भीम रावलले पद अश्विकार ..........नगर पालिकाको टावर निर्माणमा भ्रष्टाचार..........
उस्तै उस्तै विकृत मनोदशामा पाजिन्छन होचा विचारका कदहरू । रुग्ण मनोदशामा खेलिरहेका छन् असन्तुष्ट,मनोविकार विरेचनका छिटाहरू ।
हराउन्न त्यस्ता उल्टी गराइका दुर्गन्धहरूमा– मन कसिनै खोज्छ यदाकदा तर सकसक मान्छन् मष्तिष्क र चल्न खोज्छन् औलाहरू कहिले किबोर्ड त कहिले ..अक्षरका आकृति च्याप्ने तिर्खामा ।
अक्षरका जामा फेर्न खोज्ने पुरानो कृष्णाको सपना पूरा गर्न सकेको छैन । घुसेल्ना जस्तै मैलिएको दराजका अन्तरवाट समय पर्खिरहेजस्तो टिठलाग्दो हेराइ लाग्छ बिचरीको । महाभारत युद्धको त्रासद भोगेकी कृष्णालाई मैले गरेको हल्का पुनरुत्थानले आफैँलाई गिज्याइरहेकै त छैन ? घामको रापमा पल्टिँदै अर्को विचारको रेखो उब्जिन्छ मेरो सेरोफेरोमा । म अन्यमनस्क समाचारको खलाँती लगाउँछु किनकि कृष्णा उपरको न्यायहीनताको पश्चातापबाट एकछिन भाग्नु पनि छ । किन यस्तरी आफैँलाई भत्काउँदै र चोइटो निकाल्दै गरिरहेको छु कुन्नी आफैँलाई ? अब त बुझ्न पनि मन मरेर आइसकेको छ ।
हजुर आमाले उखान हाल्नुहुन्थ्याे – नहुने बेलामा नातिदेखि मारिआउँछ । हो रहेछ कि क्या देशको वर्तमान मर्नु भनेको नाति होइन ऊभन्दा अझै सातपुस्ता तलबाट कुहिन थाल्नु हो । भविष्य त पसिसक्यो ब्लयाक पोलिटिक्सको शून्यब्रह्मामा अर्थात् दुर्गन्धको ब्याकहाेलमा ।
कहाँनेर आएर अड्किएको छु । कहाँनेर आएर विभ्रममा छु । आफैँले भन्न सक्दिन यो दूरावस्थालाई अनि सम्झन्छु आमाको आँगनमा पर्गेलिएका पिताम्बर, हेमा, राना र अरू अरू.......... ।
माथिको आकाशतिर फर्कन्छु, देख्छु आनन्दले कावा खाइरहेका स्वतन्त्र पंक्षीहरू जो गिज्याइरहन्छन् मलाई हरपल घामको सुनौला किरणभन्दा माथिको पँहुच देखाएर । अनि म आमाको आँगन महकाव्यको पीताम्बर बनेर पर्खिरहन्छु देउराली भञ्ज्याङ चौतारीका किनारै किनार ।
मेरी आमा र आमाहरू थलिएर घर बाहिर निस्कन सकेका छैनन् । थिल्थिएर बेहिसाब बिमारको यातनामा छन् । सपना देखाइदेखाइ मार्न लागेका हाम्रा भविष्यका बिहानीमा उम्रिरहन्छन् ढुसी – ठस ठस गन्हाउने ।
म पीताम्बर पिल्सिरहन्छु पल प्रतिपल देश दुखेको कहर खपेर बाँच्ने अभ्यासको यातनामा र पुसको घाम फेरि बादलको चौघेरामा मदौरु हाँसो फ्याँकिरहन्छ – फिस्स ।
बग्रेल्ती टुटेफुटेकाका बन्दाबन्दी कविताहरू डायरीका भत्कँदै गरेका पानामै सुक्न लागेका छन् । मोबाइलका नोटप्याडमा अल्छी जाँगर कुदेर उब्जेका कवितात्मक बान्की पनि खिइन थालेकाले मन मर्दै पलाउँदै गरेका छन् ।
नानीहरूको गलामा लय र ओठमा सङ्गीत, दिलमा खुसी भर्नकै लागि तयार बाल काव्यको बिटो कस्ने रहर पनि पुसको घाम झै मुर्झाउँदै छ । शब्दहरू अलिनाउँदै छन् र म छु – पुसको पारिलो घाममा कोल्टे फेर्दै आङ्ग तन्काउँदैछु । मेरो आलस्यको सिमा सकिँदै जान्छ र आजको शनिबार निख्रदै जान्छ ।
आहा ! पुसको पारिलो घाम, छतको न्यानो मिठासमा आँखा चिम्लेर कल्पिनु र कल्पिरहनु नै जीवनको स्वप्निल आनन्द लागिरहन्छ । के गर्नु र पुसको घाम जस्तै छिट्टै ओइलिँदै गैरहेको छ समय ,चिप्लँदैचिप्लँदै ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...