'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ४८

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ । कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ । 

यस अन्तर्गत प्रस्तुत छ, कवि राजेन्द्र तारकिणीको कविता– 'अपहृत कालीगण्डकीको लय’ । 

नाघेर संसारकै अग्ला हिमालयहरू
बनाई संसारकै गहिरा गल्छीहरू
काटेर व्यवधानका चट्टानी पहाडहरू
कसैलाई नबिझाईरनगिज्याई
कलकल बगिरह्यो 
छलछल झरिरह्यो 
पवित्र कालीगण्डकी !

दुनियाँमा कतै कहिल्यै
कसैले शंका गरेन उसको पवित्रतामा
अटुट आस्था र विश्वास 
सनातन प्रेमको सलामी
धुप र बातीको सौगात
सजाएर छातीमा बगिरह्यो– आफ्नै धुनमा !

कालो भए पनि पुज्य शालिग्राम
बिहानबिहानै स्पर्श गर्न आउने भक्तजन
शंख–घन्टले गुञ्जायमान घाटहरूरदेवस्थलहरू
हेर्नुहोस् त–
एक अनमोल खजानाको बहाव 
जीवन्त उर्लिरहेको कालीगण्डकी 
जीवन–मृत्युको साक्षी कालीगण्डकी 
दिइरहेछ जीवितलाई जीवन–गीत
मृतकलाई शान्तिको कोख !

तर आज,
तमाम आक्रमणको चपेटामा परेर 
अपहृत भएको छ कालीगण्डकीको लय
भाँचिँदो छ उसको प्राकृतिक मेरुदण्ड
मासिँदो छ त्यो अपार वैभवको खजाना 
लुटिँदो छ उसको छातीको सहस्र–धारा
अतिक्रमित छ उसको अस्मिता
मडारिरहेछ उसमाथिको आकाश– भयंकर मुद्रामा !

कालीगण्डकी 
जीवनबाहिनी नसा हो– राष्ट्रको
शिरा हो– राष्ट्रिय सभ्यताको
जो मासियो भने
मर्छ धरतीमा एक जीवन
कोमामा सुत्छ सभ्यता ।

कालीगण्डकी 
हिजो–आज अर्कै भइरहेको छ,
सायद ऊ अश्रुधारा बगिरहेछ....
ए ! मान्छे,
उसको कथा–व्यथा 
के तिम्रो आफ्नै कथा–व्यथा होइन ?
-काठमाडौँ

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार