'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ४७

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ । कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ । 

यस अन्तर्गत प्रस्तुत छ, कवि विमला तुम्खेवाको कविता– 'यो बगिरहेको खोलाको कथा हो’ । 

संघर्ष कस्तो हुन्छ 
चैतको चर्को घाममा बसिरहेको यो ढुंगा  
बर्खाको समय बग्दै आएका यी शिला
रातभरिको बगाइपछि 
बिहान स्थिर बगरमा आकार लिएर चुपचाप बसिरहेका
यी मसिना बालुवालाई हेरे हुन्छ । 

बग्दै आएका यी गिटीहरुले 
बग्ने क्रममा कति ठूलाठूला 
ढुंगाका प्रहार सहे होलान्
कहिलेकाहीँ सोचेर स्तब्ध हुन्छु
यिनीहरुबाट केही त मैले सिकिरहेको हुन्छु । 

सरकार स्टार होटलको गुप्त कोठाभित्र हुस्की डकार्छ
सोकल्ड अधिकारीकर्मीहरु
केवल ढुंगा, गिटी र माटोको थुप्रो देख्छन् कालीगण्डकीलाई
र, 
सेलिब्रेट गर्छन् ठेकेदारहरु टेन्डर परेकोमा । 

पुरानो निक्कै पुरानो हो मेरो पीडा
किन तिमीहरु एक साधारण घटनाक्रम देख्छौ
ममाथिको बर्बरतालाई !?
तिम्रा ती हजार दाउपेचप्रति
मलाई सबैसँग बेहद घृणा छ ।

म यो सृष्टिको एक त्यस्तो गति हुँ 
सम्झिराख मान्छे । 

निरन्तर बगिरहने मेरै गतिजस्तो
यो पृथ्वीको एक स्वतन्त्र गति हुँ 
यी परपरसम्म फैलिरहेका मेरा बगरजस्तै 
पहाड, तराई र कुइनेटाहरु नाघ्दै
बगिरहने मेरा आकांक्षाजस्तै 
यो अनन्तसम्म देखिने घामजस्तै
म एक अनिवार्य सत्य हुँ

माफ गर !
मजाकको पनि हद हुन्छ
म फर्किएर तिमीतिरै  उर्लिएँ भने
तिम्रो अस्तित्व समाप्त हुनेछ ।
-काठमाडौं

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार