कवि सन्जित फलाना पूर्व लिम्बुवानमा रहेर समसामयिक विकृति-विसंगति र सत्ताको गलत कदम विरुद्ध निरन्तर कलम चलाइरहेका स्रष्टा हुन् ।
हामीलाई दमन गर्न
शासकले के-के गर्छ ?
जस्तो कि तरिकाहरू सम्झौँ
शुरूमा गोप्य षड्यन्त्र बनाउँछ
अनि त्यसलाई वैधानिकता दिन्छ
त्यसपछि
सुकुम्बासी बस्तीमा पसेर
झुपडीहरू भत्काइदिन्छ
अनि भोक र शोकले थिलथिलो भएको
सुकुम्बासीहरूलाई पालमा ल्याउँछ
त्यतिले चित्त नबुझ्दो हो सायद उसलाई
पाल हटाएर फेरि फुटपाथमा ल्याउँछ
विकासको आधुनिक नारा लिएर
आदिवासीहरूको समाधीस्थल पुग्छ
र चिहानघारीमा डोजर चलाएर
विभेदकारि रङ्गशाला बनाउँछ
फास्ट्रयाकको डिजाइन बोकेर
खोकना~बुङमति पुग्छ
र पसिना र रगतले सभ्यता आर्जेको
आदिम जग्गा अतिक्रमण गर्छ
घरि पुर्खाहरूको स्मृतिमा
क्रेन बोकेर छिर्छ
र पानीजहाजको सपनामा
खुवालुङ फुटाउँछ
घरि मिथकको आक्रमण गर्न
मुक्कुमलुङ पहाड चढ्छ
र देवि देउतालाइ ढाँटेर
रातारात मुक्कुमलुङलाई पाथिभरा बनाउँछ
यसरी शासकले डर देखाउँछ
र हाम्रो मुख थुन्न खोज्छ
जब प्रतिकार गर्छौँ
उ हाम्रो निधारमाथि बन्दुक तेर्साउँछ
सायद शासक सोँच्छ
कि उसको हातमा छ सर्वोच्च शक्ति
उसको हातमा छ सत्ता र समय
तर
चाहे घण्टाघरमा राखौँ
चाहे भित्तामा झुण्ड्याऔँ
चाहे बाधौँ हातैमा
समय कहिले शासकको हुन्न
समयको आफ्नै लय हुन्छ
त्यसोभए हाम्रो हातमा चाहिँ के हुन्छ ?
सायद हाम्रो हातमा
समयको त्यो लय हुन्छ
जसले शासकलाइ पनि सडकमा ल्याउँछ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।