विजय लुईटेल

जिउन साह्रो छ यहाँ भनि मेरो देश देखाई भन्नेलाई 

बताइदिनु म यसैमा मिल्नलाई हाँसी हाँसी मरेको भनी 

बिर्सिसकेँ सहिदको गुन जस्तो गर्ने सबैलाई

सुनाइदिनु निन्द्रामा आमाले सुन्ने राइफलको ध्वनि 

 

भविष्य बन्छ जसको भनी मेरा औला बन्दुकलाई दिएँ 

झुक्न नपरोस् जसले भनी मेरो गर्दन बैरीलाई दिएँ

अझै तिनैले सराप्छन् मेरो माटोलाई भने

भेटाइदिनु मेरो औला समाउन मलाई खोज्ने मेरी सानी बहिनीलाई 

गर्दन नपाएर फोटोमा झुन्डिएको मखमलीको माला देखाइदिनु 

 

म बिलाएँ भनेर तिमी मलाई नबिर्सनु 

बगिरहन्छ मेरो रगत तिम्रो पैताला मुनी 

त्यही रगत बगेको धर्तीलाई गोडमेल गरी 

तिमीले अनगिन्ती सपना जगाउनु 

 

म मौन भए भनि नसुस्ताउनु कहिले तिमी 

बहिरहन्छ मेरो गर्जन सदैव बतास बनी

तिमी त्यही बताससँग सुसेली हाल्दै

सम्भावनाको एउटा गीत गाउनु 

 

म गएको छैन कतै 

तिमीले नमारे सम्म 

मलाई मार्ने छैन मृत्युले 

म मरे भनी त्यसैले नसोच्नु

 

तिमीले देखाउनु आउने सन्ततिलाई 

मेरो मृत्यु कारणलाई हाँसो बनाई 

सिकाउनु तिनलाई इज्जत दिन चन्द्र र सूर्यलाई 

मेरो ऋण तिर्न हैन मलाई ऋणमा डुबाउन अह्राउनु 

 

आफ्ना कदम यसरी चलाउनु ताकी मलाई बिर्सन सकोस् संसारले 

सकेजति मैले बोकेको भारी तिमीले पनि उठाउनु 

कोसिस गरेर अलि अलि सहिद आफूलाई पनि बनाउनु 

 

तब पनि किन मर्छन् देशका लागि भन्दै सोधे कसैले भने

शिर ठाडो गरेर हाँस्दै तिमीले हामी हाँसेको देखाउनु

 

जिउन साह्रो छ यहाँ भनि मेरो देश देखाई भन्नेलाई 

बताइदिनु म यसैमा मिल्नलाई हाँसी हाँसी मरेको भनी 

बिर्सिइसकेँ सहिदको गुन जस्तो गर्ने सबैलाई

सुनाइदिनु निन्द्रामा आमाले सुन्ने राइफलको ध्वनि ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार