गुम्बाको कुनै
अँध्यारो कुनाबाट
फैलिरहेछ चर्को रोदनको आवाज
कसैले पूरा गर्न
आफ्नो मनोकाङ्क्षा
बलि चढायो
केही थान कलिला रहर
र त, आज पनि
गुम्बाका पेटिमाझ छरिएका
कुमारी मन भित्र
जन्मन डराउछन् इच्छाहरु
जायर गर्छ वयस्क मस्तिष्क
उच्च आसनमा विराजमान
कथित देवता सामु
यो चाहियो,त्यो चाहियो
खै के पो बोल्छ पत्थर ?
कस्तो पो गर्छ सम्झौता ?
हतार हतार
बिक्रि हुन्छे अवयस्क कुमारी
अर्को हुन्छ प्यासी आत्मा
जो प्रयासरत रहिरहन्छ हरघडी
तृप्त पार्न आफ्नो यौवनको प्यास
र देखाउन पवित्र आफूलाई
मच्चाइरहन्छ ढोङ धर्मको नाममा
बुज्रुक धर्मात्मीबाट
पिसिन्छ कुमारिको छाती
लुछिन्छ चोक्टा...चोक्टा ...
जसरी
सास सहितको कुनै भोको बच्चाको आङ
लुछिरहन्छ गिद्ध युद्धभूमिमा
विवश अविवाहिता
विना बाबुकी आफ्नी छोरी
चढाउछिन गुम्बामा
जसरी
चढाइएको थियो
उनलाई कुनै समय
खै के हेरिरहन्छ पथ्थर ?
कहिले सम्म चलिरहन्छ यो चक्र?
गुम्बाको कुनै
अँध्यारो कुनामा
एकनास रोइरहिछिन् बालिका
भोक,प्यास र पीडाले होइन
पखाल्न एकदिन
क्रोधका आँसुहरुले
परम्परामा रहेका फोहोरहरु!
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...