सिक्किममा जन्मिएका लेखक/साहित्यकार डा. बुद्धि लेक्वाहाङ खाम्दाकका दिदीकाे आवाजहरू कविता सङ्ग्रह, लिम्बू लघुकथा सङ्ग्रह, लिम्बू कथा सङ्ग्रह, लिम्बू कविता सङ्ग्रह सहित करिब एक दर्जन कृतिहरू प्रकाशित छन् ।
म मरेकाे लास
मलाई झट्टै चिहानमा लैजानु
मेरो जिन्दगीको अर्को
जन्म लिनु छ ।
सिङयुक मुदुमफेले
विदा दिँदै बाटाे लगाएर
आँगनमा राखिदिनु
म जुनकाे सन्तती जुनले लैजावाेस्
म घामकाे सन्तति घामले लैजावाेस् ।
साेलाबाट निकालेर
चितामा राखिदिनु
आगाेकाे राप र ज्वालासँगै उडेर
झट्टै भन्दा झट्टै
स्वर्गलाेक पुग्नु छ ।
खाेङसिङबाट निकालेर
भुईँमा दफन गरिदिनु
माटाेसँगै बिलेर
झट्टै भन्दा झट्टै
नर्कलाेक पुग्नु छ ।
किनकि,
पाप, लाेभ, माेह, अहम, रिस-आरिस र घमण्डले
भरिएकाे याे भाैतिक संसारमा
म निष्प्राण मान्छे भएर
धर्तीमा जिउन सुहाउँदैन
कलेजाे,मुटु र फाेक्साे बिनाकाे
मान्छेकाे शरीर भएर
समाजकाे बदनामी भएर बाँच्नु छैन
मान्छेकाे फ्यातुलाे खुन भएर बाँच्न सक्दिन ।
अनि फेरि
स्वर्गलाेक र नर्कलाेक
म झट्टै पुग्न सकेँ भने
त्याे लाेभकाे भाडा बाेक्ने
अहंकारी, घमण्डी स्वार्थीपनकाे
गिदी बाेक्ने पापी र असत्यमार्गीहरूलाई
भेट्ने र उनीहरूकाे मुहार हेर्ने मन छ ।
खाेङसिङ: Coffin
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।