दैवज्ञराज न्यौपाने (वि.सं. २००४ - वि.सं. २०६८) नेपाली साहित्यकार हुन्। भोजपुरको गोगने-१, धाइपामा वि.सं. २००४ साल मंसिर ३० गते जन्मेका न्यौपानेको साहित्यिक यात्रा सानैदेखि प्रारम्भ भएको थियो । खासगरी वि.सं. २०२१ बाट कविता र गीतबाट लेखन-यात्राको सुरुवात गरेका थिए उनले। त्यसो त नेपाली काव्यलेखन परम्परामा राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा स्थापित शिल्प तथा शैलीका व्यावहारकि प्रयोक्ताका रूपमा साहित्यिक जगत्मा परिचित र स्थापित थिए उनी। बालसाहित्य र समालोचनाका क्षेत्रमा समेत उत्तिकै सक्रियताका साथ उनले कलम चलाएका थिए।
साहित्यका अतिरिक्त उनको जीवनको अर्को महत्त्वपूर्ण पाटो पनि छ। त्यो हो- आजीविकाका रूपमा न्यौपानेले अँगालेको प्राज्ञिक क्षेत्रको कार्य। जीवनका झन्डै तीन दशकभन्दा बढी प्राध्यापन पेसामा संलग्न भएका उनले विभिन्न क्याम्पसहरूमा नेपाली विषयको प्राध्यापन गरेका थिए। भक्तपुर क्याम्पसबाट प्राध्यापन यात्रा थालेका उनले १० वर्षअघि पाटन संयुक्त क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरेका थिए। पछिल्लो अवधि उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत थिए।
उनका गाउँखाने कविता, नेपाली कविता भाग २, तोतेबोली (कविता), सिर्जनाको लहर, जोर मुरली, बालसंसार, पोल्टाका गीतहरू, सबै हाम्रा साथी, घामले ढोका खोल्यो (बालकविता सङ्ग्रह) लगायत कृतिहरू प्रकाशित छन्।
‘किसानको रहर’ नामक कविता उनको बहुचर्चित कविता हो !
शीर्षकः किसानको रहर
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साझ र बिहान
बिहानपख झुल्किनछ घाम देउराली पाखामा
आसरे गीत घन्किनछ अनि सुरिलो भाकामा
काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्नु गर्नु नै पर्ने उकाली ओराली
छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला
भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ?
गालामा साना पसिना दाना मोती झैं खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी
सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा
सूनौला बाला झुलेर होला भूईंलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर
प्रस्तुत छ, दैवज्ञराज न्यौपानेका तीन कविता:
१. किन रात बित्दैन?
हिजो बेलुकी सुत्ताखेरिका घटनाहरू
कति टाढा टाढा पुगेर
सबै अतीतको अन्धकारमा बिलिइसके,
यो जीवनको लामो पथ
यस्तै त हो नि,
यहाँ के सधैँको सोख छ र?
रात आउँछ, दिन जान्छ,
दिन आउँछ, रात जान्छ,
मृत्यु र जीवनको आलोपालो
घाम र पानीको संसार
रिस र प्रेमको दुनियाँ
वसन्तको रातजस्तै शरदको रात होइन,
हिजोको दिनजस्तै आजको दिन होइन,
तिमी नसम्झ
अब फूल फुल्दैन,
साँझ गयो तब त बिहान हुन्छ,
जीवनमा अर्कै फूल फुल्छ,
अनि किन रात बित्तैन,
हिजोजस्तै, अस्ति जस्तै
आजका यी सपनाहरू
किन बेग्लै छन्,
ओछ्यान उही हो,
सधैको झैँ सुत्ताको नियम उही हो,
यी घडी र पलाहरू सबै उनै छन्,
त्यो आकाश, ती तारा ठीक उस्तै छन्,
तर त्यहाँ उल्लास थियो,
यहाँ विस्मात छ,
यसैले त्यो रातभन्दा यो रात लामो छ,
त्यहाँ सुखको निद्रा थियो त
यहाँ विस्मातको उच्छ्वास छ,
जे होस् समयको चाल चल्छ,
रातपछिको दिन बल्छ,
सबै यो मलाई थाहा छ,
किन रात बित्तैन?
२.चिहान बोल्छ
१.
शुद्ध मनका मानस मन्दिरकी पुण्यसलिला
आज उनै नरकङ्कालको जञ्जालमा छिन्,
यहाँको पानी नै फोहर छ,
किनकि,
यसमाथि नीलो आकाशमुनिको धर्ती
हिजोआज फोहरिँदै आएको छ,
त्यसैले आज उनैलाई संकोचसाथ पुकारेको रे,
'मसाने खोलो',
यो उही खोलो हो जहाँ शुद्ध पानीका धारहरू वहन्थे,
अनि यो उही बगर हो
जहाँ शान्त एवं शीतल हावा वहन्थे,
तर अब मेघ गर्जनसाथ वहेको वर्षाको भेल नआई
यसको सुद्धिने आशै छैन,
त्यसैले यो खोलाको जलमा
प्यासीहरू प्यास मेट्न
र पौडीवाजहरू पौडी हान्न लाचार छन्,
उनीहरूमा रहरै छैन,
किन्तु सबैले छाडे पनि
भ्यागुताहरू ता यसैमा मस्त छन्
भन्दै मसाने खोलाको तीरतीरबाट
'चिहान बोल्छ'।
२.
यो अविरल वहेको खोलो
आफ्नो जलीय प्रवाहले भन्दा
आज चिहानको विशेषताले ब्यूँझेको छ,
तब त खोलाको नादभन्दा
चिहानको हुङ्कार ठूलो छ,
आजको परिस्थिति
एक एक समस्याका टुक्राटुक्रा गाँसी
जीवनमा अर्कै जाल चलेको छ,
जसले गर्दा मानिसको बोल्ने साहस मात्र होइन
विचार गर्ने शक्ति नै गुमेको छ,
अतः एकलासको जङ्गलमा झैं
यहाँ त तस्करले नै नाद खोल्छ,
यही मानिसको मौन भावमा
चिहान बोल्छ।
३.
भेलमा उर्लिएका नदीका छालझैं
उसको गनाउने हावामा तरङ्गिएका
यहाँका ठूलाठूला मानिसको गिदीलाई
कौडीको मोल छ,
अनि सिनाको जोसमा झुम्मिएका
स्याल र कुकुरको बथानझैं
यही पिसाचको नाराले
पर्दा पछाडिको एकलासमा
शान्ति सतीको सर्वस्व खोल्छ,
विचित्रको नाद झिक्तै झिक्तै
चिहान बोल्छ।
४.
यो पाशुपतक्षेत्र रे
यहाँ भूताधिराज शङ्करको निवास छ,
तर उनकै लागि
सधैँका निम्ति एकै बास छैन,
कहिले सभामा हुन्छन् त
कहिले गौरीसँग खेल्छन्,
अनि कहिले साँढेको ढाड र
कहिले श्मशानको पालो हो,
त्यसैले,
मानिसको भन्दा आज श्मशानकै मोल छ,
यही बोलीको तुच्छतामा
चिहान बोल्छ ।
५.
नानी हो ! चिहानको नजिकै नजाऊ है
उसको निर्दयी हातले
मानव जीवनको स्वतन्त्रतालाई चोर्छ,
अनि यसैका आशक बनेका
स्याल, कुकुर र गिद्धका
बिरसिला आवाजले
मानव हृदयको उन्मुक्त सातो हर्छ,
यति मात्र कहाँ हो र
उसको कुहिनसकेको लासको गन्ध नै
जीवनका लागि एक अभिशाप बन्ने छ,
जसले गर्दा
जीवनका नयाँ फूलहरू फुल्ने छैनन्,
अनि मानवताका पालुवाहरू नै खुल्ने छैनन्,
आज त्यो दिन छैन,
जहाँ सूर्यको प्रकाशले
धरा हाँसिरहेकी होलिन्,
अथवा आज त्यो रात पनि छैन,
जहाँ तिरमिर ताराहरूका साथ
चन्द्रमाको मधुर हाँसोमा
आकाश हाँसिरहेको होला,
यहाँ त विजयको जयघोष होइन
प्रलयको गीत गुञ्जेको छ,
सन्तोषको हाँसो छैन,
आँसुको भेल उर्लिएको छ,
यसैमा महाकालको लामो यात्रा चल्छ,
हिजोआजको दैनिक समस्यामा
चिहान बोल्छ।
६.
जब समयको चालमा चल्दै चल्दै
आजको दिन बित्छ
र मसानमा दौडिएका शङ्करको यात्रा फिर्छ,
अनि यी कुहिराका कागजस्तै
दुर्दिनमा निसास्सिएका मानिसहरू
यही खोलाको तीरमा जम्मा होलान्,
मसाने नाम काटी
एक सत्यको बाँध वाँध्लान्,
शान्तिको प्रतीकमा वाँधेको
यो पवित्र बाँध
जब कसैको खोल्नमा जोड नचल्ला
अनि चिहान बोल्ला,
त्यसैले पर्ख,
यो परिवर्तनशील संसारमा
घुम्दै फिर्दै त्यो दिन आउँछ,
संसार नै उज्यालो पार्ने त्यो सूर्य उदाउँछ,
जसको प्रकाशले गर्दा नयाँ जीवनमा
सुख र सन्तोषको आलोक बर्सन्छ,
त्यसकारण,
अब केही वेर मात्र
चिहान बोल्छ।
(राणाकालीन शासनको वर्वर नीतिको संझनामा रचिएको)
३. नेपाली साहित्य रित्तिँदैन
मेरो चन्द्र र सूर्य हाँसेको धर्ती
हिमालयको काखमा दन्त्यकथाको होइन
सच्चा अस्तित्वको बोध छ,
दिनको सूर्य र रातको चन्द्रझैँ
यहाँ युगयुगको निर्माण गर्ने
हाँसोको खोज छ,
जुन हाँसोमा भानुभक्त हाँसे
मोतीराम हाँसे
लेखनाथ र देवकोटा हाँसे
उही हाँसोको लहर
गण्डकी, कोशी र कर्णालीको गीत सिद्धिँदैन,
आऊ, तिमी र म पनि एक फेरा हाँसौँ
यहाँ नेपाली साहित्य रित्तिँदैन।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...