'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ४३

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ । कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ । 

यस अन्तर्गत प्रस्तुत छ, कवि हरि अधिकारीको कविता– ‘मलाई मनखुसी बाँच्न देऊ’ 

मेरा लहरका पखेटा भाँचिदिने कुचेष्टा नगर
मेरो वेगमा व्यवधान गर्ने दुष्प्रयास नगर
मेरो यात्रापथलाई जथाभावी मोड्ने 
कुत्सापूर्ण कोसिस नगर,  

मलाई मनखुसी बग्न देऊ
विधाताले 
आफ्नो बाटोको नक्सा आफै कोर्न पाउने 
जुन स्वतन्त्रता दिएको छ मलाई, 
त्यसको उपभोग गर्नबाट वञ्चित नगर
निर्बन्ध, फुक्काफाल, सुसेली हाल्दै, हामफाल्दै 
आफैले युगौँ लगाएर बनाएको बाटोमा
दगुर्न देऊ मलाई, 

यी सुन्दरी धरती मेरी प्रेयसी हुन् 
म यिनलाई यिनको मनले कामना गरेअनुसार 
अथवा म आफूले चाहेअनुसार अँगाल्न चाहन्छु
यो, विशुद्ध हामी दुईका बीचको खेला हो
हामीले गर्दै आएको यो सनातन कौतुक-क्रीडाका 
नियामक पनि हामी दुई नै हौं
हामी दुई प्रेमीका बीचको अभिसारमा तिमी
तेस्रो अवाञ्छित तत्व बन्ने चेष्टा नगर, 

हामी प्रेमी युगलले भेट गर्ने ठाउँ 
तोक्न खोज्ने तिमी को हौ ?
तिमी ईश्वर त अवश्य पनि होइनौ !
तिमी ईश्वरका दूत पनि हुन सक्दैनौ
ब्रह्माण्डका महान् सर्जकका दूत भएको भए 
तिमीले उनकी सबैभन्दा मनपर्ने सृष्टि, 
धरतीमा जीवनधाराकी स्रोत, 
मेरो यात्रापथलाई मोडिदिने परिकल्पना
कदापि गर्ने थिएनौ, 

करोडौँ वर्ष लामो मेरो जीवन-यात्राका क्रममा
देखेकी छु मैले ठूलाठूला बहादुर विजेताहरू
सुनेकी छु तिनको हुंकार र गर्जन-तर्जन
तिनले पखालेका खुँडा र तरबारबाट 
बगेको रगतले धमेलिएकी पनि छु धेरैपटक
तिनले ध्वस्त पारेका गाउँ र सहरहरूबाट 
उठ्ने चित्कारको आवाजबाट तर्सेकी पनि छु  
साथै म साक्षी छु मानव इतिहासका क्रममा
निर्माण भएका सभ्यताका स्मारकहरूको
मैले नै यस दुनियाँका हरेक गाउँ र नगरहरूको  
तिर्खा मेटाइदिएकी हुँ,  

म पानी हुँ, जीवनको अजस्र स्रोत हुँ
लाखौं अन्धा घोडाहरूको दौडलाई बिर्साउने
वेगवान् भेल हुँ 
म तिम्रो अभिभावक हुँ, सम्पदा हुँ र हुँ मानव सभ्यताको आत्मा पनि 
म स्वतन्त्र चेतनाको मूर्त रूप पनि हुँ 
मलाई भाँचकुँच पार्न र मलाई हिँड्न मन नलागेको 
नयाँ गोरेटोमा हिँडाउन नखोज । 
काठमाडौँ

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार