दक्षिण कोरिया - नेपाल आदिवासी जनजाती साहित्यकार/लेखक महासंघ अन्तर्राष्ट्रिय समिति दक्षिण कोरियाको आयोजनामा 'मातृभाषा काव्ययात्रा-२०२१' कार्यक्रम सम्पन्न भएको छ ।
मंसिर १९ गते साँझ ५ बजेदेख ९ बजेसम्म अनलाइन माध्यमबाट सञ्चालित सो कार्यक्रममा करिब ५० जना मातृभाषी कविहरूले आ-आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए ।
आदिवासी जनजाती समुदायका मातृभाषाहरूलाई साहित्यका माध्यमबाट संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा बोल्दै विशेष अतिथि मातृभाषा अध्येता अमृत योञ्जन तामाङ्ले यस प्रकारको कार्यक्रमहरूले मातृभाषा र मातृभाषा साहित्यलाई महत्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गरे । उनले मातृभाषाप्रती बढिरहेको चासोप्रती खुसी व्क्त गर्दै भने, 'लामो समयसम्म नेपाल एकलभाषी मुलुक रह्यो । एउटा मात्र भाषालाई सरकारी भाषाको मान्यता दिएर अन्य भाषाहर"मा लेखपढ गर्न समेत प्रतिबन्ध लगाइयो ।
जम्मा १४ भाषामा वाचन गरिएका कविताहरूमा वाम्बुले भाषामा २ जना, बायुङ् भाषामा १ जना, सुनुवार/कोईच भाषामा २ जना, तामाङ भाषामा ६ जना, गुरुङ भाषामा ३ जना, धिमाल भाषामा ३ जना, थारू भाषामा ८ जना, माझी भाषामा १ जना, थुलुङ भाषामा १ जना, चाम्लिङ भाषामा ५ जना, याक्खा भाषामा १ जना, लिम्बू भाषामा ९ जना, मगर भाषामा ३ जना र नेपाल भाषामा ३ जना मातृभाषी कविहरूको कविता समेटिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाती साहित्यका/रलेखक महासंघ केन्द्रीय कार्यसमितिका अध्यक्ष राजन मुकारुङ्ले विविध मातृभाषाहरू नबुझिए पनि कविता मार्फत कविहरूले व्यक्त गर्न खोजेको अभिव्यक्ति बुझ्न सकिने रहेछ भन्ने कुराको महसुस भएको भन्दै हरेक मातृभाषाहरूका शब्दहरूले उत्पन्न गराउने झंकारले हामीलाई योचाहिँ मेरो भाषाको झंकार हो भन्ने अनुभूत गराउने विचार व्यक्त गरे ।
उनले मातृभाषाबाट नै आफ्नो पहिचान स्थापित हुने कुरामा जोड दिँदै भने, 'आफ्नो छुट्टै भाषा, सभ्यता, संस्कृति र इतिहास भएर पनि हामी नेपाली राजनितिको सिमान्तमा छौँ । त्यसैले हामी मूल प्रवाहमा समाहित हुन प्रयत्न गरिरहेका छौँ । मातृभाषामा हामीले हाम्रो साहित्य, कला, बिम्ब, प्रतीकलाई लेखिरहन जरुरी छ ।'
करिब ४ घण्टासम्म चलेकाे कार्यक्रममा नेपाल लगायत, साउदी अरब, मलेशिया, हङ्कङ्, दक्षिण कोरिया, जापान, युके लगायतका मुलुकबाट मातृभाषी कविहरूको सहभागिता रहेको थियो ।
सोनाम ह्योल्मो र दिलिप बान्तावाद्वारा संयुक्त रूपमा सञ्चालित कार्यक्रमको अध्यक्षता समितिका संयोजक पराजित पोमुले गरेका थिए । संयोजक पोमुका अनुसार कार्यक्रममा वाचन गरिएका सम्पूर्ण मातृभाषाका कविताहरूलाई तिनको नेपाली रूपान्तरण सहित पुस्तकका रूपमा कविता संग्रह प्रकाशन गरिनेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...