बेन्जु शर्माको जन्म विसं २००४ मा डिल्लीबजार, काठमाडौँमा भएको हो । कविता र कथाका क्षेत्रमा कलम चलाएकी शर्माका विभिन्न कविता तथा कथासंग्रहहरू प्रकाशित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार, महेन्द्र विद्याभूषण, सुवर्ण पदक, रत्नश्री सुवर्ण पदक लगायत सम्मानबाट सम्मानित शर्मा नेपाली इतिहास संस्कृति तथा पुरातत्वकी पिएचडी हुन् ।
सम्पूर्ण हावामा बारुदको गन्ध फैलिएको बेला
चिसा खोलाहरू, नदीहरू
तातो रगत भएर बहेको बेला
मानिसको मनभित्र
आगोका बीउहरू रोपिएर
आगोहरू सुन्तलाका बमगोला भएर
विवेकहरू विचलित भएर
पाशविकता नै पुरुषत्व भएको बेला
परीक्षाको हरप्रश्नका उत्तरहरू
गलत लेखिएको बेला
एलएसडीको लागूले
युग चक्कराइरहेको बेला
चेतना विचेत भएको
सोझा, निर्दोष, निश्छल नौजवानका लासहरू
यत्रतत्र पारिजातका फूलझैँ झरेको बेला
सृजना र सृष्टिलाई नै
हाँक दिइएको बेला
के जन्माउनु सन्तानहरू
आगलागीमा
चरु बनाउनका लागि ?
गोलीको होलीमा
चीरदाह गर्नका लागि ?
ए, सम्पूर्ण महिलाहरू हो
बन्द गर कोखहरू
अब कुनै बच्चाहरू
लोरी सुन्दै झोलुङ्गामा झुल्नेछैनन्
यो नपुंसक समयसँग
बन्द गर सम्भोगहरू।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...