नेचुरल्लीदीपक, समसामयिक विषयमा निरन्तर कलम चलाइरहेका एक सक्रिय स्रष्टा हुन् ।
अरुण कुमार साह
विरगञ्ज भन्सारमा
भर्खरै भेटिएको दाहाल जी
मेरो भाइ अरुण कुमार साहलाई
शङ्का गर्दै सोध्छ
यो को हो ? यहाँ खतरा हुन्छ है
निःस्तब्ध, निःस्तब्ध हुन्छु म
ऊ बाईक पछाडि
मलाई गुडाउँदै बोल्छ
दाइ!ईन्डियामा मलाई नेपाली भन्छ
नेपालमा बिहारी
बडा दिक्कत लाग्छ हउ कैले त
निःस्तब्ध, निःस्तब्ध हुन्छु म
पाटनको गल्ली गल्ली
रत्नपार्कको चौडा सडकहरुमा
म उसको साईकल पछाडी
यात्रा गरिरहँदा पनि
उसले एकबार सोधेकोथ्यो;
दाइ ! बुद्ध गोरो थिए कि कालो ?
मधेशी-बुद्ध
मेरो हो भनी उफ्रने पहाडेहरू
म मधेशीलाई किन विदेशी देख्छन् दाइ ?"
निःस्तब्ध, निःस्तब्ध हुन्छु म ।
हैन हउ दाइ
मधेश नेपालको हो रे
सीता नेपाली हो रे
तर मधेशीको अनुहार
हेरेरै किन 'ईण्डियन'भनिन्छन्
अनुहारभरि रिस भरेर कराउँछ
अरुण कुमार साह:
बुद्ध वाज वर्न इन नेपाल
भन्नेहरु हो
मधेशी चैँ कहाँ जन्मिएको रे?"
निःस्तब्ध, निःस्तब्ध हुन्छु म ।।
पाटन-दरबार स्क्वायर पस्दै गर्दा
ईण्डियनले टिकट काट्नुपर्छ
एक सुरक्षाकर्मी बोल्छ
कलेजको आइडी कार्ड
देखाएर चुप पार्छ ऊ
यस पटक निःस्तब्ध, निःस्तब्ध हुन्छ ऊ
अरे यार म सिक्किमको हुँ
मेरो पनि परिचय-पत्र माग्नुस् न
म कराउँछु
यही पल एक हुल परेवा
भुरुरुरुरु उडी आएर
अरुण कुमार साहको
जिउभरी बसिदिन्छ
बरालजी भन्नुहुन्छ,
अरे यार म पनि मधेशी नै हुँ
३ पुस्ताबाट मधेसै बसेको छु
हो पक्कै हो
तर कहिले तपाईंलाई बिहारी भनिएको छ?
कसैले पाटन-दरबार स्क्वायरमा
परिचय-पत्र मागेको छ?
हँ बरालजी !
मधेसी हुन यति टेस्ट पास त गर्नैपर्छ,
अब भने, निःस्तब्ध, निःस्तब्ध, बरालजी
अनि मुसुक्क मुस्काएर
बोल्छ अरुण कुमार साह
दाइ म अब,
बुद्धको कालो चित्र बनाउँदै छु
र, यसै पल अचानक
हारामको बगैँचामा सेतो फूल फुल्छ ।
नोट : राजा सलहेशको किम्बदन्तीसँग सम्बन्धित यो बगैँचामा हरेक बैशाख एक गते सेतो फूल फुल्छ एकदिनको लागि ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।