विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ । कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ । 

यस अन्तर्गत प्रस्तुत छ, कवि राधिका कल्पितको कविता– ‘सभ्यताको दोहन र कालीको रोदन’

धवलागिरिको शिरको जलधारा बोकेर
मुक्तिक्षेत्रको मुहानबाट सहस्रधारा छुटेर
बग्छिन् जब कलकल कृष्णा
तब उर्वर बन्छन्
रुखा फाँटहरू
तब ब्युँतिन्छन्
मृत आँतहरू !

गण्डक क्षेत्रको सभ्यताको केन्द्रबिन्दु
देशको छातीबाट सरस प्रेमिल बग्दछ एक सिन्धु । 

जहाँ विश्राम गर्छन् विष्णु
शालिग्रामका शिला बनेर
जहाँ झुल्छन् फापर र स्याउका बोटहरू 
झरिला र रसिला बनेर । 

लोमन्थाङदेखि त्रिवेणीधामसम्म
गलेश्वर धामदेखि गुप्तेश्वर गुफासम्म 
कागबेनीदेखि रुरुधामसम्म
जहाँ सभ्यताको शिशु पेरुंगोमा पिङ खेल्यो
जसका किनार योगेश्वरहरूका योगाश्रम बन्यो
हजारौं सन्त-महन्तहरू यहीँ जन्मिई अस्त भए
चराचर र नरनारीहरू यसमै अलमस्त भए
सयौं ऋषिमुनिहरू यही जल र भूतलमा दीक्षा लिए
हजारौं महर्षिहरू यसकै कुण्डमा मोक्ष लिए । 

जगत् र जीवनको प्रसादी हुन् काली-गंगा
जंगम र जीवात्माको जीवनदायिनी मुक्ति-गंगा । 

हे ! गौमाताका कल्चौंडामा राजनीति गर्नेहरू हो
हे ! आमाको वात्सल्यको व्यापार गर्नेहरू हो
हरे ! नकटा कपुतहरू हो ! 
हाय ! कसरी खनिरहेछौ आमाको छाती
हाय ! कसरी उफ्रिरहेछौ आफ्नै आस्थामाथि ! 

उनको सौन्दर्य खोसिदिएर
उनको कौमार्य लुटिदिएर
उनको फैलावट रोकिदिएर
उनको सजावट उखेलिदिएर
छिछिस् कस्तो लुटपाट हो यो
आफैले आफ्नै आवासको
हाय ! कसरी सक्यौ घाँटी निचोर्न
आफ्नै प्राण अनि सासको !! 
-बागलुङ

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार