जगदीश घिमिरे (वि.सं २००२- २०७०) नेपाली लेखक तथा साहित्यकार हुन् । क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मवृर्तान्त 'अन्तर्मनको यात्रा'बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक कार्यमासमेत संलग्न थिए । उनको कृति अन्तर्मनको यात्राले वि.सं. २०६४ सालको मदन पुरस्कार पाएको हो । घिमिरेले मैनाली कथा पुरस्कार पनि पाएका छन् । यस्तै उनले अन्तर्मनको यात्राकै लागि उत्तम शान्ति पुरस्कार पनि पाएका छन् ।
रामेछापमा विकास निर्माण र सामाजिक उत्थानको कार्य गर्दा घिमिरेले धेरै बाधा-विरोधहरूको सामना गर्नुपर्यो। तरपनि उनी निरन्तर रूपमा समाज रूपान्तरणको काममा लागिरहे ।जगदीश घिमिरेमा निहित संवेदनशीलताले उनलाई एक मार्मिक सिहित्यसर्जक मात्र बनाएन एक सहृदयी विकासअभियन्ता पनि बनायो । सामाजिक कार्यमा घिमिरेलाई पत्नी दुर्गाले पनि उतिकै साथ दिइन् । एबीसी नेपालमा कार्यरत दुर्गा घिमिरे ती प्रथम महिला मध्येकी हुन् जसले बेचिएका नेपाली चेलीबेटीलाई मुम्बईबाट उद्धार गरेर ल्याउने साहसिक काममा अग्रणी भुमिका खेलिन् ।
२०४६ सालतिर घिमिरे दम्पत्तीले तामाकोशी सेवा समिति स्थापना गरेर रामेछाप जिल्लाका गरीब जनताको आर्थिक जिवनस्तर सुधार्न सक्रिय भए । यसक्रममा क्रियाशील जगदीश र दुर्गा घिमिरेमाथि राजनीतिक-सामाजिक विरोधीहरूको प्रहार पर्नु त स्वभाविक हो । तर घिमिरे दम्पत्तीमाथि अर्को आक्रमण पनि भयो जब जगदीशलाई 'माइलोमा' भन्ने रत्तक्यान्सर भयो । त्यसको उपचारको क्रममा भोग्नुपरेको दुःख-कष्टको मार्मिक वर्णन घिमिरेको पुस्तक 'अन्तर्मनको यात्रा'मा छ । तर जगदीशले रोगलाई पनि पछारे । यो भयावह रोगको आक्रमणपछि पनि उनमा वैराग्य र विचलितमनस्कता देखिएन । क्यान्सर भइसकेपछि पनि घिमिरे साहित्यिक सिर्जना र सामाजिक विकास अभियानमानै यथावत सक्रिय रहे ।
घिमिरेको लीलाम, जगदीशका कथाहरू, साबिती, सन्तान, अन्तर्मनको यात्रा, अग्निसुत्र, स्थान काल पात्र, सकस, बर्दी, जगदीश घिमिरेका प्रतिनिधि कथाहरू लगायत कृतिहरू प्रकाशित छन् ।
१. सुख
हिउँद नहुनु सुख होइन
हिउँदको न्यानु सुख हो
ग्रीष्म नहुनु सुख होइन
ग्रीष्मको शीतल सुख हो
वेदना नहुनु सुख होइन
वेदना बाँड्ने हुनु सुख हो
उँभो लाग्नु आफैमा सुख होइन
उँभो लाग्दा डाह नगर्ने स्वजन हुनु सुख हो
उँधो लाग्नु आफैमा सुख होइन
उँधो लाग्दा नघच्याड्ने आफन्त हुनु सुख हो
नछुट्टिनु सुख होइन
छुट्टिँदा सम्झना हुनु सुख हो
२. जालसाजी
उद्देश्य खोतल्दै–खोतल्दै जाँदा
म उद्देश्यको समेत उद्देश्य पाउँदिनँ र
अर्थ सोध्दै–सोध्दै जाँदा
म अर्थको समेत अर्थ देख्दिनँ
अस्तित्व पहिल्याउँदै–पहिल्याउँदै जाँदा
म अस्तित्वको समेत अस्तित्व भेट्दिनँ
यो एक मुठी सास हो— जुन सत्य हो
यो एक मुठी गाँस हो— जुन ध्रुव सत्य हो
जीवन
त्यही एक मुठी सास र एक मुठी गाँसका निमित्त
गरिने जालसाजी हो
जीवन आफूले आफैप्रति गरिने अन्याय हो।
समाज छ, राष्ट्र छ, संयुक्त राष्ट्र पनि छ
वर्ण छ, वर्ग छ, उचाइ र गहिराइ पनि छ
धर्म छ, पाप छ, अर्थ छ, अनर्थ छ
काम छ, निष्काम छ, सकाम छ, अतिकाम छ
तर मोक्ष खै कुन मिसिलमा परेर हराएछ ?
जागिर छ—
जुन वेश्याको सिउँदोको सिन्दूर हो
जुन स्वाभिमान बेचेर कमाएको तलब हो
नियमावली छ
जुन गीता हो, बाइबल हो, कुरान हो
हाकिम छ
जुन दैव हो
व्यवस्थापन छ
जुन लीला हो।
मान्छे छ, चुप छ
रेडियो बोल्छ, माइक बोल्छ वा बोल्छन् चराचुरुङ्गीहरू
अथवा झर्नाहरू वा टेम्पोवा जेटका आवाजहरू ।
साहित्य छ
त्यो आङका छारो हो
नलेखे लेख्नुपर्छ
लेखे लेख्न हुन्न ।
चित्र छ—
त्यो हाम्रो व्यङ्ग्यचित्र हो
विद्रुप छ—
त्यो हाम्रो जीवनवृत्त हो
जीवन आफूले आफैसँग गरिने अन्याय हो
जीवन आफूले आफैसँग गरिने जालसाजी हो ।
३. रुख
कवि, केही त सार्थक लेख
शब्द धेरै लेख्यौ
केही सार्थक भाव पनि लेख
तिमीले सधैँ फूलका कविता लेख्यौ
अब रूखका कविता लेख
हाँगाबिँगा र मूलका कुरा लेख
ती अझ बढी सौन्दर्यमय र यथार्थ छन्जराका कुरा लेख
ती जराले समाउने माटाका कुरा लेख
जुन माटोमा तिमी र म जन्मियौँ
जुन माटो नभए तिमी पनि हुत्रौ, म पनि हुत्रँ
त्यो माटाको अस्तित्व जोगाउने जराका कविता लेख
जराका कथा लेख
तिमीले छहरा र नदीका कविता लेख्यौ
अब कुलाका कथा लेख
ती कुला जसले तिमीले र मैले खाने अत्र फलाउँछन्
जसबिना तिमी र म बाँच्न सक्तैनौँ
ती कुलाका कुरा लेख
तिमीले केवल आफ्नो दुःखको गुनासो
र सुखको सपना लेख्यौ
अब यो देशको कथा लेख
यो हिमालको निधार निहुरिन नदिनु छ भने
यसको छातीभरि रूखका बोटका कथा रोप
लेकका थुम्कादेखि बेसीका बगरसम्म
तराईका फाँट–फाँटभरि
नेपालीको पाखुरीले सिँगारेका
टार गरा कान्ला र फाँटहरूमा
घाँस, दाउरा र काठका बोटको कथा रोप
रूखमा फूल पनि फुल्ने छ
सपना पनि फल्ने छ
चराले गुँड पनि लाउनेछन्
साँझ–बिहान बासेर तिम्रो गुन पनि गाउनेछन्
तिमी आफ्नो तुच्छ अहङ्ककारबाट निस्केर
घाँस पात बिरुवा चराचुरुङ्गी
र तिनै जस्ता सामान्य बहुसङ्ख्यक नेपालीको कथा लेख
ती भुइँमान्छे रूख हुन् रूख
तिमी आफ्ना रचनामा आफ्ना सन्तान देख्छौ
अब रूख बिरुवा लहरामा देख
हिउँको पहिरामा बन रोप
पहाडको पहिरामा बगैंचा कुँद
बगर–बगरमा बगैँचा कुँद
तराईका मैदानमैदानभरि बगैँचा कुँद
बगैँचाका बोटबोटमा आत्मा रोप
तिमी अशक्त भएपछि आफ्नै आफन्तले
तिमीलाई घरबाट निकाले भने
भुइँचालाले तिम्रो बास भत्कायो भने
बाढीपहिरामा पर्यौ भने
नदीले बगायो भने
आगलागीले डढायो भने
रूखका हाँगाबिँगा र पातमुनि तिमीले छहारी पाउने छौ
तिमी मर्यौ भने रूखले आफ्ना शरीर हात खुट्टा पोलेर
तिम्रो दाहसंस्कार गर्नेछन्
तिमीलाई दागबत्ती दिनेछन्,
तिम्रो सुकेको तालुमा यिनका पात पातले तर्पण दिनेछन्
कवि, तिम्रा कविता क्षणजीवी छन्
तिमीले लगाएको वन शाश्वत हुनेछ
कवि, रूखका कविता रोप
कवि, रूखका कथा रोप
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...