'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ४१
'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ४१
कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले ।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ । कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ ।
त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ ।
यस अन्तर्गत प्रस्तुत छ, कवि विप्लव प्रतीकको कविता– ‘यौटा बोल्न नसक्ने चट्टान मसँग बोल्यो’
हुँ म एक चट्टान
यहीँ उभिएको,
जसरी अहिले तिमी उभिएका छौ यस पहाडमा ।
मानिसहरू आउँछन्,
जिन्दगीसँग गुनासो बोकेका सुस्केरा
यहीँ मेरै छेउमा छाड्छन्,
मिसिन्छन् तिनका गुनासाहरू हावामा
र बतासले मेरो शरीरमा तिनलाई छुवाएर जान्छ ।
केही मायालुहरू आउँछन्
र बिसाउँछन् तिनका मायाका भारी,
केही भरियाहरू आउँछन्
र अड्याउँछन् सहरले पठाएका बोझहरू,
कहिलेकाहीँ पन्छीहरू आउँछन्
र चुच्चोमा च्यापिएका चाराहरू
छर्छन् मेरो छातीमा अनि टिप्छन् यताउति हेर्दै ।
म उहिलेझैँ अहिले छु कि छैन
मलाई थाहा छैन,
अलि खिइएँ कि अजंगकै छु
त्यो पनि थाहा छैन ।
कुन दिन कुनै डोजर आऊला,
क्रसरमा लिएर जाला
र, गिट्टी बनूँला, के थाहा ?
कुन दिन यो थलो कसैको पेवा बन्ला
र यहाँ बनाऊला कसैले एउटा आलिशान भिल्ला
अनि सहरबाट ठूला मानिसहरू आऊलान्
र, हेर्लान् यहाँबाट अन्धकारमा टोलाएका झिल्मिल बत्तीहरू ।
कुन दिन मसँग टाँसिएको गोरेटोमा सडक बन्ला
र टाकुराको पुरानो गाउँमा पुग्ला यौटा थोत्रो बस,
अनि सोहोरेर लैजाला त्यो गाउँको सारा सौन्दर्य
दूर, सुदूर कुनै एउटा चम्किलो/भड्किलो सहरमा......
यौटा चट्टान हुँ,
अहिलेसम्म त यहीँ छु,
यहीँ, अचल,
तिमी उभिएर सेल्फी खिचिरहेको ठाउँमा–
यही पहाडमा ।
-काठमाडौँ
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...