बादलदेवी चाम्लिङ एक सक्रिय स्रष्टा हुन् । उनका पाठेघर  कविता सङ्ग्रह २०७४,वीर्य जमिन  कविता सङ्ग्रह २०७६ प्रकाशित छन्। उनी साहित्यको अलवा शिक्षण पेशामा आबद्ध छिन् ।


दोजिया छु, टिभीमा मुख्य समाचार हेर्दै छु । सुन्छु - "सुत्केरी महिलाको अत्याधिक रक्तश्राव पछि मृत्यु " हातमा पनि एउटा पत्रिका छ । लेखेको छ – "लगातार सात दिनको सुत्केरी व्यथापछि आमा र उनको पेटमा भएको बच्चा दुवैको मृत्यु ।" केही दिन अघिको पत्रिकामा पढेको यसै बेला झल्यास्स सम्झना आउँछ –  "अस्पतालमा डाक्टरहरूको लापरबाहीले सुत्केरी महिलाको ज्यान गयो, बच्चा सकुशल। "

छापाको समाचार र टिभीको दृश्यले विपनामा मात्र हैन, सपनामा पनि तर्साएर ब्युँझाउँछ । दिनमा हिँड्दा पछाडिबाट ठेलेर हुत्याइरहन्छ । म आफू त के हो र, छोरीहरूको मायाले ऐठन बनाउँछ । नियमित चेकजाँचमा नै छु । 
“तपाईंको पालो आयो, भित्र जानुस् ।” ढोकामा उभिएकी नर्सले भनिन् ।
“समय नआइकन बच्चा तल झरेकोले एक हप्ता आराम गर्नु, प्रेसर कम छ, पोसिलो खानेकुरा बढी लिनू ।”
डाक्टरले पेटको बच्चा छामेर केही सोधपुछ गरेपछि यसो सुझाए । टाउको हल्लाउँदै बाहिरिएँ ।

निजी विद्यालयको शिक्षक हुँ । बिहानै उठेर छोरीहरूलाई खाजा बनाइदिन्छु । उहाँ छ बजेभन्दा अगाडि नै अफिस निस्कनुहुन्छ । खाना बनाएर उहाँलाई हट केसमा राखिदिन्छु ।  त्यसपछि छोरीहरूलाई खुवाउँछु र उनीहरूलाई डोहोर्याउँदै अलि चाँडै निस्कन्छु । बिहानको प्लस टु को कक्षा पनि भ्याउनु पर्छ । आफ्नै यमानको शरीर छ । कक्षा लिने नोट बुक र ल्यापटप भएको ब्याग काँधमा हुन्छ । सानी छोरीको स्कुल ब्याग एउटा हातमा, दिनको खाजा भएको झोला अर्को हातमा छ । छोरीहरू अगाडि लागेका छन् । यसो हेर्छु, बाटोमा आफूलाई मिनी ट्रक झैँ देख्छु ।
गाडी आयो । छोरीहरू पछाडि फर्किएर लपक्कै टाँसिए । यति बेला आफ्नै खुट्टा गलिसको हुन्छ । म ढल्न खोज्छु । यही धुलोमा थचक्क बस्नझैँ हुन्छ । मै धुलामा बसेँ भने छोरीहरू कहाँ अडिएलान् ? गाडी पर पुगिसकेको हुन्छ । उनीहरूलाई हातको ईसाराले अगाडि हिँड्न सुझाउँछु ।

बाटोभरि अभिभावकहरू भेटिनुहुन्छ । बोलाउनुहुन्छ । नबोलाइदिनु भए नि हुन्थ्यो जस्तोे लाग्छ । नबोलीकन हिँड्यो भने परसम्म अलि सजिलो गरी पुग्न सक्छु । बोल्नलाई रोकिएपछि त त्यही बिसाउन मन लाग्छ । यसो गरेपछि समयमा कहाँ स्कुल पुग्न सकिन्छ र ? अभिभावकहरूसँग बच्चा चिनेर बोल्नु पर्यो । बच्चा बारे बेलिबिस्तार लगाउनु पर्यो । सास बढेर एकातिर हैरान हुन्छ । संवाद छोट्याउँदै बाटो समाउँछु । विद्यालयको गेटबाट भित्र पसेपछि ठुली छोरी आफैँ आफ्नो कक्षातिर जान्छिन् । सानी छोरीलाई ढोकासम्म पुर्याइदिन्छु ।

“बाइ आमा ”
हात आफैँ हल्लन्छन् । छोरीको ब्याग उनलाई दिएपछि भारी अलि हलुको हुन्छ । छोरीहरूको कक्षा समय त भएको छैन, साथीहरूसँग खेल्दै बस्छन् ।
स्टाफहरूको अफिस तेस्रो तलामा छ । भर्याङमा पहिलो खुड्किलो आँटले टेक्छु । भित्ता अठ्याएर बिस्तारै चुपचाप उक्लन्छु । केहीछिन सास नफेर्दा पनि मान्छेलाई केही नहुँदो रहेछ । पेटको बच्चाले पनि धैर्य गरेर साथ दिइरहेको जस्तो लाग्छ । तेस्रो तला पनि उक्लन्छु । खाजाको झोला थपक्क राखेर सरक्केै कुर्सीको बिट पकड्दै बस्छु । उकालो चढ्दा दबेका सास बिस्तारै बाहिर निस्कन्छ । लगातार सास लिँदै फाल्दै गर्छु । बाउँडिएका छेपारी बिस्तारै ठाउँमा आउँछन् । वरिपरि केही शिक्षक शिक्षिकाहरू छन् । उनीहरूलाई नियाल्छु मात्र । करिब दश मिनेट पछि ल्यापटप बोकेर प्रोजेक्टर जडान प्लस टुको कक्षातिर लाग्छु । कक्षाभित्र पसेपछि म दुई जिउकी छु भन्ने बिर्संदो रहेछु । विषयवस्तुभित्र पसेपछि चालिस मिनेटको समय पाँच सेकेन्डको जस्तै बन्छ । पाइतालाहरू भतभत पोल्दा स्लिपर खोलेर खुट्टा सिमेन्टमा चिस्याउँछु । समय सकिन्छ । अर्को कक्षाको समय हुन्छ । उतै जान्छु । 

टिफिनको समय भयो । प्यासेज र भर्याङ भिड हुन्छ । खाजाको झोला बोकेर मुस्किलले आफ्नो जिउ जोगाउँदै छोरीहरू भएको तल्लो तलामा झर्छु । आधा घण्टाको समय हो, हतार हतार छोरीहरूलाई खुवाएर कट्याककुटुक आफूपनि केही खान्छु । छोरीहरू आ–आफ्नो कक्षातिर लाग्छन् । ठुलो भिडमा तीन तले भर्याङ तीन मिनेटमा चढ्नु छँदै छ । कक्षाहरू लगातार छँदै छन् ।
विद्यालय छुट्ने समय हुन्छ । छोरीहरू डोहोर्याउँदै घर फर्कन्छु । खाजा खाएर उनीहरू गृहकार्य गर्न बस्छन् । बिहानको धन्दा सफा गरेर छोरीहरूलाई खाजा बनाइदिन्छु । उनीहरू खाजा खाएपछि गृहकार्य गर्न बस्छन् । म खाना बनाउनतिर लाग्छु । बसेपछि उठ्न र उठेपछि भित्ताको सहाराबिना आफैँँ बस्न सक्दिनँ । धन्न हातहरू काममा अभ्यस्त बनिसकेको हुनाले शरीर हलचल गर्न नसके पनि भान्साको काम  सहज बनिदिन्छन् । 

खाना पाक्यो । ढोका अगाडि प्यासेजमा थचक्कै बस्छु । पहाडझैँ शरीर बिसाउँदा आउने आनन्दले भरै उठ्दा हुने गाह्रो बिर्साउँछ । म पो बसेकी छु त, हावा उडिरहेको हुन्छ । घाम डुबेपछि जून फक्रँदै छ । चमेराका हुल प्यासेजतिर डुल्न आइपुगेका छन् । टक्क रोकिएको यात्रीलाई देखेर गतिमा हुनेहरूले के सोच्छन् कुन्नि रु मलाई चाहिँ गतिमा बहनेहरू देखेर भरोसा जाग्छ । उहाँ आइपुग्नु भयो । पिउने पानी लगिदिनु छ । मनले यसो भन्नै लाग्दा आल्वाडीमा बसेको सिसाको गिलास आफैँ फिल्टरको पानीले भरिन्छ । भरिएपछि सररर हिँड्दै उहाँ अगाडि पुगेर टक्क अडिन्छ । उहाँले पानी सट्ट पिउनुहुन्छ र गिलासलाई बडो मायाले टेबलमा राख्नुहुन्छ । मेरोजस्तै उहाँको पनि घरको सामानहरूसँग सुमधुर सम्बन्ध छ ।

भात, दाल, तरकारी, अचार पस्कने थाल, बटुकाहरू आफैँ टेबलमा मिलेर लाइनमा लागिसकेका छन् । मलाई हतार लगाउँछन् । ढोकाको पल्ला समाएर कनिदै उठेर भित्र पस्छु । भात, दाल, तरकारी, अचार कुकर, कराहीबाट आफैँ थाल बटुकामा पस्छन् । “भान्सा तयार भयो है ।” उहाँलाई सङ्केत गरेँ । 
“ल, हामी आयौँ ।” छोरीहरू अघिपछि लगाएर आउनुहुन्छ । छोरीहरूले मलाई पिरोल्छन् भनेर उनीहरूलाई उहाँले नै सम्हाल्नुहुन्छ । जुठा थालबटुकाहरू धारामा मान्छे नुहाएझैँ गरी सफा हुँदै छन् । चुलो, टेबल पुछिए । भोलिपल्टलाई सब्जी तयार गरेर फ्रिजमा राखेँ । चुलोको काम सकिएपछि मात्र खाना खान्छु । अगाडि नै खाए भने पेट बढेर काम गर्नै सकिन्न । 
अघि हटकेसमा राखेको खाना तानेर भुइँमा बसेर खान्छु । टेबलबाट सुन्तला टिपेर बाहिर निस्किएँ । एक आकाश उज्यालोमा सुन्तलाको बियाँ केलाउँदै खाएँ । दाँत ब्रस गरेपछि कोठातिर लागेँ । डेलिभरीको समय नजिकिँदै छ । 

शनिवारको दिन । सुती र झुनाको कपडाको केही जोर भोटा, दुईवटा गाउन र दुईवटा पेटीकोट सिलाएँ । घरमा कपडा सिलाउने मेसिन छ । फ्लाटिनका केही टुक्रा कपडा, सानो सिसीमा निखर तोरीको तेल, १/२ वटा नयाँ तौलिया ठिक गरेर जेब्रा झोलामा लगाएँ । दिनहरू जाँदै छन् । स्कुलमा छु । लिजर समय, कान्तिपुर दैनिक टेबलबाट तानेँ । अगाडि पृष्ठको हेडलाइन समाचारमा आँखा पर्यो । ठुलो अक्षरमा लेखिएको छ – ‘डाक्टरको अभावमा सुत्केरी महिलाको ज्यान गयो।।। विस्तृत पेज ३ मा ।’ 

एक मिनेट अघिसम्म मसँग कुस्ती खेल्दै आएको मृत्यु कता छ भनेर बिस्तारै  आँखा खोलेँ । ऊ त मदेखि डराएर लेबर रुमको ढोकाबाट बाहिरिँदै पो रहेछ । 

“हैन, यस बेला मलाई डराउने बनाउन किन यी पत्रकारहरूले यो समाचार लेखिरहन्छन् रु” भित्र भित्रै चिसो हुन्छु । झननन रिँगटा लाग्यो । करोडौँ रङ्गीन झिल्काहरूले आँखालाई झ्याप्पै छोपे । कहिल्यै नभेटेका सुगन्धहरू नाकमा आएर ठोकिन्छन् । केको सङ्केत होला भनेर झस्कन्छु । घर फर्कदै छु । मलाई केही भयो भने त रु अगाडि हरदम दुई छोरीहरू आउँछन् । हिजो स्कुलबाट घर आइपुगेदेखि नै व्यथा सुरु भएको हो । यो बिहानदेखि कन्ट्राक्सन बढेको हो । अहिले अस्पताल आइपुगेको छु । बेडमा भर्ना हुनको लागि कागजात मिलिरहेको छैन । दुःखाइ बढेको कति हो भने, प्यासेजमा बसेर काँपिरहेको छु । घण्टाभन्दा बढी समय पछि बल्ल बेड मिल्यो । बेडमा पुर्लुक्किएँ । कन्ट्राक्सनको मात्रा बढेर हिमाल पुग्यो । अहिलेसम्म छोरीहरू सम्झँदै थिएँ, अब त मृत्युसँग सम्मोहन बढ्दै पो गयो । हात खुट्टा छाडिदिएँ । रुन बन्द गरेँ । सास पनि फेरिनँ । आइयाको ‘‘आ’ पनि भनिनँ । कति एैया भन्नु रु कति मरेँ भन्नु रु दुःखाइको तह यति बढ्यो कि, जीवनको अलावा मृत्युको कामना गरेँ । फेरि यी बेकामे हात खुट्टाहरू नि आफैँ चल्न थाले । 

भित्ताको घडीमा ठिक दुई बजेको छ । 
“सिस्टर रु बच्चाले भित्रबाट बल गरे जस्तो लाग्यो  ।” झिनो स्वरमा बोलेँ । शरीर कम्मरदेखि उँधो सबै रक्ताम्मै भएको छ । रगतले भिजेको हरियो गाउन उठाउँदै नर्सले हेरिन् ।  
“हो रहेछ, उठ भित्र हिँड । अब बच्चालाई जन्म दिनु पर्छ ।” बेडबाट उठ्न खोज्छु , उठ्न सके पो । बल्ल तल्ल घोप्टो परेर टाउकोले टेक्दै आधा ढल्किएर बेडबाट भुइँतिर सोहोरिएँ । बल्लैले बेडको डन्डा समाएर आधा उठेँ । कुप्रो अवस्थामा नै हिँड्दै छु , खुट्टाहरूले भुइँ टेकेका छन् जस्तो पनि लाग्दैन । कता कता कुहिरोभित्र उडेजस्तो लाग्छ । बल्ल भित्र पुगेँ । बच्चालाई जन्म दिन तयार हुन बेडमा चढेँ । नर्सहरूले खुट्टाहरू स्टीलको डण्डामा छिराइदिए । म सुतेझैँ गरेर पल्टिएँ । 

“हातले बेडको डन्डा समाएर बल गर । बल गर, अझै बल गर, बच्चालाई भित्र गाह्रो भइसक्यो ।” नर्सहरू ठुलो स्वर पार्छन् । बच्चाको टाउको निस्कने बाटो सानो भयो भन्दै योनीको मुखबाट उँधो चक्कुले सरसर काटिदिन्छन्, दुख्दैन । “प्रसव व्यथा यति तगडा रहेछस् कि शरीरको दुःखाइ दिमागसम्म पुर्याउने नर्भहरूलाई मारिसकेछस् ।” मनमनै भन्छु । शरीरमा अनौठो असहज भयो । सास ठप्प रोकियो । मुटुले पनि धड्कन बिसायो । यति नै बेला पुलुट्ट जोड लगाउँदै बच्चा बाहिर निस्कियो । नर्सहरूले सालनाल सहितको बच्चा मेरो छातीमा राखिदिए । आँतमा दियोको किरण छायो, म त्यही न्यानोमा लुट्पुटिएँ । एक मिनेट अघिसम्म मसँग कुस्ती खेल्दै आएको मृत्यु कता छ भनेर बिस्तारै  आँखा खोलेँ । ऊ त मदेखि डराएर लेबर रुमको ढोकाबाट बाहिरिँदै पो रहेछ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

बादलदेवी चाम्लिङ

लेखकबाट थप...