अशोक किराँत नेपाली साहित्यमा कलम चलाइरहेका सक्रिय स्रष्टा हुन् ।

हाँ समय वशमा छैन
रोक्न मन थियो
भागिरहेको नदीलाई
अनि सोध्न मन थियोे
हे नदी तिमी किन
यति बिघ्न प्यासी
बनेकी छौ ? 
टिक्रिटको चिहानबाट
फेला पारिएको फौजका शवहरू
बैँशका तन्नेरी सौन्दर्य थिए
फुल्ने मौसममा
असिनाले चुटेको
गुलाफ जस्तै देखिन्थे ।

किन यति बिघ्न
नीच बन्छ मान्छे ?
पृथ्वी चोईटाउने
अस्त्र शस्त्रको आडमा
हरेक सेकेन्ड
बुध्दका बलि चढाई रहेछन्
आफू शेर बन्ने संकल्पमा

काबुलको घना जंगल होस् या
घना सहरमा
बन्दुकले फिँजाएको त्रासदी
यौटा कटु ऐठन बनेर
घाँटी निमोठी रहेछ
हरेक बिहानको
यहाँ हिंसा बशमा छैन ।

चुपचाप उम्किरहेको समय
रोक्न नमिल्ने जिन्दगीको सुई
भोग्नैपर्ने युगको यातना
आफू बुध्द भएर पनि
रगतको नदीमा
पौडिरहनु पर्ने बाध्यता
चुपचाप सहनु पर्नेछ
निकम्माहरूका द्वन्द्व
यहाँ मान्छेको मगज बशमा छैन।

मुखमा देखिन्छ रगतको टाटो
दाँतमा अल्झिएको छ मासुको चोईटो
जिब्रो रातै देखिन्छ
र पनि उसले
उध्घोष गरिरहेकै छ विश्वशान्ति

कति सजिलै चुँडेर
मिल्काई दिन्छ खुसीका गुच्छाहरू
कति सजिलै मुटुमा प्वाल बनाई
हान्छन् ब्लास्टिङ्गहरू
 
पेन्टागनको जुम्ल्याहा
भवन उँचिदा उँचिदै
ढलाईदिन्छ मान्छेको मष्तिस्कले
यहाँ मान्छेको बिचार बशमा छैन।
 
सोध्न धेरै मन छ
बगिरहेको नदीलाई
बुझ्न बाँकी धेरै छन्
चराको गीतहरू
तर घोक्नै पर्ने बाध्यता छ
शान्तवीरलाई बन्दुकको भजनहरू
 
किन यति बिघ्न निच बन्छ मान्छे ?
मुटुमा बम बोकेर
आत्माघाती मिसायल प्रहार गरिरहेछ
र प्रेममा ईश्वर नभएको
दाबी गर्दागर्दै
मान्छेको मुटुहरू विस्फोट हुन्छ
र फिँजिन्छ
यत्रतत्र संवेदनाका लासहरू
 
र त म भनिरहेछु
मान्छे ब्रह्माण्डकै वीर भष्मासुर
खै कसले घोषणा गर्यो ?
मान्छे प्राणीजगतकै सर्बश्रेष्ठ
खै कसले दाबी गर्यो ?
मान्छे बाँदरबाट पतित जीव।
मैले त सोध्नु छ
चराहरूलाई
नदीहरूलाई
घोर कष्टमा पनि
मुस्कुराईरहने
हिमाललाई
माटोलाई
युग र समयको बाटोलाई
म स्वयम मौनमर्जी
प्राणी जगतकै बिवेकशील
जीव हो या होइन भनेर ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अशोक किराँत

लेखकबाट थप...