फेमेसुवा गाउँको कामाने परिवारमा सानैदेखि छुटेर आफ्नै आमासँगै बस्ने कामाने जेठा जन्ममा जेठै हुन् । दार्जिलिङकाे चिया कमानमा काम गरेर र त्यहाँ व्यापार गर्ने बाजेका नाम थियो, कामाने । र गाउँले नाम चर्चित भयो । बुवाले सानीमालाई कान्छी (सौतेनीआमा) श्रीमती ल्याएपछि छुट्नुको बाध्यता थियो । उनी सानै उमेरमा व्यावहारिक पीडा पाएकाले पनि कमानमा गई व्यापार गरेर व्यवहार चलाउने उनको पहिलो रोजाइ भयो ।
युवा उमेरमै केही मन मिल्ने तरुनी पाएकोले रोज्जा प्रेमविहा गर्छन् । तीनै श्रीमतीबाट दुईछोरी र दुईछोराहरू पाउँछन् तर विडम्बना । दुईछोरा भएकै बेलामा उनी अल्पायुमै क्यान्सर प्रभावले मृत्युवरण हुन्छिन् । युवा उमेर मै कामाने जेठा वैधानिक राँडो बन्छ, जीवन जिउनुमा । आमा अनि आफ्ना बालबच्चाहरूलाई हुर्काउनु, पालनपोषण गर्नु र राम्रो शिक्षादिक्षा दिनु उनको परमकर्तव्य भएर आउँछ, थाप्लोमा ।
कामाने जेठाले कमानबाट सुर्तीमात्र नभई चूर-कंकट), पेपर, सलाई, लाइटर गाउँमा ल्याएर व्यापार गर्छन् । गाउँको जगर, सुनचाँदी, सुँगुरका पाठा, गाईगोरु, खुकरी, नाङ्लो, मर्चा आदि भेटेसम्म किनेर दार्जिलिङकाे कमानमा लगी बेच्ने गर्छन्, बाजे–बुवाको गाहाक्कीहरूमा । कामाने जेठा सबैको चिरपरिचित नाम, स्कुलमा सैनबहादुर थिए । हाटबजार होस् वा गाउँमा, सैनबहादुर नभनेर कामाने जेठा भनेर दुनियाँले बोलाउँछन् । उनको मुखमा कमानको व्यापार नै झुण्डिन्छन् । गाउँका बुढापाकाहरू ‘कामाने जेठा, व्यापारमा सिपालु । हुनु त उनको बाजे दार्जिलिङकाे चिया कमानमा लामो समयसम्म काम गरे । चियाकमानमा काम गरेकाले उनलाई कामाने भनेर नाउ राखी दिए । उसको नाती, चिया कमानमा काम नगरे पनि बाजेको सम्वन्धले कमानमा जान्छन् । व्यापार गर्छन् । धेरै फलीफाप छ । मोराको’ भन्छन् । व्यापार गरेर उनका सपना आफ्ना छोराछोरीहरूलाई अब्बल शिक्षा दिने र भविष्यमा राम्रो जागिर खान्छन् भन्ने उनको ठूलो मक्सद छ ।
कुवाबुङ्गे साइँलाको घरमा तीनदिने कुलपुजा सकेपछि बेलुका घरमा आएर दिनरात थाकेको शरीरलाई खाटमा बिसाउँछन् । चालै नपाई निदाउँछन् र सपना पाउँछन् ।
‘चिसो महिना इलाम बजारको बिहिबारे हटियामा पाठाहरू लगेर बेची फर्कन्छन्, वृद्ध जाहाने साइँलासँग । बाटाको रक्से बजारमा पुग्दा झमक्क रात पर्छ । आफैँ भातपकाई खानका लागि झिँजाहरू खोज्छन् । झिँजाहरू खोज्दा उनले एक प्याकेट ढाल (कण्डम) पाउँछ, नयाँ अचानक । टिपेर गोजीमा राख्छन् । खाना खान्छन् । खाना खाइसकेर अगेनामा हात सेकाउँदै गर्दा कामाने जेठाले ढाल खोल्दै ‘हाउ गाका, योता राक्खे पो है । यो हातमा लाएपिछि सिन्डिसेहेँहरू आउँदैनन् । परपर भाग्छन् । च्याँ...ठा पुढा । लागाउनु पर्छन्’ भन्दै हात तानेर जाहाने साइलाकोमा लगाई दिन्छ । जाहाने साइँला अलिक मान्दै छैनन् तर रक्खे पो है भन्दा सहमतिमा हात दिन्छन् ।
‘आलेन्ने, च्याँ..ठा राक्खे फनिस् । लु, लागाइ ते न त ।’ स्वीकृती र बेलुकी चिसो भएकोले एकछिन आगो ताप्छन् । जाहाने साइलाको नातीनी सुक्कुम् धन्दा गरी सकेर अगेना मै आगो ताप्न आइपुग्छे । कामाने जेठाले जाहाने साइलाको हात छोप्नुको हैरान हुन्छ । सुक्कुमले देख्छ भनेर । बिहान सुक्कुमले बाजेको हातमा रब्बरको पञ्जा लगाएको देखेपछि लाजले धेरैअघि हिँडेर राँकेहुँदै घर पुग्छन् । घरपुग्दा पनि बाजेको हातमा तेत्तिकै छ । सुक्कुम रिसाउँछिन् ।
‘बाजे, यो त एसरी लाउने नै हाइना नि । फाल्नु पर्छ । लाज लाग्दैन, थेत्थे ? । छ्या ?’ भनेर हात तानेर जब्बरजस्ति खोलेर फालिदिइन् । बाजे मान्दै छैन । ‘कामाने जेठाले राक्खे फनेका छन् । एएए’ फालेको तिर हेर्छन् । सुक्कुम लजाउँदै ‘बाजेधिक् बा, यो त हातमा होइना नि लगाउने । योस्मा हातमा लाउने पो त । छ्या ? थेत्थे ?’ भनेर बेस्सरी हाँस्छिन् । अलिक पछाडि कामाने जेठा त्यहाँ आइपुग्छ । जाहाने साइला रिसाएर ‘ए च्याँ...ठा तुइले त योस्मामा छोप्न्या पिलाष्टिक पो तिईस् रे ।’ ‘होइन–होइन’ भन्दै मुसुक्क हाँस्दा शंका काट्छन् साइला बुढाले । रिसमा एक ठ्याम् गालामा चड्काउँछन् ।’ झसंग हुन्छ ।
सपनाले गर्दा एकाबिहान मरी–मरी हाँस्छ कामाने जेठा, बहूला जस्तो । आखिर सपना सपनै थियो । यसैबेला उनको अर्को घटनाको बेस्सरी स्मरण हुन्छ ।
‘पाठा व्यापार सकेर फर्कँदा फाबारी काका बेस्सरी खोक्छन्, तुम्लिङ् बासमा रातभर । बाटामा खोकीको कत्तै ओखती पाइएन । ईलामको जसविरे स्वास्थ्यचौकीमा खोकीको ओखती मागेपनि छैन भने । वाहिर ‘चाहिए जत्ति लैजानुस्’ भन्ने वाकसबाट फाबारी काकाले नदेखि दुई प्याकेट ढाल (कण्डम) निकालेर बोक्छन् । पुवाखोला खोँचमा पुग्दा रुघामार्गिको ओखती भन्दै एकप्याकेट खोलेर खुवाउँछन्, रबरलाई । र अर्को प्याकेट गोजीमा राख्न दिन्छन् । वेस्सरी चपाउँदै घर पुग्छन् । काकाले घरमा पु¥याएर छोरी कान्छीलाई लुकाउन दिन्छन् । तर कान्छीछोरीले ‘बुवा चैँ’ भन्दै फाली दिन्छे । फेरी बाबैले टिपेर लुकाउन लगाउँछ ।
‘क्याना फाल्याको हाँ । तेरो ताजुले फन्दा मार्किको ओखती रे, लुका ना ।’
‘छि ? बुवा चैँ, काँ यो मार्किको ओखती हो । हाइना नि । थेट् लाज लाक्तैना, आरेन्ने ।’ छोरीको गाली ।
‘तेरो ताजुले मार्किको ओखती फन्यो त ।’
‘कस्तो कामाने दाजु रछ हाउ, किन बुढापाकालाई झुक्याउनु, नामर्द ..’ छोरीको रिस ।
फाबारी बुढाले बल्ल कुरा बुझेछ । फाल्ने सहमति । विचरा फाबारी काका बेस्सरी रिसाउँछन्, कामाने जेठासँग । मार्गी पनि निको हुन्छ ।
सानैदेखि कामाने जेठा जिस्किनु र इत्रिनु उनको राम्रो शौख थियो र छ । फेमेसुवा टोलमा दौँतरीहरू मध्ये केही साक्षर थिए । पञ्चायतकाल भरी त्यहाँका सुब्बा, कार्बारी र बुढौलीहरूले दसैँभरी मानसिरी (मालश्री) गाउन लगाउँछन् र गाउँछन् दौँतरी बरबोटे माईलासँग मिलेर । उनी याक्थुङ् लिपि समेत पढ्न सक्ने व्यक्तिमा पर्छन् ।
हिउँदको समय थियो । एकपटक छिमेकी–छिमेकीहरूमा आफ्नो दाजुभाइहरू झगडा पर्छन् । तेसमा कामाने जेठा पनि अचानक घानमा पर्छन् । भागरे भाग, ३५ दिनसम्म । विचरा तेस्तो झगडालु भने होइनन् । बरू अरुहरूको व्यापारमा चैँ चुनौति थप्ने सकृय कामानका व्यापारी चैँ हुन् । कुरा गर्न अत्ति सिपालु हरतरह आफ्नै पक्षमा पार्न सक्ने दमदार व्यक्ति ।
आङ्लामा औल खेती गर्छन्, कामाने जेठा । चैतमास, औलको गोठमा गोरुहरू बाँधी राखेका छन् । निवुखोला र बेलामौका हावाका झोक्काहरू मज्जैले सुनिन्छन्, सननननन । गोठाला गर्दा सल्लाघारीको एउटा सल्ला रूखमा चिलको बच्चाहरू उमेर पुग्दै गरेका देख्छन् । गोठ बस्ने निहुँ गरेर चिलका बच्चाहरू निकाली बेस्सरी तिहुन भुटेर खाने योजना बनाउँछन् र सबै सातुसामल बोकेर बिहान गोठ झर्छन् । गोठमा हत्तार–हत्तार गरेर पानी, आगो, चुला सबै जुटाएर चम्कानामा चामल पानीसँग मिलाई भाँडा बसाउँछन् । सल्लाघारी गएर सल्लाको टुप्पामा बसेको चिलका बच्चाहरूलाई ढुङ्गाले हिर्काउन थाल्छ । एकदुई खेप गर्दै तीनखेपले एउटा बच्चालाई लाग्छ । खस्न नसकेर गूँडको सिन्कामा अल्झेर तन्द्रङ्ग झुण्डिन्छ । माउहरूले पुरै घेरावन्दि गरेका छन् । अब, झर्ने भो भनेर हिर्काउँदा हिर्काउँदै आधाआकाश घाम भैसकेको हुन्छ । वरिपरिका ढुङ्गाहरू कोट्याएर सके । अचकल्टो चिलको बच्चा र बसी राखेको बच्चालाई झार्न सकेन । हातहरू ढुंगा फाल्दा–फाल्दा दुख्छन् र भोक अचाक्ली लागेकाले गोठ फर्कन्छ । भात पकाएको भाँडा उघार्छ । आक्को हाउ, छपनीसम्म भात डढेको । ठस्स गुनाउँछ । बिस्तार उठाएर हेर्छ । भाँडाको पीँधनै खरानी भइसकेको खाग भएर । हलुँगेको भाँडा अनि सल्लाको आँख्लाको अगेनु बनाएपछि कडा तापको कारण भाँडा र भात डढेर खाग भएको । ‘ला, आमाले मार्ने भए’ भनेर चिन्ता लिन्छन् । दिनभरी खानै नखाई गोठाला गर्छन् र बेलुका डढेको भाँडा लिएर घर फर्कन्छ ।
घरमा आमै काम गर्दैथिइन् । पहिलो नजरमै भाँडा छेँडिएको देख्छन् र कराउँछन् ।
‘हाइना ठुल्या, फाँडा त तुलो पनाइ पठाइस् । क्या करिस् । हाँ ।’ कुटुँला जसरी झम्टिन् ।
‘आमौ, कोठमा पुगेङ् । कोठ बुग्दा यौडा कोरु थाल्लामा छैनन्, गिलैसांगा । हात्तारले आगो भुकीवरी फाँडामा फात राखेङ् आनि कोरु खोज्न कएङ् । कोरु आलिक बर घरपारीमा जर्दैछन् र भर्काउछुङ् । भर्काउन येक ठुङ्गा हान्याको त कोरु दर्सेर मूलपाटोको देर्सैदेर्सो गुद्छ । बछ्याउँदै भर्काउन खोज्युङ् । बुच्छार ठाडो पनाएर लेत्छेक्वा जांगाल हुन्दै शाप्सु जांगालतिर दुप्फान गुद्छन् । पल्लपल्ल करेर शाप्सुबाट भर्काउँछुङ् दर एत्ता आएर ओरालो पाटो गुद्छन् । निबुखला, भाक्तेपखला नाङ्घेर फोङ्द्रा जांगाल बुग्छ । फोकले हात्तु हुन्छुङ् । खाम आथा आकाश बुगी सक्छन् । कोरु गुदेको गुदेकै । पल्लपल्ल ओझाजेप्पा काउँमा बु¥याएर भर्काउँछुङ । कोरु कलेछ । लाखातरान फएर कोरु कोठ बु¥याउँछुङ् र आर्को गोरुपनि भुकाएर चारानमा छोडि बठाउँछुङ् । एसो फाँडा हेरेको त सप्पै टढी कएछ । गे कर्नु आमो ।’
सक्दो ढाँट्दै मुसुमुसु हाँस्छ, कामाने जेठा । आमाले शंकालु आँखाले त हेर्छन् । तर छोराको बचन विश्वास लिन करलाग्दो रहेछ, आमाले । विश्वास गरिन् ।
बर्खासमय आङ्लाको औलमा धान रोप्दा–रोप्दा सबै परिवार गल्छन्, थाक्छन् । मैजारोका दिन छोराछोरी सबै मिलेर भाले काटिखाने सल्लाह हुन्छ । ठुलो भाले मैजारो बेलुका समातेर रिमरिम साँझमा छोरा कान्छासँग काट्न लाग्छन् । कान्छा छोराले टाउको समातेर गर्धन अचानो माथि राख्छन् र काट्छन् । हत्तारले भालेको रगत बटुकामा थाप्छन् । निक्कैबेर पछि कान्छाछोरा मुसुमुसु–मुसुमुसु एकोहोरो मात्र हाँसेको देख्छ ।
‘गिना हाँसेको देरिमा मुला ।’
‘अनि बटुकामा त रगतै परेको छैन ।’ छोराको जवाफ ।
बटुकामा हेरेको त साँच्चै रगत छैन । के पो भो भनेर रामरी हेर्दा त काटेको गर्धन चैँ नसमाती पुच्छरमात्र समातेर बटुकानिर तन्काएछ । ‘थुक्क्रा छेक्न्या, गे पो फो फनेको त बुच्छारपाट काँ रगत छर्नु । किना पो आघितेखि इन्जारतिर दात्दातो हुन्दैछन् फनेको त छिनालेको कर्धन देत्ताबट्टि भर्काएर दातो रगत सुराल फरी बरेबच्छि पो दातो फएको रहेछन्, थुक्क्रा माछेक्न्या ? फएन ।’ अशुद्धि बुद्धिमा रिसाउँछन् । भालेको रगत सुरुवालभरी पर्छ रात्तै । बटुकामा एकथोपा रगत छैन । मुर्मुरिँदै अगेना लगेर त्यै कान्छाछोरालाई भुत्ल्याउन अह्राएर लुगा फेर्छन् बेलुका । बिहान कुवामा लुगा धुन जाँदा त्यहाँ भाउजूहरू पनि रहेछन् । भाउजूहरूले सुरुवालमा रगत देखेपछि जिस्क्याएर लोत पार्छन् । ‘हाउ चेठा, आलेन्ने तेरोमा पनि नाछुन्या मैनावारी फएछ । च्याँ...ठा ... । कास्तो हुन्छ मैनावारी हुन्दा’ मरीमरी हाँस्दै पालैपालो भाउजूहरूले जिस्क्याउँछन् । ‘अँ अँ ह ह’ भन्दै सुरुवाल धोएर हत्तारले घर फर्कन्छ ।
कामाने जेठा, तुम्याहाङ् पनि हुन् । बिहाकार्जेहरूमा हाक्पारे रातभर गाउनेमा सम्लग्न हुन्छन् । सामाजिक कार्यहरूमा सहभागी हुन्छन् ।
असोजको समय ईलाम बजारको हाट भरेर फर्कँदा गाउँले साथी सुभाजेठा हुन्छ । सुभाजेठा त झनै उडिरहेका चरा गफले समात्ने मानिस नै थिए, व्यापारमा । हिँडेर थाकेको बेला राँके छेउ चिम्फुला पुग्दा साह्रै तिर्खाउँछन् । र जाँड खान सल्लाह गरेर पेम्बाकोमा छिर्छन् । सुभाजेठा कराउँछ ।
‘हाउ नाना, खारमा कोका छन् हाउ ।’
‘हामी छा हाउ, ज्योज्यो । कात्ता बाटा ।’ घरभित्रै बोल्छे ।
‘हाउ नाना, मिठो चाँड बाउँछ फने जारसेर पना हाउ ।’ कामाने जेठाले अर्डर गर्छ ।
जाँड बनाउँदै गर्दा यस्तो मिठोगन्ध आउँछ, पिइहालुँजस्तो । अचार पनि किनामा, मगमग बासना । सुरुमै सुभाजेठालाई पेम्बाले राखी दिन्छिन् र ‘लास्सो’ भन्छिन् । यसपछि अर्को कामाने जेठाका लागि जाँडको बटुका ल्याउँदै गर्दा सुभाजेठा बोल्छ ।
‘ए नाना, यो मेरो साथी त फर्खर तेवारी निस्केको छन् । आइमे गेटीहरूले पनाको छोएका खाँदैन, जल्दैन । जोखो नितोमात्र खान्छन् । नभए कुरु रिसाउँछ, पित्तोल हुन्छ ।’ कामानेले पनि ‘ह, ह, ह’ भन्दैथिए । नजिक आइसकेको जाँड पेम्बाले फर्काउँछे । कामाने सुभाजेठासँग रिसाएर गर्धन फुलाउँछन् । तेत्ति मिठो जाँड एक डेक्चि स्वादले पीउँछ । कामाने जेठाले थुक निल्दै अन्ट न सन्टको देवारी भई टोपलेर हेरेको हेरैछन् । खाईसकेपछि जाँडको पैसा तिरेर निस्कन्छन् ।
‘चाँठा, आजु नाक्काटी मारिस् ।’ कामाने जेठा रिस ।
‘हथ्, चाँडको मिठो कन्ध आयो आरेन्ने । सानो डेक्चिमा मात्र पनाए, पेम्बाले । आघाउँदिन फनेर तेसो फनेको । नारिसा, बौवा बुगेर किनी तिउँला ।’ सुभा जेठाको सम्झाई ।
‘आजु नाकुटि मारिस्, चाँठा ।’ कामाने जेठाका पूनः दुःखद रिस ।
‘किनी दिन्छुङ्, कामाने । नारिसा ना ।’ सुभा जेठाको पूनः फकाई ।
पौवामा पुगेर एकडेक्चि जाँडको दण्ड हुन्छ, सुभाजेठालाई तर मकैको जाँड । स्वाद हराएको बेश्वादे । स्वाद बिग्रेको मकैको जाँडले भुँडी हुस्हुस्सिन्छ । यस्तै भो कामानेको । गाउँमा पुगेर सुभाजेठाले मात्र कामाने जेठालाई तह लगाएको कुरा हावासरी चल्छ । सबैले हँसिमजाक गरिदिन्छन् ।
आमा पनि खसिन्, सुद्धसाङ्खेसम्म निक्कै खर्च उठ्छ, कामाने जेठाको । सबै कमानबाट कमाएकोले थाम्छ । छोराछोरीहरूले स्थानीय माद्यमिक तहदेखि मास्तिरसम्म पढ्नै सकेनन् । पढोस् भन्ने कामाने जेठाको सारै ठूलो चाह थियो । आफु ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो भन्या झैँ छोरीहरू केटा समातेर फाच्चा जान्छन् । छोराहरू माद्यमिक तह अध्ययन गरेर आ–आफैं प्रेमविहा गर्छन् । गरिखान सुरु गर्छन् । विदेश जान्छन्, आउँछन् तर बुवाको हेरचाह चाहे जस्तो गर्दैनन् । साक्खे तुम्बाको एक्लो बुहारी उनको भाउजू पर्नेलाई काम गर्न घरमा राख्छन् ।
‘यो कामाने जेठा त लबस्तारा रहेछ । कस्तो भाउजूलाई घरमा राखेको, लगन नै नगरी । पाप लाग्छ नि ।’ झँक्लालीको कुरा ।
‘आब्बुई, खैत्रङ्बुङ्गेको बुहारीलाई त भ्याको रे । कस्तो नाता नदेख्ने पशू छ्या ?’ तल्लाघरे बुहारीको कुरा ।
‘भाइबुहारीलाई भ्याएर त पोक्चेकान्छालाई भिराई पठाएको रे ।’ पुर्चे काकीको तर्क ।
‘बुढो भएपनि इत्रिँदा भाइबुहारीहरू फुरुक्क हुने, छि ? ।’ झँक्लालीको महिला प्रति शंका ।
‘खपाङ्गे कान्छीलाई पनि भ्याउँदैछ रे हाउ, अचेल ।’ पुर्चेकाकीको अर्को शंका ।
आफ्नो श्रीमती खसेको पनि तीन दशक बितिसकेको राँडो भएकैले यसरी गाउँले महिलाहरूले सक्दो कुरा काट्छन्, फेमेसुवा गाउँमा । यस्ता धेरै बेइज्जती कुराहरू गरेपनि वास्ता छैन, कामाने जेठालाई । बेमतलब छ, जिन्दगीको । मरेको श्रीमतीको माया र छोराछोरीकै कारणले अर्को श्रीमती ल्याउन नसक्दा जीवनको उत्तरार्धमा विभिन्न भूमरीहरू उठेको सुन्छन् । चाहे भ्याएपनि या नभ्याएपनि केही प्रतिक्रिया उनमा छैन । उ एक्लो–एक्लो हुँदै जाँदैछन् ।
कमानमा व्यापार गरेर केही सम्पत्ति जोहो गरकै थियो । स्थानीय चुनाव हुँदा उनलाई वार्डको अध्यक्षमा उठ्छन् । राजनैतिक धरातल कमजोर थियो । सबै मिलेर उनको लोकप्रियतालाई हराउँछन् र कमाएको सम्पत्ति चुनाव खर्च भएर स्वाहा हुन्छ । समयानुकुल परिवर्तन हुन उनलाई निक्कै गारो भए । तैपनि समुदायमा टिक्न हरपल प्रयासरत छन् ।
अचेल टाढा व्यापार गर्न सक्दैनन् । गाउँघरमै साना मसिना गोसहरू गर्छन् । सुर्ती, चुर, पेपर, सलाईको व्यापार पनि गर्न छोडेका छन् । उनका लक्ष्यहरू कुनै पुगेनन् । छोराछोरीहरूलाई धेरै पढाएर रोजगार खाउन् । उनीहरूले मनग्गे मलाई स्याहार सुसार गर्लान् र आनन्दले मर्नु पाउँछु होला भन्ने सपनाहरू सबै सकिँदै गए । अब यसो होला भन्ने आश पनि छैन । तसर्थ व्यापार सबै थन्काए ।
एक्लो, सकुञ्जेल कहिले सुसुवा, कहिले खपाङ्गे, कहिले हाङ्यक, कहिले सुरिखावा, कहिले पाङ्भेका पशुहरू मिलाएर काट्छन् । गाउँलेहरूलाई खुवाउँछन् । खपाङ्गे गाउँमा गोस गर्दैगर्दा खपाङ्गे कान्छीको घरमा अचानक प्राण टुट्छ । सबै अचम्म पार्छन् । छोराहरू एकजना विदेशमा भने एकजना झापामा । हत्तारले सद्गदका लागि दाजुभाइ जुट्छन् । खपाङ्गेदेखि लास बेकेर पज ?मा घरमा ल्याउँछन् । छोरा आउनसाथ लास दहन (दप्फन) अन्तिम सार्की च्यौत्रामा हुँदैछ ।
कामाने जेठाको इतिबृत्ति मानसपटलमा फनफनी घुम्दै आइरहेको छ, आख्यानहरू । मेरो छेउमा ड्याम्म बन्दुक पहाड छेड्ने आवाजले सम्पूर्ण मेरो तन्द्राहरू खोल्छन् । झसङ्गिन्छु । सबै मलामीहरू उकालो लाग्दैछन् । बन्दुके कराउँछ ।
‘लु जाउँ है, किरियापुत्री हिँडे ।’
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...