'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ३८

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ । कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ । 

यस अन्तर्गत प्रस्तुत छ, कवि सुवास खनालकाे कविता– ‘म कालीगण्डकी’

स्वीकार गर वा नगर

तिमीले मलाई 'म' भन्न दिँदैनौ भने
तिमीले आफूलाई 'आफू' भन्ने नैतिकता राख्ने छैनौ

म 'म' नै भएर रहन सकेँ भने
तिमी 'तिमी' नै अस्तित्वमा रहनेछौ

म काली भइदिइरहेँ भने तिमी गोरा भइरहनेछौ
म बग्दिइरहेँ भने तिमी अडिएर बस्न पाउनेछौ
मलाई थुन्न खोज्यौ भने तिमी बग्न विवश हुनेछौ
मलाई होच्याएर तिमी अग्लिन खोज्छौ भने
मेरै गहिराइको उचाइमा तिमी डुब्नेछौ

होसमा रहू
चेतमै काम गर
हाम्रा अस्तित्वहरूमा प्रहार हुनु
तिम्रो अस्तित्व सुरक्षित हुनु होइन

लालचको साँचो बोकेर
खोल्न खोज्छौ भने नम्बर नमिल्ने ताल्चा
मुर्ख्याइँलाई सच्चाइ सम्झिने
गर्छौ भने मुढ–आग्रह

तिमी अनुवाद हुनेछौ– एक नम्बर लालची ।
-हेटौंडा

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार