पोखरा- कवि एवम् लेखक अजित उत्सवको कविता संग्रह 'आकाशगङ्गाको किनार' को हिजो पोखरामा एक कार्यक्रमका बिच विमोचन सम्पन्न भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिले संयुक्त रुपमा कविता संग्रहको विमोचन गरेका हुन् । 

विमोचनपछि बोल्दै पूर्ब कुलपती श्रेष्ठले कविता लेखनमा युवाहरु जुर्मुराएको देखेर आफुलाई खुसी लागेको बताउँदै यस कविता संग्रहले कवि अजित उत्सवलाई कविको रुपमा साहित्यमा स्थापित गराउने विश्वास व्यक्त गरे । अर्का कवि एवम् प्राज्ञ रमेश श्रेष्ठले यस संग्रहणीय कृतिको लागि बधाई दिंदै संग्रह भित्रका कविताले आफू प्रभावित भएको बताए । 

विमोचित पुस्तकको समीक्षा युवा कवि एवम् समालोचक संजीव पौडेलले गरेका थिए भने उपप्राध्यापक परशुराम कोइरालाले कवि अजित उत्सवको जीवनी र व्यक्तीत्वमाथी प्रकाश पारेका थिए ।

कार्यक्रममा लघुकथा समाज प्रदेश नंबर १ कि अध्यक्ष ममता मृदुल, पोखरेली युवा साहित्यकार दिपक समीप, चर्चित गजलकार आवाज शर्मा, चर्चित कवि शिव त्रिपाठी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, शुभप्रभात साहित्य पुन्जकी अध्यक्ष मनु शर्मालगायत चार दर्जन बढी साहित्यकारको उपस्थिती रहेको थियो । युवा कवि रोशन तिमिल्सिनाले विमोचित कविता संग्रहभित्रको कविता वाचन गरेका थिए । 

कार्यक्रमको संचालन सगरमाथा साहित्य प्रतिष्ठान गन्डकी शाखा सचिव कवि लिली अधिकारीले गरेका थिइन् । कार्यक्रममा उपस्थित सबै दर्शकलाई नै सभापति बनाईएको थियो र समापन पनि सबै दर्शकले ताली बजाएर गरिएको थियो ।
पुस्तक विमोचन कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको हो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी गण्डकी शाखा उपाध्यक्ष छन्दिका त्रिपाठीले गरेकी थिईन् । 

बिएन पुस्तक संसार काठमाडौँले प्रकाशनमा ल्याएको कवि अजित उत्सवको यस कविता संग्रहमा जम्मा ५६ वटा कविता संग्रहित छन् । बिक्रि मूल्य २ सय पचास रहेको छ । विमोचनसंगै पुस्तक देशभरीको वितरण सुरु भएको कवि अजित उत्सवले बताएका छन् । निकट भविष्यमै एक कथा संग्रह र एक कविता संग्रह प्रकाशन हुन लागेको पनि कवि उत्सवले जानकारी दिएका छन् । 



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार