साहित्यकार विक्रम सुब्बा (डिल्लीविक्रम इङ्वाबा) २००९ साल पुस २० गते पाँचथर जिल्लाको फिदिम ६, वोदिनमा जन्मिएका हुन् । साहित्यबाहेक उनले विकाससम्बन्धी तालीम, रणनैतिक योजना तर्जुमा, आवधिक योजना तर्जुमा गर्न विभिन्न निकाय र परियजनाहरूलाई मद्दत दिने काम गरे। उनीसँग विदेशीलाई भाषा सिकाएको लामो अनुभव छ । भाषासम्बन्धी अनुसन्धानमा पनि सम्मिलित सुब्बाले नेपालका धेरै दुर्गम ठाउँको पनि यात्रा गरेका छन्। एमए (ग्रामीण विकास, बेलायतबाट) सम्म अध्ययन गरेका सुब्बा 'हर्डेक नेपाल' नामक संस्थाका निर्देशकसमेत हुन् ।
सुब्बाको 'शान्तिको खोजमा' (खण्डकाव्य), 'कविको आँखा कविताको भाका' (कवितासंग्रह), 'सगरमाथा नाङ्गै देखिन्छ' (कवितासंग्रह), 'सुम्निमा पारुहाङ' (मुन्धुम काव्य), 'कन्साइस लिम्बू ग्रामर एन्ड डिक्स्नरी', 'विक्रम सुब्बाका कविता र गीतहरू' , निरंकुश जुँगाविरुद्ध लगायत कृतिहरू प्रकाशित छन् ।
प्रस्तुत छ, सप्तरंगीका शुक्रबारका लागि द मार्जिनले तयार पारेका समाग्री:
विक्रम सुब्बाका तीन कविता:
१. सगरमाथा नाङ्गै देखिन्छ
कुनै छलकपटको चीसो योजना थाल्न हो कि
या कुनै झुप्रोहरूको छातीमा सर्दी हाल्न हो?
शान्तिको कुनै ओस्याईलो गीत गाउन हो कि
या कुनै गुराँसको कलकलाउँदो थुँगा अँठ्याउन हो?
आफ्ना केही सुकिला भारदार हिमालहरू लस्करै राखेर
सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छ
पहाडै पहाडको घुइँचो घारीमा
सबैभन्दा माथि उछिट्टएर फक्रेको
हिमालको थुङ्गा उदाङ्गै देखिन्छ
जताबाट हेरेपनि सगरमाथा नाङ्गै देखिन्छ !
प्रायः कुनै आरोहण दलको
पाइतालाले शिरमा टेकेको देखिन्छ
कहिले कुनै अराइएका चित्रकारहरूले
एक टुक्रा क्यानभासमा लेखेको देखिन्छ
बादलको थोत्रे बक्खु पनि फाटिसकेको
गौरवको बिचरो चुचुरो हृवाङ्गै देखिन्छ
जताबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ !
बुद्धको खप्परबाट सापटी लिएर दुइटा आँखाहरू
स्तूपाहरूमा टाँसेर गुम्बाहरू हेरिरहेछन्-
विदेशीको भरौटे भएका सपुतहरू
स्वदेशी डोकोमा विदेशी झण्डा बोकिरहेका छन्
नेपाली चुचुराको सिउँदोमाथि फरफराउन
ढुक्कै विदेशी झण्डाहरू उक्लिरहेका छन्
झोक्रिएर बसेको सिङ्गो हिमालय विवश र उदाङ्गै देखिन्छ
जताबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ !
२. एक दन्त्य कथा:
सुनाउँने पालो आयो आमाको
र सुनाउँनु थाल्नु भयो दन्त्य कथा –
‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो’रे
उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो’रे
खान-पिन र स्याहार पुगेकोले
बच्चो औधी फूर्तिलो र रहरलाग्दो थियो’रे
एउटा चित्रकारले बच्चो देखेपछि बिर्सनै सकेन
तसर्थ, उसले बच्चोको दुरुस्तै चित्र बनायो’रे
र दंग परेर, राख्यो’रे शिर्षक – ‘देवता !’
कालान्तरमा त्यो नावालक ‘देवता’
छातीभरि अनेक महत्वाकांक्षाहरूसँगै छिप्पियो
जतिजति आकांक्षाहरू झाँगिँदै गए ‘देवत्व’ घटदै गएछ
र एक दिन सम्पूर्ण देवत्व त्यागेर ऊ राजा भएछ
ताहाँ उप्रान्त राजाले
कहलिएका सामन्तहरूलाई आफ्ना भारदार बनायो’रे
गाउँ-ठाउँका परपिडकहरूलाई प्रशासनमा नियुक्त ग-यो’रे
थुप्रै सेना र हातहतियार जोडेर उसले दसतिर युद्ध थाल्यो’रे
एकबारको जुनी पाएका मानिसहरू लाखौँ मारिए
रगतको खोला बग्यो
अनेक स्वतन्त्र राज्यका अनुहारहरू बगेर विलय भए
युद्धहरू जिते पछि त्यो राजा बन्यो’रे – महाराजा !
यी सबै ईतिहास हेर्दै पाको भएको उही चित्रकारले
महाराजाको रंगीन चित्र बनाउँदा क्यानभासमा
मानिसजस्तो लाग्ने एक क्रुर तस्बिर उत्रेछ
र चित्रकारले राखिदियो’रे शिर्षक – ‘दैँत्य !’
कथाको अन्तिम अध्याय पनि आमाले सुनाउँनु भयो –
परन्तुमा ‘देवता’ र ‘दैँत्य’का चित्रहरू सँगसँगै टाँगिए’रे
र प्रदर्शनीमा लाखौँले ती दुई चित्रलाई गजबले हेरे’रे
आफ्नो तस्विरको शिर्षकले महाराजलाई रातभरि निद्रै लागेनछ
‘शिर्षक-अपराध’मा चित्रकारलाई जेलमा कोचेछन्
आफुले बनाएका चित्रहरूको विचित्र शक्तिको सम्झना गर्दै
जेलमै एक दिन चित्रकार म-यो’रे
तर, ती दुई चित्रले भनेको कथा कण्ठ भएर
चित्र हेर्ने लाखौँ मानिसको मन-मस्तिस्कमा बसेछ ।
त्यसपछि –
त्यो कथा बा-आमाहरूले छोरा-छोरीहरूलाई,
र, छोरा-छोरीहरूले –
फेरि उनका छोरा-छोरीहरूलाई सुनाउँदै-सुनाउँदै ल्याउँदा
एक दिन मेरै आमाको पनि पालो आयो
आमा बितेर गइसके पछि अब मेरो पालो आएकोछ –
‘दैँत्य’हरूबाट मानिसलाई मुक्त गर्नेभए
यो कथा धेरैलाई सुनाउँनु पर्छ
जस्तो कि तपाईँलाई म यो कविता सुनाउँदैछु ।
(एक पुरानो कथा/मिथमा आधारित !)
३. किताब :
लेखिँदैछ अब एउटा नयाँ किताब
मानिसहरू भन्दैछन् –
किताबको कुनै पनि अध्यायमा
राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन
युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्याइने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि खण्डमा
पार्टीका अड्डाहरू
भाडाका टाँगन घोडा बाँध्ने अस्तवल हुने छैन
मन्त्रालयका नयाँ कुर्सीमा
पुरानो छाँयाले जागिर खाने छैन
व्यापारीको बगैँचाका हाँगाहरूमा
बेभिचारका सन्तानजस्तो फल फल्ने छैन
कतैबाट संचालित कुनै सिल्लीहरूले
संसदको माइकबाट विष फुक्ने छैन
गाउँ-घर-टोलको सुरक्षाको निम्ती
कुनै बन्दुकेको राइफल भर्ति हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि दफामा
महिलाका उज्याला आँखा थुन्ने आँशु हुने छैन
रैथाने मानिसको किपटका पर्खालबाट ढुंगाहरू थुतेर
पुराण वाचन गर्नेको आशन निर्माण हुने छैन
स्वदेश गानका ढुकढुकी चल्दा
दलितका छातीको धुनलाई विरहको पहिरोले तान्ने छैन
मधेसका निकुञ्जहरूबाट निस्किरहेका सुगंधहरूलाई कसैले
देसद्रोही कुर्ता र अनागरिक सुरुवाल पहिर्यााउँने छैन
कर्णालीको नौरंगे डाँफेलाई फसाउँने इन्द्रजाल हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि हरफमा
लिम्बुवानको कञ्चनजंघामा स्वतन्त्र डुल्ने
ध्वाँसे-थ्याप्चे चितुवालाई धराप थापिने छैन
खम्बुवान-अरुणको हाक्पारालाई फसाउँने ढोडिया हुने छैन
तमुवान र मगरातलाई धसाउँने पाताले छाँगो हुने छैन
थरुहट र तामाङसालिङको निधारमा कालो वादल हुने छैन
झुप्राका छानाहरू जगल्ट्याउँने वतासको तुफान हुने छैन
खलंगातिर झरिरहेको बहुमुल्य जडीबुटी
कथाको केवल असहाय घाइते पात्र हुने छैन
तराइका अन्न सिरिफ चण्डालका लोकगीतको गेडा हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि अनुसूचिमा
मानिसका मुटु-कलेजो भेदन गर्ने सुइरो हुने छैन
छोरी-बुहारीको अस्मितालाई मुडाझैँ चिर्ने खञ्जहर हुने छेन
किसानको खेतले विधवा बस्ने मौसम आउँने छैन
मजदुरका हातहरू तुरुङ ठोक्ने शान्ति हुने छैन
विद्यार्थीका पठनपाठन रोक्ने घडि घुम्ने छैन
गायकले गीत गाउँदा कुनै हुकुमी ताल बज्ने छैन
कविहरूका अराजक उडानलाई बाँध्ने संहिता हुने छैन
स्वर्गजस्तो यो मेरो मुलुकमा
राक्षस उत्पादन गर्ने कारखाना हुने छैन
अब तिमी नै भन,
के के होला त त्यो किताबमा ?
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...