'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ३७

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ । कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ । 

यस अन्तर्गत प्रस्तुत छ, कवि डा. बालाकृष्ण अधिकारीको कविता– ‘कालीगण्डकीको चित्कार’

पवित्र जलको एउटा यात्रा
अनन्तकालदेखि
दामोदर कुण्डको पुच्छर समातेर
कुँदेर शलिग्रामहरू युगयुगका
बिसाएर गलेश्वर, मोदीवेणी, त्रिवेणी र देवघाटमा
पखाल्दै मान्छेका अगणित मयल
आफ्नै लयमा गाइरहेको छु
कालिनुको व्यथा नसुनाई कसैलाई
हराभरा फाँट र वृक्षसँग 
आफ्नै वेदनामा सुसाइरहेको छु ।

ए मान्छे !
प्रकृति तिम्रा लागि मात्र होइन
तिम्रो युगका लागि मात्र होइन
यसरी दुईचार पैसाका लागि
समयको कालकूट पखालिरहने मेरो छाती 
निर्मम भएर ताछ्ने अधिकार 
कसले दियो हँ तिमीलाई ?

तिमीलाई लाग्छ होला
म निर्जीव छु बिचरो छु
म निर्धो छु निमुखो छु
लाखौं कर्तुत सहेर पनि
तिम्रो वैभवताको क्षुधा शान्त गर्न
सुनका च्यूरा कुटिरहन विवश
म फगत एउटी
निरीह बुहारी मात्र हुँ
र, सधैं लाहुर ताकिरहने 
शलिग्रामहरू मात्र जन्माउन जानेको छु मैले ।

ए अविवेकी मान्छे !
यसरी युगौँसम्म 
भ्रमको तरबारले आफ्नै रक्तनशा काटेर
कहिलेसम्म वीरता उग्राइरहन्छौ
गहिरिएर हेर मेरा गर्भमा
फेर्न खोजिरह्यौ भने मेरो बाटो यसरी नै
घेर्न खोजिरह्यौ भने मेरो पाटो यसरी नै
एक दिन तिम्रै आँगनमा
मैले नचाहेरै पनि जन्मिनेछन्
संहारको शिव र विनाशको विष्णु
त्यतिबेला
तिम्रै आँगनमा जन्मिएका देउताको पूजा गर्न
तिम्रो अन्धो मानवता जिउँदो रहने छैन
तिम्रै मझेरीमा उम्रिएको सिस्नु उखेल्न
तिम्रो कंक्रिटको सभ्यता जिउँदो रहने छैन ।
-पर्वत

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार