बेन्जु शर्माको जन्म विसं २००४ मा डिल्लीबजार, काठमाडौँमा भएको हो । कविता र कथाका क्षेत्रमा कलम चलाएकी शर्माका विभिन्न कविता तथा कथासंग्रहहरू प्रकाशित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार, महेन्द्र विद्याभूषण, सुवर्ण पदक, रत्नश्री सुवर्ण पदक लगायत सम्मानबाट सम्मानित शर्मा नेपाली इतिहास संस्कृति तथा पुरातत्वकी पिएचडी हुन् ।
बिहानै सिरानीको शिरमा
कर्फ्यूको साइरन
मृत्युको शंखघोष हुँदा
गतिमा गोली लाग्दा
आवाजहरू दगुरिरहेका
तारहरूको घाँटी निमोठिँदा
शब्दहरू शरशय्यामा रोपिएको छ।
घाँटीमा कर्फ्यू
पाइलामा कर्फ्यू
आँखामा कर्फ्यू
सम्पूर्ण संवादमा कर्फ्यू
कर्फ्यु भाइरसले
निस्लोट ज्वरमा
देशलाई पकाउँदा
कर्फ्युको ठिँगुरोमा
देशलाई ठिँगुराउँदा
अरूलाई ताकेको बन्दुक
उल्टिएर कहिले
आफ्नै छातीमा पड्कन सक्छ
सायद यही समय आएको छ।
गतिहरू गर्वमा पुरिँदा
पाइलाहरू पातालमा भासिँदा
मात्र दिमाग दरिलो भएर
द्रूत गतिमा दगुरेको छ
टाउकाहरू पृथ्वीसँगै
घुमेका छन्
जति हातले पौठेजोरी खेल
लात्ताले हान
जति मल्लयुद्ध लड
तर टाउकासँग टकरार नगर
विश्वसँगै घुमिरहेको
विचारको संवाहक
एउटा विन्दुमा
सम्पूर्ण सिन्धु अट्ने
द्रुत गतिका दूतहरू
एउटै खल्तीभित्र अड्ने
एक्काइसौँ शताब्दीको
दिमागसँग शत्रुता नमोल।
अब बाबुले खाएको घिउको
हातमा कुनै सुगन्ध छैन
उहिलेका कुरा
उड्ने रङ्गजस्तै
खुइलिइसके
आजलाई
हिजोको खिया परेको साँचोले
कसरी बन्द गर्छौ ?
यी ताल्चा र साँचोका
सिक्री र साङलाका कुरा
यी दासताले छल्ने कुरा
कर्फ्युको कक्राइले करेट्ने कुरा
उहिले उहिलेका कुरा
लाक्षागृहका कुरा
पासाको खेलले
द्रौपदीलाई निर्वस्त्र पार्ने कुरा
धमिलो पानीमा
माछा मार्ने कुरा
वेश्याले गर्ने
पतिव्रताका कुरा
यो अब नगर
ओठे प्रजातन्त्रका कुरा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...