आगोले पोल्छ र कहाँ
पोल्ने भनेको त तिम्रो यादले हो
डायरीको कुनै पानामा च्यापिएको तिम्रो तस्बिरले हो
आगोले पोल्छ र कहाँ
मानवसङ्ग एउटा मौनता हुन्छ
मौनता भित्र अथाह चीत्कार
आगोको राँप बरफ भए
मौनता ज्वालामुखिको लप्का
आगोले पोल्छ र कहाँ
पोल्ने भनेको तिमी नहुँदा छाएको शून्यताले हो
अझै पनि कानमा गुन्जिरहने तिम्रो हासोका खित्काहरुले हो
आगोले पोल्छ र कहाँ
स्पर्श
स्पर्श तिम्रा अतितको स्पर्शहरुले पोल्छ्न
तिम्रो शरीरबाट आउथे अत्तरका सुगन्धित बास्नाहरु
हो त्यसैको अभावले पोल्छ
हृदयमा घोचिरहने हाम्रो प्रेमको सुर्क्याउनाले पोल्छ
मन सायद खरानी भएको हो जलेर
अनि मननै नरहे शरीरको के अस्तित्व
हेर
आज आगो बनेको छ जिन्दगी
यसै माथी सल्किरहेको छु म
आगोले पोल्छ र कहाँ
पोल्ने भनेको त हाम्रो चित्ता माथी फुलिरहेको प्रेमको रापले हो
पोल्ने भनेको त एक कविको असफल प्रेमको कविताहरुले हो
आगोले पोल्छ र कहाँ !
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...