'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ३६

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ । 

यस अन्तर्गत प्रस्तुत छ, कवि नमिता दवाडीको कविता– ‘म काली’ । 

भोकमा आफ्नै भुँडी धस्दै
गहिराइमा फस्दै
बगरलाई रहरका भाग पस्कँदै 
तिम्रै नुन-भुटुनको जोहो गर्न 
तिम्रै लागि बहिरहेछु बगरेहरू हो ।
तिमीले सोचेका हौला,
म समुद्र भेट्नमात्र बहिरहन्छु ।

ईश्वरले देखोस् नदेखोस् ,
तिमीले देख नदेख 
यो कालीगण्डकी आफ्नो बग्ने संस्कार अँगाल्दै
बहिरहन्छे
आफू सुकेर, दिइरहन्छे तिमीलाई हरियो संसार ।

रातजस्तै अँध्यारो रहेर तिमीलाई दिन दिइरहेछु,
आँखामा उज्यालो भरे पनि 
मेरो सरकार तेरो हृदयमा 
विवेकको बत्ती बाल्न सकेको रहेनछु ।
अन्धकार हृदयको सरकारलाई अब देखाउँदिन
समाधानका बाटाहरू,
सोध्दिनँ !
खोइ मेरा बहिनीहरू कहाँ गए
जलस्रोतको दोस्रो धनी देश नेपाल आमाका
कति नदी छोरीहरू थिए ?

सोध्दिनँ !
के गरुँ यी मेरा काखमा लुटपुटिइरहेका
बगरेका रहरे माछाहरूलाई ,
बिसाउँदिन बिन्ती तिमी क्रूरहरू माझ 
टल्किन देऊ अनमोल शालिग्राम कञ्चन मेरो छातीमा,

नबिर्स !
यो काली हो ,
हेपेर चेपेर मलाई आफ्नै माटोमा रम्न दिएनौ,
आफ्नै बाटोमा बग्न दिएनौ भने
मेरा काखमा हुर्किरहेका भुरा माछाहरूले
छटपटिँदै बगरमा देह त्याग गर्नुअघि ,
मैले बनाई छोडेका तलाउमा खुसी डकारिरहेका
भ्यागुताहरू काकाकुल बन्नु पहिले 
म तिमीलाई सम्झाइदिनेछु 
आफ्नो अस्तित्व  जीवित राख्न
मेरा दिदीबहिनी हेलम्बु
मेलम्चीले के गरे ।

अब शब्दको भाषा सकियो 
सुन् !
म काली, 
सुन् !  मेरो गडगडाहट,
म पहाड बोकेर आउँदै छु 
खस्दै छु तेरो  शिरमा काल बनेर
निकम्मा भुँडे सरकार ।
-गोर्खा

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार