सम्झना आउनु, गाउँको अकासमा बेलाबखत हेलिकप्टर आउनुजस्तो होइन
सम्झना आउनु, धाराबाहिकमा हरबखत विज्ञापन आउनुजस्तो होइन
सम्झना आउनु, हरेक फरवरी महिनामा भेलेन्टाइन डे आउनुजस्तो होइन
सम्झना आउनु, धेरैवर्ष हराएको प्रेमीको
अचानक फोन आउनुजस्तो होइन
सम्झना आउनु त एउटा शक्तिशाली कविताको
अन्तिम हरफजस्तो तिखो कुरा हो
जसले घोचेपछि मानिस मुर्दाबाट मानिस बन्छन्
चोरबाट साधु
मानिसबाट देवता
जस्तो कि बन्छन्
अण्डाबाट बचेरा
बचेराबाट चरा।
सम्झना आउनु त
आत्याधिक गर्मीको दिन
सुकेको धारामा सानो धर्का पानी आउनुजस्तो हो।
हत्केलामा थापेको दुइचार गेँडाथोपालाई
भारी बोक्ने भाउजुले भारी बोक्ने दाजुको सुकेको जिब्रोमा
छुवाउनुजस्तो
असिम तृप्ति हो
सम्झना आउनु त
मलाई पनि तिम्रो सम्झना आउँछ-
- जब अन्तिम पात पनि चुँडिएर जान्छ फलेदोको हाँगाबाट
उड्दैउड्दैउड्दै
बतासको हात समातेर कतै।
-जब कुनै एउटा ध्वान्द्रो भेटेपछि
बोलाउँछ आफ्नो परिवारलाई
धेरैदिनदेखि बराल्लिरहेको त्यो एक्लो मौरी
र खुब भुनभुनाउँछ भुन भुन भुन जीवनको गीत
मलाई पनि तिम्रो सम्झना आउँछ।
-जब गुँडबाट निस्किएर
पहिलोपल्ट कुनै हाँगामा फुत्रुक्क उफ्रन्छ
जुरेलीको बचेरा र खुब नाच्छ सफलताको त्यो रकगीतमा
चिरचिर फुत्रुक्क चिरचिर फुत्रुक्क
मलाई पनि तिम्रो सम्झना आउँछ।
- जब पहिलोपल्ट लेख्छ प्रेमपत्रमा
सबैबाट लुकाएको त्यो प्रेमिकाको प्रिय नाम
कुनै दुरदराजको गाउँले नायकले
र लजाउँछ आफ्नै सपनासित।
आफ्नो मनको कुरा शब्दले बोक्न नसकेपछि
जब च्यात्छ त्यो चिट्ठी
र एक्लै छाम्छ आफ्नो ढुकढुकिएको मुटु
मलाई पनि तम्रो सम्झना आउँछ।
तराईतिर कतै ला....मो सरलरेखाजस्तो हाइवे देखेँ भने
मलाई तिम्रो सिउँदोको सम्झना आउँछ।
अस्ताउन लागेको साँझको रक्तिम र ठूलो घाम देखेँभने
मलाई तिम्रो निधारको सम्झना आउँछ
निधारमा
ठिक सिउँदोमुनि अदबसित टल्किरहेको हो कि
मेरो बाटो छेक्न
चौकिदार बसिरहेको हो
त्यो बिन्दुलीको सम्झना आउँछ।
लालुपातेको फूलमा एकै थोपा पनि शीत देखेँभने
मलाई तिम्रो परेलीको सम्झना आउँछ
परेलीको टुप्पोटुप्पोमा लहलह फुलेका ती आँशुका
फुलहरूको सम्झना आउँछ।
कुनै अचर्चित कविको
कुनै पनि सुन्दर प्रेम कविता मात्र पनि पढेंछु भने
मलाई तिम्रा औंलाका स्पर्शहरूको सम्झना आउँछ
कतै हिमाल टल्किरहेको देखें भने
तिम्रो बलियो स्वाभिमानको सम्झना आउँछ
कतै झरना देखें भने
तिम्रो मनको सम्झना आउँछ
कतै पैह्रो देखें भने पनि
तिम्रै मनको सम्झना आउँछ
मलाई पनि तम्रो सम्झना आउँछ।
तर सम्झना आयो भनेर म
हातमा रक्सीको गिलास बोकेर गाउँदिन कुनै मन पोल्ने गजल
फेसबुक खोलेर पठाउँदिन कुनै पनि प्रेम डायललग
एकान्त खोजेर गर्दिन फोन
साँच्ची हो नानु
मलाई तिम्रो सम्झनामाथि दुर्व्यवहार गर्न मन पर्दैन
मलाई तिम्रो सम्झनाको वेइज्जत गर्न मन पर्दैन।
सम्झना आउनु, तिम्रो खस्रो अनुहारको निम्ति
कुनै नयाँ कम्पनीको दाम्मी क्रिम आउनुजस्तो होइन।
सम्झना आउनु, सस्तोमा आइफोन आउनुजस्तो होइन
सम्झना आउनु, बधैँचामा असिनापानी आउनुजस्तो होइन....
सम्झना आउनु
मौरीले मह राख्न बनाइरहेको चाकाको
त्यो पहिलो कोठाजस्तो हो
प्रेम कविताको
त्यो पहिलो हरफजस्तो हो
जुरेलीको बचेराको प्वाँखमा चढ्दै गइरहेको
त्यो वैंशजस्तो हो
***
यत्ति हो
मलाई पनि तिम्रो सम्झना आउँछ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...