जति बेला क्षितिजमा सूर्यका गुलाफी किरणले
बाटोमा आउने जाने यात्रीलाई बिदाइका हात हल्लाउँदै थिए !
म तिम्रो आउने सम्भावित दु:खको आयतनलाई
जीवनको गोल टेबलमा राखेर नापिरहेको थिए ।
तिमिलाई जुन र ताराहरूको माझ
उभिएको हेर्ने रहर पुरा गर्न,
म हत्केलामा एक टुक्रा आकाश बोकेर
तिम्रो ठेगान खोज्न हिँडेको थिए,
तर ,
यो परिश्रमको जीवनमा थकाइ मार्न खोज्दा !
मेरो सपनाको आकाश उडेर बिलायो ।
यो भूगोलको एक जोडी नौलो आँखा-
यो बस्तीको बुढो स्पर्श
एक नौलो खुसी- एक नौलो दु:ख
कसैले नदेखेको एक सेतो चरा
बेनाम कुनै फुलको बोट !
कुनै नयाँ अनुहारको आकार- कुनै अद्भुत मान्छे !
म पनि त हुन सक्थे ?
सम्भावनाका टाकुरामा बिरानो अतीत टुप्लुक्क बसेर,
बुन्दै छ, जीवनको सौन्दर्य चित्र,
मानौँ- समय रोकिएको छ, कामहरू थन्क्याएर जिम्मेवारीहरू थकाइ मार्दै छन् !
बिजुली चम्के जसरी भविष्य बेलाबेला, प्राप्तिका बादल लिएर आउँछ !
खुसीको इच्छाशक्ति भित्र एकपटक फेरि असिनाको प्रहारले
बिछिप्त भएर मेरो वर्तमान बेहोसीमा कतै हराउँछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।
लेखकबाट थप...