तिलक राई भुटानी शरणार्थी शिविर, बेलडाँगीमा रहेर नेपाली भाषा,साहित्यमा निरन्तर कलम चलाइरहेका स्रष्टा हुन् ।
म लडेको बेला
तिमीले खित्का छोडेर आँखी भौँ नचाइ नचाइ
खिसी टिउरी गर्दा
हिलाम्मे कमेज मेरो
सर्माएर कहिल्यै शिर झुकाएन
बरू, माटोको सुगन्धसँगै अघि बढ्यो
अनि सुकिलो रङ्गिन दुनियाँको वास्तविकता
निश्चल पानी झैँ छर्लङ्ग भयो
जसले उत्ताउलो रङहरूलाई नाघ्दै
रातो रङ समीप पुग्न मद्दत गर्यो ।
बाटो छेउ तलमाथि लुकी-लुकी
मेरो कमेज चिथोरेर च्यात्ने
अपराधी काँडाहरू
फाटेकोलाई झनै फटाउन
शरीर ढाक्न नसक्ने भन्दै
दोषको खात लगाउँदै
टाकुरामाथिबाट विगुल फुक्दैछन्
हाम्रो राज्यमा कसैले नाङ्गिनु पर्दैन
भोकै हुनु पर्दैन
खडेरीले वनमा सुकौरो लाग्ने छैन
तर मनै सुकिसकेको यो समय
कुनै हरियालीले छुनु नसकेरै हो
विद्रोहको झण्डा उठाएको ।
माटो लत्पतिएको मेरो कमेज
कसैलाई हिलो गन्हाउँछ
खडेरीले डढाएर पनि कमेजको
उडाउन नसकेको रातो रङ
कसै हेर्दा नै मृगी लागे झैं
रिङ्गिएर रन्फनिदै ढल्छ
नङग्याउनलई मेरो शरीर
जबर्जस्त कपडा च्यातेर धुजाधुजा पारे पनि
प्रत्येक टुक्रा अस्तित्व रक्षा हेतु
विद्रोही झण्डा भएर उठेपछि
किन अतालिएर रङ्गिन सपनाको
सुकिलो बैजनी पर्दा ओछ्याउँछौ ?
त्यो ठालु र अत्याचारी रङ्ग हो
त्यसैले मलाई बैजनी रङ्ग मन पर्दैन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।