'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ३३
'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ३३
कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ ।
त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता) का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ।
यस अन्तर्गत प्रस्तुत छ कवि विक्रमपवन परियारको कविता– ‘म नदी हुँ’ ।
...
म नदी हुँ
———
© विक्रमपवन परियार
म एक कालीगण्डकी नदी हुँ
आफ्नै गतिमा बगिरहेको हुन्छु ।
बोकेर देशको अस्तित्व
वर्षौंदेखि बग्दै छु सुसाउँदै मधुर संगीतमा ।
दु:ख लाग्छ
मेरो छाती खोतलेर बालुवा निकाल्दा
दुख्छ पाउ खिल्चिँदा मिक्चरले
दुख्छु शालीग्राम सम्झेर मुटु थुत्दा तिमीले
तिमीलाई लाग्दो हो म दुख्दिनँ
म दुख्छु र त रुँदैरुँदै बग्छु किनारै किनार ।
जब, म हिँड्ने बाटो साँघुरो बनाइदियौ
तब त उकुसमुकुस भएर बगिरहेँ ।
तिम्रा खेतहरू बगाउनु मेरो बाध्यता हो
तिमीलाई रुवाउनु मेरो लक्ष्य थिएन
जब तिमी म मेरो छातीलाई साँघुरो बनाउँछौ
तब त मैले बगाउनुपर्ने हुन्छ तिम्रा हरिया फाँटहरू ।
मेरो काखमा तिमीले क्रसर राखिदियौ
तिमीले मेरो आमाशयबाट बालुवा निकाल्यौ
र मलाई बेलुनजस्तो हलुका बनाइदियौ
तब त मेरा खुट्टाहरू लर्बरिँदै पस्छन् बस्तीहरूमा ।
खेतका आली कटान गरेँ
झुल्दै गरेका धानका बालाहरू बगाएँ
बगाउनु मेरो बाध्यता थियो
म हिँड्ने बाटो साँघुरो थियो
म नदी हुँ बग्नु मेरो स्वतन्त्रता हो
बगाउनु मेरो बाध्यता ।
म ऐना हुँ हेर्नू उभिएर मेरो आँखामा
म निश्चल छु/कञ्चन छु
बग्न देऊ म नदी हुँ
नछेक/नरोक/ नथुक/नझुक ।
म नदी हुँ
नमर्ने/नथाक्ने/नगल्ने/नहार्ने
नछल्ने/नबल्ने/नढाँट्ने/नकाट्ने ।
म बोल्छु- सुन्दैनौ
म हाँस्छु- हेर्दैनौ
म रुन्छु- दुख्दैनौ
म दुख्छु- बुझ्दैनौ
नचलाऊ/नजिस्काऊ
बग्नु मेरो धर्म हो
यात्रा- मेरो जीवन हो
बग्न देऊ- म नदी हुँ ।
***
-रामेछाप
...
कालीगण्डकी बचाऔँ अभियान - Save Kaligandaki
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...