नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ३२

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ ।

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता) का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ ।

यस अन्तर्गत प्रस्तुत छ कवि ईश्वर कँडेल (Kadel Ishwor)को कविता– ‘आऊ, हातेमालो गरौं’ ।

...

आऊ, हातेमालो गरौं

———————

© ईश्वर कँडेल

सदियौंदेखि अविरल बग्दै

रुखबिरुवा र प्राणी जगतमा

निरन्तर जीवनपान गराउँदै

कैयौं परिवर्तनहरुको

मूक साक्षी बसिरहेको

एउटा प्राचीन नदी हुँ म।

तिमीले देख्ने, लेख्ने र टेक्ने

सबैमा छु म कहीँ न कहीँ

तर खै के सोचेर हो कुन्नि

अब मेरो प्राचीन मार्गमा

धावा बोल्दै छौ अरे

तर नबिर्सनु कहिल्यै

म छु र तिमीहरु छौ

म हुनु भनेको तिमीहरु हुनु हो।

मेरो मार्ग बदल्न खोज्नु अगाडि

मेरो प्रवाह छेक्न खोज्नु अगाडि

मसँग जुध्नु अगाडि

फुर्सदले पढ्नु सिन्धु र मायान सभ्यताका

जन्म र मृत्युका पानाहरु

यदि कुनै फरक परेन भने तिमीमा

आऊ र दोहन गर ममाथि

र हेर मेरो ताण्डव नृत्य

जतिबेला म मेरा दुवै किनारका

आफ्नै सभ्यताहरु चपाइरहेको हुनेछु।

त्यसैले,

आऊ, हामी हातेमालो गरौं

म तिमीहरुलाई हराभरा र सम्पन्न राख्छु

तिमीहरु मेरो मार्ग नरोक

मलाई नचुँड

बिन्ती ।

***

-चितवन

...

कालीगण्डकी बचाऔँ अभियान - Save Kaligandaki

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार