समयको अँध्यारो डिलमा उभिएर,
नियाल्दै छु आफैलाई,
जिन्दगीका निरस अनि
बेस्वादिला क्षणहरू मस्तिष्क भरी
फन्को मारेर जान्छन्,
म चुपचाप हेरि रहेछु,
मान्छेहरूको हाँसो नक्कल गरेर हाँसीरहेछु,
उनीहरूको खुसीमा ताली पड्काइ रहेछु,
उनीहरूका सफलताका डोबहरू नियाँली रहेछु,
म भेट्दिन मेरा लागि कुनै स्थान,
हुलका हुल सपना दङ्गा मच्चाउँदै छन् हृदयमा,
कमजोर धरातल भएको मन
काँपी रहेछ यसै,
मलाई सफलतादेखि घृणा लाग्छ,
महोदय, सफल भएर मेरो अघिल्तिरबाट नहिँड,
मेरा यी हात हरू चिथोर्न सक्छन् तिमीलाई,
मलाई विश्वास छ,
तिमी मलाई कायरताको उपमा दिन्छौ,
एक स्वार्थीको उपमा दिन्छौ,
म तयार छु ग्रहण गर्न ,
तर त्यो उपमा दिनूँ अघि,
मेरो हृदय पढेर जाऊ,
जहाँ भेट्ने छौ,
सङ्घर्षले कुटिएका आशाहरू अनि,
अरूको भन्दा फरक विचार,
तिमी अचम्म मा नपर्नु,
शून्यतामा नघोत्लिनु,
किनकि यो समाजका पैतालाहरूले दबाएको छ मलाई,
म सपनाको भारीले यति थिचिएको छु कि,
मानौँ अब ढाड कुप्रिएर हिँड्नै सक्दिन,
फेरि पनि,
आजभोलि धेरै सोच्न थालेको छु,
लाग्छ म सोचेरै दिन काटुँ,
म यति सोच्न चाहन्छु कि,
म सोच्दासोच्दै पागल भएर के सोचीरहेको थिए
त्यो नै बिर्सिन सकूँ।
तपाइँहरू पनि हामीलाई आफ्नो लेख-रचना पठाउन सक्नुहुनेछ, जिमेल : [email protected]
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...