नदी सप्तक' पोस्टर कविता शृङ्खला - ३१

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ ।

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता) का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ ।

यस अन्तर्गत प्रस्तुत छ कवि रीमा केसी (Rima Kc)को कविता– ‘ओ कालीगण्डकी’ ।

...

ओ कालीगण्डकी

——————

© रीमा केसी

सृष्टिको उद्भव र निरन्तरताको

ब्रह्मसूत्र आफूभित्र समाहित गरेर

पवित्रताको अमृतमय सुवास छर्दै

गतिशीलताका औंलाहरुले

छङछङ र कलकलको

अनुपम संगीत भर्दै बगिरहेकी प्रिय कालीगण्डकी

तिम्रै पानीका थोपाहरुसँग

मेरा आँसुले लिएका हुन् रङको सापटी

ओ प्रिय कालीगण्डकी

तिम्रा तिनै गहिरा छालहरुबाटै

सिकेर जिन्दगीको दर्शनशास्त्र

मेरा खुसीहरुले हालेका हुन् पखेटा

तिमीले सिँचेर नै हराभरा भएको हो

यो प्रकृतिको भूगोल

चराहरुले गाइरहेका हुन् हर्षको चिरबिर

र जलचरहरुले हानेका हुन् तृप्तिको बाँकटे

तिम्रै बुई चढेर मुक्तिनाथ पुगी

मैले देखेको हुँ परम मोक्षको सपना

कागबेनीको किनारमा सुस्ताउँदै

फेरेको हो मैले शान्तिको श्वास

तिम्रै हत्केलाहरुले कुँदेका शालिग्राममा

पुजेको हो मेरो आस्थाको ईश्वर

अनि

तिम्रो दिलका अंशहरु जोडेर

मानिसले बसाएको हो सभ्यताको घर

ओ प्रिय कालीगण्डकी

मेरो नसा-नसामा बगिरहेछौ तिमी

फेरेपछि आाको अन्तिम श्वास

आउनेछु म समाधिस्थ हुन् तिम्रै काखमा

जब

शत्रुले प्रहार गर्छ

तिम्रो अस्तित्वको छातीमा क्रुर क्रसरको खुँडा

तिमीलाई बेचेर कौडीको मूल्यमा

भर्न खोज्छ आफ्नो स्वार्थको ढिकुटी

आफ्नो नामजस्तै

तिमीले धारण गर्नेछौ महाकालीको रौद्र रुप

र पढाउनेछौ कि

जिब्रोको स्वादको लागि

आफ्नै मुटुलाई टुक्राटुक्रा पार्नु

एक त्रासद आत्महत्या हो भन्ने अमूल्य पाठ !

***

-प्यूठान

...

कालीगण्डकी बचाऔँ अभियान - Save Kaligandaki

https://www.facebook.com/dptgiri/posts/4782416785114655

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार